Spread the love
८ असार।पथरी शनिश्चरे
मोरङको पथरी शनिश्चरे नगरको असार १० गते हुने नवौं नगरसभामार्फत आर्थिक वर्ष २०७८/७९ का लागि पेश हुने नीति, कार्यक्रम र बजेटका सम्बन्धमा आज नगर कार्यपालिका बैठकमा छलफल भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि नगरसभामा पेश हुने प्रस्तावित नीति, कार्यक्रम र बजेटका सम्बन्धमा छलफल गरी निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । बैठकले वडाहरुबाट आएका र नगरस्तरका कार्यक्रम तथा बजेटका बारेमा छलफल गर्दै नगरसभाका लागि प्रस्तावित निर्णय गरेको उहाँले उल्लेख गर्नुभयो ।
यस सम्बन्धी बैठक हिजो पनि बसेको थियो । कोरोना भाइरसको संक्रमणकै अवस्था रहेकाले खुलाशत्रको कार्यक्रम नगरी जनप्रतिनिधि र कर्मचारीको एन्टिजेन परीक्षण गरेर मात्र नगरसभामा सहभागि हुने निर्णय समेत भएको छ । स्वास्थ्य सावधानीका साथ विहान ८ बजेबाट नगरसभा सञ्चालन हुने छ ।
नगरसभाको तयारीका कारण असार ९ गते नगरपालिका कार्यालयको सेवा र नगरसभाका कारण १० गते नगरपालिका र वडा कार्यालयहरुको सेवा प्रवाह स्थगित हुने भएको छ । १० वटा वडा रहेको नगरका लागि प्रति वडा ८७ लाख ५० हजारका दरले वडागत सिलिङ बजेट निर्धारण गरिएको छ । नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटका सम्बन्धमा असार ११ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिकिकरण गरिने छ । पत्रकार सम्मेलनमा नगरको उत्कृष्ठ पत्रकार सम्मान, उत्कृष्ठ पत्रकार पुरस्कार, उत्कृष्ठ सञ्चारसंस्था पुरस्कार र लेखनबृत्ति रकम समेत प्रदान गरिने कार्यक्रम समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!