आईटीएफ तेक्वाण्डोका खेलाडी र प्रशिक्षकलाई पुरस्कृत ।उत्कृष्ट डोजाङ्गको पुरस्कार कानेपोखरी आईटिएफ लाई ।थारु पाेर्टल

Spread the love
मंसिर १५,कानेपाेखरी  ।
आईटीएफ तेक्वान्दो डोजाङ्को २० औँ वार्षिक उत्सवका अवसरमा १ नम्बर प्रदेशको उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरिएको छ ।
मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै प्रदेश १ का मुख्य मन्त्रि राजेन्द्र राईको हातबाट उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरिएको हो । १ नम्बर प्रदेशको उत्कृष्ट डोजाङ्गको पुरस्कार कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले हात पारेको छ । छोटो समयमा धेरै खेलाडी उत्पादन गरेको भन्दै कानेपोखरीलाई पुरस्कार प्रदान गरेका थिए ।
त्यसैगरी उत्कृष्ट खेलाडीमा महिलातर्फ झापाकी दीक्षा लिम्बू र पुरुषतर्फ झापाकै मिसन श्रेष्ठ रहेका छन् । त्यसैगरी आईटीएफ तेक्वान्दोका प्रदेशकै उत्कृष्ट प्रशिक्षक मोरङका राजेन्द्र धिमाल र उदियमान प्रशिक्षकमा मोरङका नितेश खवास रहेका छन् ।
त्यस्तै सुनसरीलाई आईटीएफमा प्रदेश १ कै उत्कृष्ट जिल्ला घोषित गरिएको संघका प्रदेश अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष प्रवीण कार्कीले बताए । उत्कृष्ट प्रशिक्षक तथा खेलाडीलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सम्मान गर्दै पुरस्कार प्रदान गरेका छन् ।
राईले उनीहरुलाई नगद ५ हजार रूपैयाँसहित सम्मान पत्र प्रदान गरेका थिए । मुख्यमन्त्री राईले आत्मरक्षा र अनुशासनका लागि खेल प्रत्येक व्यक्तिको जीवनमा अपरिहार्य एवं महत्वपूर्ण रहेको बताए। ‘अपराधको सिकार हुनलाई जोगाउने एउटा माध्यम खेल पनि हो’, उनले भने, ‘तर कहिल्यै पनि खेल क्षेत्र सरकारको प्राथमिकतामा भने परेको पाइएन।’ राईका अनुसार सरकारको प्राथमिकतामा नपरे पनि मानिसहरुले आत्मरक्षा र अनुशासनका लागि आईटीएफ तेक्वान्दोलाई प्राथमिकतामा राख्ने गरेका छन् ।
नेपालमा आईटीएफ तेक्वान्दोको स्थापनाका लागि आफ्नो पनि महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनले आईटीएफ मार्सल आर्टसभित्रको सबैभन्दा सफल खेलका रूपमा स्थापित भइसकेको बताए । विगतमा सरकारको बेवास्ताको सिकार खेलाडी बन्नु परे खेल क्षेत्रले मुलुककै उचाई बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको राईको भनाई छ । ‘केन्द्रिकृत राज्य हुँदा शिक्षा, स्वास्थ्य र खेलकुदको अवस्था बलियो थियो,’ राईले भने, ‘मुलुक संघीयतामा गइसकेपछि भने बेवास्ता गरेर बेबारिसे बनाएजस्तै भइसक्यो।’ खेलकुदको विकास गर्ने जिम्मेवारी प्रदेश सरकारको पनि भएको बताउँदै उनले बजेट भने अभाव रहेको उल्लेख गरे। योजना बनाएर खेलकुदको विकासका लागि बजेट बढाएर विनियोजन गर्नेतर्फ आफू केन्द्रित हुने मुख्यमन्त्री राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *