Spread the love

१६।चैत्र।उर्लाबारी ।

भूमिप्रसाद पाठक


विश्वव्यापी भयावह महामारीको रूप लिएको काेभिड १९ को प्रभाव देशभरि रह्यो । भारतीय सिमानाकाका थुप्रै शहरबजारसँग प्रत्यक्ष जोडिएको मोरङ जिल्ला, यसभित्र क्रियाशील मानवबस्ती र छेउछाउका भू–भागहरू समेत काेभिड १९ को प्रभावबाट अछुत रहन सकेनन् । मोरङको उर्लाबारी पनि यहीं आयाममध्येको एउटा नगरपालिका र पुरानो शहर हो ।

जिल्लाको पूर्वोत्तर क्षेत्रमा आधारित उर्लाबारी छिमेकी झापा जिल्लासँग प्रत्यक्ष जोडिएको मोरङको पूर्वी सिमाना शहर÷पालिका समेत हो । यस हिसावले छेउछाउका सबैखाले गतिविधि र यसको प्रभावले समग्र उर्लाबारीलाई पनि कहिं न कहिं गम्भीर असर गरिरहेको हुन्छ । काेभिड १९ का कारण देशभरि नै अनिवार्य र निशर्त कार्यान्वयनमा ल्याइएको लक डाउनको एक वर्षको अवधि पूरा भइरहेको सन्दर्भमा यहाँ यसको समग्र प्रभाव कस्तो रह्यो ? रोकथामका उपायहरू के–कस्ता रहे ? मानवबस्ती कतिसम्म प्रभावित रहन पुग्यो ? यथोचित् चर्चा हुन वाञ्छनीय हुन्छ ।


विश्व स्वास्थ्य संगठनका अनुसार टाउको दुख्ने, खोकी लाग्ने, मांशपेशी दुख्ने, सास फेर्न कठिन हुने, ज्वरो आई थकान महशुश हुने मानिसको सङ्ख्या क्रमशः बढेसँगै काेभिड १९ अर्थात् कोरोनाको लक्षण दोहोरिएको पुष्टि भइरहेको छ, यस कारणले गर्दा पनि काेभिड १९ को समग्र प्रभाव र रोकथामका सन्दर्भमा जिल्लामा सर्वाधिक अगाडि देखिएको उर्लाबारी र यसको वस्तुस्थितिबारे यहाँ संक्षिप्त चर्चा परिचर्चा गरिएको छ ।

उर्लाबारीको स्वास्थ्य क्षेत्र ।


काेभिड १९को प्रभाव बढ्नासाथ वडा–वडामा रहेका स्वास्थ्य सेवाकेन्द्रमार्फत यसबारे सचेत उर्लाबारी नगरपालिकाले प्रारम्भमै स्थानीय स्तरमा जनसचेतना अभिवृद्धि अभियान सञ्चालन गरेको तथ्यतथ्याङ्क पाइन्छ । छेउछाउका पालिका र शहरबजारहरूमा फैलिँदो सङ्क्रमण र यसबाट ग्रस्त हुँदा उर्लाबारी आफ्नो सङ्यन्त्रको भरमग्दुर प्रयोग र परिचालन गर्दै काेभिड १९ बाट बच्न सकिने उपायबारे जन–जनमा ओर्लिएको थियो ।

