पथरी शनिश्चरे, ८ मंसिर
विश्व बैंकको सहयोगमा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइफस्टक सेक्टर इनोभेसन आयोजनाले मोरङको पथरी शनिश्चरे २ मा सञ्चालन गर्ने दुग्ध विविधिकरण व्यवसाय सम्बन्धी आज प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ र ३ का कृषकहरु सहभागि कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले यो र यसखाले कार्यक्रमले नगर मासु, अण्डा र दुधमा आत्मनिर्भरताको बाटोमा अघि बढेको मात्र नभई निर्यात समेत गर्न थालेको खुसीको अवस्था दर्शाउनु भयो ।
वडा नम्बर २ का अध्यक्ष यामप्रसाद गुरागाईं, नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, इनोभेसनका लागि स्थानीय ऋण सहयोगी संस्था राष्ट्रिय सहकारी बैंक उर्लाबारीका प्रवन्धक विनोद चुडाल, वीरेन्द्रनगर वचतका कृष्णप्रसाद अधिकारीले पशुपालनमा अग्रसर कृषकहरुले दुग्ध व्यवसायको विविधिकरण गरेर नगरलाई थप चिनाउने अभियानमा लाग्न उत्प्रेरित गर्नुभयो । सो अवसरमा इनोभेसन आयोजना सहित पशुपंक्षी व्यवसायको विकासमा प्राविधिक सहयोग पुर्याउँदै आउनु भएका नगरका पशुपंक्षी शाखा प्रमुख दहाललाई सम्मानपत्रले सम्मानित गरिएको छ । वडा नम्बर १ स्थित विहानी दुग्ध तथा कृषि सहकारी संस्थाका लागि सो उपआयोजना सञ्चालन हुनेछ । उपआयोजनामार्फत दुग्ध पदार्थ प्रशोधनका लागि भवन निर्माण, मेसिनरी सामान खरिद, दुग्ध प्रशोधन तथा प्याकेजिङ, गुणस्तरीय दुग्धजन्य पदार्थ उत्पादन तथा बजारिकरणमा काम गर्ने संस्थाका अध्यक्ष अर्जुनकुमार खत्रीले जनाउनु भयो ।
समूहमा १सय४६ पुरुष र ९२ महिला गरी २सय३८ कृषक आवद्ध रहनु भएको छ । विश्व बैंकमार्फत आयोजनाको अनुदान ७२ लाख १० हजार ( ५० प्रतिशत), राष्ट्रिय सहकारी बैंकको ४४ लाख ऋण ( ३० प्रतिशत) र संस्थाको २८ लाख १० ( २० प्रतिशत) गरी १ करोड ४४ लाख २० हजार रुपैयाँको कार्यक्रम स्वीकृत भएको छ । सोही सन्दर्भमा नगर प्रमुख राई, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, कृषि शाखा प्रमुख सावित्रा कार्की सहितले दमकको चिस्यानकेन्द्रमा राखिएको वडा नम्बर २ को साकम्बरी कृषि फर्ममार्फत संकलित ६० जना कृषकको कुहिएर नष्ट भएको विउ आलुको अनुगमन गर्नुभएको छ ।
५० किलोका ३ सय ३५ बोरा आलु कुहिदा २० लाख ६६ हजार रुपैयाँको नोक्सानी भएको फर्मका अगुवा ओमनाथ नेपालले जनाउनु भयो ।