पथरी शनिश्चरे, ८ मंसिर
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्नहरुका लागि आज वडा नम्बर ८ मा पनि सहभागितामुलक ग्रामिण लेखाजोखा कार्यक्रम सञ्चालन भएको छ ।


कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले आफ्नो भित्रको इच्छाशक्ति जगाएर उद्यमी वन्न अघि सर्नका लागि उत्प्रेरणामुलक मन्तव्य व्यक्त गर्नुभयो । कार्यवाहक वडाध्यक्ष खेमराज गौतमको अध्यक्षताको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र घरेलु तथा साना उद्योग विकास शाखा प्रमुख हेमचन्द्र दहालले कार्यक्रमका बारेमा बोल्दै आर्थिक विपन्न समुदाय स्वनिर्भर वन्ने कार्यक्रममा सक्रिय सहभागि हुन आग्रह गर्नुभयो ।
नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी ७० % महिला समेत रहने गरी ४९ वर्ष उमेरसम्मका प्रत्येक वडामा ३० जनाका दरले उद्यमी वन्न चाहनेहरुको छनौट गरिने छ । वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले कार्यक्रमको सहजिकरण गर्नुहुनेछ ।
परिवारका सदस्यको वार्षिक आम्दामी ३९ हजार ७ सय २६ सम्म हुनेलाई हैसियत स्तरीकरण विधिबाट छनौट गरिन्छ । जसमा सहभागिले सामाजिक नक्सा र स्रोत नक्सा तयार गर्दै कार्यक्रमको प्रभावकारिताको पक्षमा आफ्ना योजना बनाउनु पर्दछ । लघु उद्यम विकास कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ को दफा २१ को उपदफा ३ बमोजिम लघु उद्यमी सृजनाका लागि यो वर्ष वडा नम्बर ४, ८ र ९ मा कार्यक्रम सञ्चालन हुने भएको हो ।