स्थानीय सरकारको अभियानसँग प्रत्यक्ष परोक्ष ढङ्गले जोडिएको स्थानीय जनमत यो महामारीको सङ्क्रमणबाट बच्न र समाजलाई बचाउनमा स्वयंमा धेरै हदसम्म जिम्मेवार छ । काेभिड १९ को प्रभाव अर्थात् कोरोनाको प्रारम्भिक लक्षणहरू, सङ्क्रमणकालीन अवस्था र बच्ने सकिने घरेलु उपायबारे स्थानीय स्वास्थ्यकर्मी र तिनको सघन पारिचालनमार्फत प्रत्येक जनमनमा बस्न सकेको उर्लाबारीले काेभिड १९ को प्रभावका कारण ज्यान गुमाउनुपर्ने मानिसको तथ्याङ्क अन्य–अन्य पालिकाले जस्तो उच्च राख्न सकेन ।
पछिल्लो नीति–कार्यक्रमअन्तर्गत प्रदेश गौरवको रूपमा ल्याइएको मदन भण्डारी अस्पताल एवं ट्रमा सेण्टर सञ्चालित उर्लाबारी नगरपालिका स्वास्थ्य केन्द्र परिचालन र यसबाट लाभ लिनेमा समेत अगाडि पर्दछ । नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार उर्लाबारीबाट ११ सय २२ जना व्यक्तिको पीसीआर जाँच परिक्षण, यसमध्ये २ सय ५६ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । पोजिटिभ देखिएको यो सङ्ख्यामध्ये १३ जनाको काेभिड १९ का कारण दुःखद् देहावसान भएको नगरको अभिलेखालयले बताउछ ।

अपनाएका रोकथाम र नियन्त्रणका उपाय

उर्लाबारीले यो रोगबाट बच्न आमनागरिकमा मास्कको प्रयोग अत्यन्तै सावधानीपूर्वक तर अनिवार्य गरायो । जताततै पानी राखेर भए पनि पटकपटक हात धुनो विषयलाई अनिवार्य गरायो । वास्तवमा यो नै सबैभन्दा राम्रो रोकथाम र नियन्त्रणको विधि थियो र हो पनि । मास्कको प्रयोगबारे अभियान चलायो ।

यसको प्रयोग सही तरिकाले नहुँदा प्रयोग व्यर्थ हुन्थ्यो । साबुनपानीले नियमित रूपमा हात धुने विषयलाई अनिवार्य प्रयोगमा ल्यायो । आधारभूत रूपमा रोगका चिह्न र लक्षण देखिनासाथ तुरून्त जँचाइहाल्नु नागरिकमा प्रेरणा जगायो र सोअनुसार स्वास्थ्य सन्दर्भको जोहो गर्दै आयो । समयमै रोगको पहिचान गर्ने र रोगी पहिचानमा आएको व्यक्तिलाई अलग्गै बासस्थानमा राख्ने प्रबन्ध मिलायो । शहरबजार यत्रतत्र सरसफाइमा निकै ध्यान दिएको अवस्था देखियो । विद्यालय स्तरमा पुगेर अनावश्यक रूपले घरीघरी नाक मुखमा हात नलैजाने र व्यक्तिगत आनीबानीमा समेत सुधार गर्नुपर्ने जागरणमूलक अभियान चलायो ।

क्रमशः रोगका बारेमा समुदायमा व्यापक जनचेतना जगायो । बढी भीडभाडमा नजाने, मुखामुख कुराकानी नगर्ने, अनावश्यक रूपमा घर बाहिर जनसम्पर्कमा नजाने र अनावश्यक यात्रा नगर्ने । जथाभावी नथुक्ने, अन्य अवस्थामा स्वस्थकर बानी व्यवहार अपनाउने, पाखुराको साइडमा खोक्ने वा हाछयुँ गर्ने । अण्डा तथा मासु खानुपर्ने भए निकै राम्रोसँग पकाएर मात्र खानुपर्छजस्ता विषयमा शिक्षा र चेतनामूलक अभियान चलायो । कोरोनाको कडा महामारी भएको अवस्थामा जात्रा, उत्सव, मेला पर्व, भोजभतेरको आयोजना नगर्ने विषयलाई अनिवार्य पालनामा ल्यायो । यसबीचमा स्कुल, कलेज बन्द भए । कुनै काम विशेषले कोही व्यक्ति घरबाहिर निस्कनुपर्दा एक व्यक्ति र अर्को व्यक्ति कमसेकम १ मिटरको दूरीमा मात्र बस्ने जस्ता उपाय अबलम्बन गरेको देखियो ।

स्वास्थ्य व्यवस्थापन
घर–घरमै सचेतना अपनाइएको उर्लाबारीले बेलादेखि नै होम क्वारान्टाइन र होम आइसोलेशनको व्यवस्थापन गरेको थियो भने उर्लाबारी क्षेत्रबाहिरबाट आउने तमाम सङ्क्रमित बिरामीका लागि उर्लाबारी नपा वडा नं. ६ अवस्थित राधिका माविको पठनपाठन कार्यकक्ष र प्राङ्गणलाई प्रयोगमा ल्याइएको थियो । यसअन्तर्गत ५ सय ५८ जनाले प्रत्यक्ष स्वास्थ्यलाभ लिएको यहाँको तथ्याङ्कमा यो सङ्ख्या उल्लेख छ ।

उर्लाबारी नगरको पाँचौँ नगरसभाले चालू आर्थिक वर्षअन्तर्गत स्वास्थ्य क्षेत्रका लागि १ करोड ५० लाख र काेभिड १९ को प्रभाव न्युनीकरणका तमाम उपायका लागि ५० लाख विनियोजित गरेको थियो । यसबीच प्रस्तावित कार्यक्रमअन्तर्गत २ चरणमा खोप अभियान सञ्चालनमा ल्याइएको छ । यसको पहिलो चरणको कार्यक्रमअन्तर्गत स्थानीय स्वास्थ्यकर्मी र सफाई कर्मचारीलगायत सरकारी कामकाजमा सङ्लग्नलाई खोप लगाइएको थियो भने दोस्रो चरणअन्तर्गत ६५ वर्षमाथिका समाजका तमाम ज्येष्ठ नागरिकलाई यो खोप लगाइएको थियो । जिल्लामै सर्वाधिक लाभावान्वित रहने नागरिक सङ्ख्यामा उर्लाबारी पर्दछ । हालसम्म उर्लाबारी १३ सय १६ ज्येष्ठ महिला र १३ सय ०८ पुरूषलाई खोप लगाइसकिएको स्थास्थ्य कार्यालयको तथ्याङ्कमा यो विवरण उल्लेख छ ।

अद्यावधिक अवस्था र तयारी
अहिले बजारमा काेभिड १९ को हल्ला आएसँगै उर्लाबारी नगरले निम्नवत् सजगताहरू अपनाएको नगरप्रमुख खड्ग फागो बताउनुहुन्छ । जसमध्ये मूलतः

क्रमशः १) सकेसम्म हामी कोही पनि अनावश्यक घरबाट बाहिर ननिस्कने । अत्यन्तै आवश्यक कामले घरबाहिर निस्कनुपर्दाका बखत बाहिर सार्वजनिक यातायात प्रयोग कम गर्ने । अन्जानबीच भीडभाँड नगर्ने । भीडभाँडमा जानुपर्ने अवस्था भए वा जाँदा वा मानिसहरूको समुहबन्दी भएर नजाने । समुह भएको कार्यस्थलमा जाँदा किञ्चित लाज नमानी हातमा पञ्जा र अनुहारमा फेस मास्क अनिवार्य लगाउने ।

२) जहाँ–जहाँ गए पनि फेस मास्क अनिवार्य प्रयोग गर्ने ।

एकपटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः अर्कोपटक प्रयोग नगर्ने । यो सफासुथ्रा गर्न सक्ने अवस्था भए यसलाई दैनिक सफा÷परिवर्तन गरि गर्ने ।

३) घरभित्र कोठा वा भान्साकोठा वा बाथरूममा रहेका पुराना टावेलहरू सबै हटाइ नयाँ प्रयोग गर्ने । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गर्ने । यसलाई दैनिक रूपमा सफा राख्ने ।

४) घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गर्ने । यसलाई खोली सकेपछि÷बन्द गरिसकेपछि ह्यान्डिल छोएको भए निजको हात साबुन पानीले मिचिमिचि धुने र अनिवार्य ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने ।

५) विद्युतीय उपकरणहरू जस्तो ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने वस्तुहरू वा सामग्रीहरूको प्रयोगपश्चात अनिवार्य साबुन पानीले तत्काल हात धुने । कुनै पनि वस्तुको प्रयोगको अघि वा पछि पनि अनिवार्य मिचिमचि आफ्नो हात धुने । अनिवार्य ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने ।

६) घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाली÷प्लेट, चम्चाहरू आ–आफ्नो ढङ्गले प्रयोग गर्ने । सकभर दिनमा दुइपटक नत्र भए पनि एकपटक नियमित र अनिवार्य प्रयोग गर्ने । ७) सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गर्न प्रेरित गर्ने । यसो गर्न नसकिए पनि ताजा मासु वा मासुजन्य परिकारहरू जस्तो कि माछा अण्डामा जोड दिने । यसलाई राम्रोसँग पकाएर मात्र खान प्रेरित गर्ने । ८) रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगर्ने । पाल्तु जीव जनावरहरू छोएपश्चात तत्काल साबुन पानीले हात धुन बानी बसाल्न अनिवार्य गर्ने ।

९) घर वा कार्यस्थलका कोठाहरू गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राख्न अपील गर्ने । जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानो राख्न भन्ने । मानिसको सहज आवतजावत भएमा समय समयमा झ्याल खुला राख्न भन्ने ।

१०) पटकपटक प्रयोग हुने तर एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरू जस्तै खुकुरी, खुर्पा, कर्द, चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रोसँग धोएर पुनः प्रयोग गर्न अभिप्रेरित तुल्याउने ।

११) खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोएपश्चात साबुन पानीले राम्रोसँग हात धुने विषयलाई हाम्रो जीवनशैली बनाउन आहव्ना गर्ने ।

१२) यदि कसैलाइ ज्वरो सहितको रूघाँखोकी लागेको छ भने घरभन्दा बाहिर यात्रामा ननिस्कन भन्ने । घरमा छुट्टै आइसोलेसन रूममा राखी उपचार गर्न प्रेरित गर्ने । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाउन भन्ने ।

सफासुथ्रा मास्क र ग्लोभको अनिवार्य प्रयोग गर्न भन्ने ।

१३) दैनिक कम्तीमा बढीमा ५ लिटरसम्म पानी पिउन अभियान चलाउने । सकभर काँचो खानेकुराहरू यत्तिकै नखान अभियान चलाउने । सफा रहन र सफा कपडा मात्र प्रयोग गर्न अनिवार्य गर्ने । यति हुँदा पनि यदि कसैलाई रूघाँखोकी लागे, ज्वरो आए र ज्वरोसँगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरून्त नजिकको अस्पताल लगिहाल्न प्रोत्साहित तुल्याउने ।

विद्याज्योति बोर्डिङ मावि, उर्लावारी वडा नं. ३, मंगलबारेका प्राचार्य डि. बी. थापाका अनुसार सन् २०१९, दिसम्बर ३१ अर्थात् बिक्रम सम्वत् २०७६।०९।१५ गते मंगलवारमा चिनको हुवाई प्रान्तको ऊवान सहरका केहि व्यक्तिको शरिरमा नयाँ प्रकारको भाइरस प्रवेश गरेको तथ्य त्यहाँका डाक्टरहरूले पत्ता लगाए । सन् २०२०, जनवरी – १९ अर्थात् २०७६।०९।२२) मा विश्व स्वास्थ्य संगठन ध्ज्इ ले यो भाइरसलाई काेभिड १९काे र यो भाइरसको संक्रमणबाट हुने रोगलाई काेभिड १९ भनी नामाकरण गर्यो । यो भाइरसले मानव शरिरमा प्रवेश गरेर श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षती पुर्याउने र यसैको कारणले अन्त्यमा मान्छेको मृत्यु समेत हुनसक्छ भनेर भन्यो, हुँदै यहिं आयो । यो एउटा प्राणघातक सरूवा रोग हो । यो भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्दछ ।

यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाबाट अर्को व्यक्तिमा सर्दछ । जव यो भाइरस मान्छेको प्रत्यक्ष सम्पर्कमा पुग्छ र नाक वा मुखबाट शरिरभित्र प्रवेश गर्छ, यसको असर देखापर्न थाल्छ ।

यो रोग लागेका विरामीहरूलाई ज्वरो खाउने, श्वास फेर्न गाह्रो हुने, रूघाखोकी लाग्ने आदि लक्षणहरू देखिन्छ । चिनबाट शुरू भएको यो प्राणघातक रोग विश्वव्यापी रूपमा विश्वका विभिन्न मुलुकहरूमा द्रुतगतिमा फैलँदै गएर ठूलो संख्यामा मानवीय क्षति भएको हुनाले नेपालमा पनि सहजै देखापर्न सक्ने अनुमान गरी अन्तर्राष्ट्रिय उडानहरू, सीमा नाकाहरू, लामो रूटका यातयातहरू आदि बन्द गर्नेलगायत नागरिकहरूलाई अत्यावाश्यक अवस्थाबाहेक बाहिर घुमफिर नगर्ने, अनावश्यक भिडभाड नगर्ने, २५ भन्दा बढी मान्छेहरू एकै ठाउँमा भेला नहुने, बेलाबेलामा सावुन पानीले मिचीमिची हातखुट्टा धुने, मास्कको अनिवार्य प्रयोग गर्ने, सेनिटाइजर प्रयोग गर्ने आदि सुरक्षा सर्तकताहरू अपनाउन नेपाल सरकारले सार्वजानिक अपिल ग¥यो ।

यो महामारी फैलिने क्रममा यसका संक्रमितहरू नेपालमा पनि देखापरेको हुनाले यसवाट जनधनको ठूलो क्षति व्यहोनुपर्ने अवस्था आयो । यसलाई मध्यनजर गरी नेपाल सरकारले पहिलोपटक मिति २०७६ साल चैत्र ११ गते मंगलबारदेखि १८ गतेसम्म जम्मा ८ दिन नेपाल बन्दाबन्दीकाे  घोषणा गरी सवै जनसमुदायलाई सुरक्षाका उपायहरू अपनाई घरभित्रै रहन र बाहिरफेर हिडडुल गर्न बन्देज लगायो । महामारीको रूपमा देखिएको भाइरसको फैलिने क्रम रोकिनुको साटो दिन दिनै फैलिँदै गैरहेकोले सरकारले लकडाउनलाई विभिन्न चरणमा थप गरेर ०७७ असारको अन्तिम हप्तासम्म बन्दाबन्दी कायम रह्याे ।

प्राचार्य थापाका अनुसार बन्दाबन्दीको अवस्थामा मुलुकभित्रका सबै वर्ग, क्षेत्र, तह, निकाय र सरकारी र गैह्रसरकारी संघसंस्थाहरू नियमित सञ्चालन हुन सकेनन् । यसले सबै क्षेत्रलाई अस्तव्यस्त बनायो । मुलुकको अर्थतन्त्रदेखि लिएर जनताका दैनिक गुजाराहरूलाई समेत तहसनहस पार्यो । स्थानीय निकायदेखि संघीय सरकारले समेत राहत प्याकेज घोषणा गरी वितरण गरिएको राहतले जनताको पेट कति पनि भर्न नसकेको पाइयो ।

अर्कोतिर भाइरसको बारेमा चलाइएका अर्नगल प्रचारले जनमानसलाई भयभित र त्रसित बनायो । परिणामस्वरूप कयौं मानिसहरू डिप्रेशनको सिकार भएर स्थाई रूपमा मानसिक रोगी बन्न पुगे भने कतिले आत्महत्या समेत गरेका समाचारहरू यत्रतत्र सुन्न पाइयो । कति मानिसहरू ऋणमा डुबे, कतिका घरबार सकियो भने कति मानिसहरूले रोजगारीबाट हात धुने अवस्थासम्म बन्यो । ठूलो संख्यामा रहेका वैदेशिक रोजगारीहरूलाई रोजगारदाता संघ संस्थाले फिर्ता पठायो ।

मानिसका दैनिकीहरूमा लामो समयसम्म अवरोध सिर्जना भयो । बन्दाबन्दीको कारणले ०७६ चैत्रदेखि ०७७ असारसम्म मुलुकका सबै क्षेत्रहरू निष्प्राण बन्द रहे । सो अवधिपछिको समयमा पनि दैनिक कार्य सञ्चालनमा केही असजताहरू थिए । स्वास्थ्य सुरक्षाको कारण राष्ट्रसेवक कर्मचारीको मनोबल खस्कँदो अवस्थामा थियो । सरकारी कार्यालयहरूको प्रगति ऋणात्मक झुकावमा थियो भने मुलुकमा आर्थिक गतिविधि एवं कारोबारहरू पूर्णरूपमा बन्द रहे । उद्योग र कलकारखानामा गरिएको लगानीको ब्याज तिर्न नसकेर धेरै मानिसहरूले उद्योग व्यापार, व्यवसायबाट आत्मसमर्पण गर्ने अवस्थामा पुगे । समग्रमा मुलुकको अर्थतन्त्र र अन्य सबै क्षेत्रहरू डामाडोल बनेको अवस्था थियो ।

उहाँ थप्नुहुन्छ– यस्तो अवस्थाबाट गुज्रदै जाँदा ०७७ मंसीरदेखि काेभिड १९ को प्रकोपमा केहि राहत अनुभूति भएसँगै आर्थिक गतिविधि गर्न केहि सहजता महशुस गर्न थालियो । मानिसहरू आ–आफ्नो काममा फर्कन थाले । लामो समयसम्म घरभित्रै स्वःघोषित नजरबन्द जीवन बिताएर आजित बनेका हामी सबैमा नौलो उर्जा देखापर्न थाल्यो । आज निकै सहज परिस्थिति निर्माण भइरहेको छ । हिजोको लामो समयसम्म घरभित्रै थुनिनुपरेको पीडाबाट क्रमशः मुक्ति भएको अनुभुति भइरहेको अवस्थामा फेरी काेभिड १९ को प्रकोप बढीरहेको तथ्याङ्कले हिजोको त्यो बोझिलो लकडाउनलाई नराम्ररी झस्काइरहेको छ । जानेर वा नजानेर हामी फेरी त्यही कोभिडको चक्रव्युहमा फसिरहेका छौं ।

वास्तवमा, यो दुःख र स्वास्थ्य सङ्कटको अवस्थामा हाम्रा भूमिकाहरूलाई सृजनशील र परिणाममुखी बनाउनु जरूरी छ । सेवालाई नै मानवीय दायित्व ठानी सकारात्मक सोचले अगाडि बढ्न र बढाउन आवश्यक छ । समाजका हरेक व्यक्तिमा काेभिड १९ को नकरात्मक असर परेको छ । आफ्ना समुदायमा रहेको डर, त्रास, भय र तनाव हटाई व्यक्तिको मनोबल उच्च राख्न र स्वास्थ्य सुरक्षाको उपायहरू अवलम्बन गरी आफू, परिवार र समुदायलाई सुरक्षित राख्न सहयोग गर्नु नै आज आममानव समुदायको दायित्व बनेको छ । यो दायित्व पूरा गर्न सबैले आ–आफ्नो ठाँउबाट सचेतनताका साथ लागी परांै, मानव समुदायको रक्षा गरौं, शताब्दियौंपछि यदाकदा आउने यस्ता मानवीय समस्याको हल हामी आफै बनौं भन्ने आग्रह अनुरोध साथै आव्हान गर्दै व्यक्तिगत रूपमा एकले अर्कोलाई भौतिक, नैतिक र आर्थिक रूपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धको आवश्यकता छ ।

लेखक:  भूमिप्रसाद पाठक ।उर्लाबारी संचार क्लबका सचिव हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!