पथरी शनिश्चरे, ९ पुस
मोरङको पथरी शनिश्चरे ३ मा निर्माण हुने पशु अस्पतालका लागि स्थानीयले ३ कठ्ठा २ धुर जग्गा दान गरेका छन् । पिपल चोक पूर्व मदन भण्डारी कृषि मार्ग नजिकमा पशु अस्पताल भवन निर्माणका लागि स्थानीय इन्द्रदेवी कोइराला परिवारले २ कित्ताबाट गरी ३ कठ्ठा २ धुर जग्गा उपलब्ध गराउनु भएको हो ।
वडा कार्यालयको नाममा जग्गा रजिष्ट्रेशन गरिदिनु भएपछि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जग्गा अवलोकन गर्दै स्थानीय दाताहरुको यसप्रकारको सहयोगमा कृषि तथा पशुपंक्षीको विकास तथा वडा तथा आधारभूत स्वास्थ्य कार्यालयहरु निर्माणका लागि नगरले पहल गरिरहेको वताउनु भयो । वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, वडा सदस्य देवीप्रसाद घिमिरे, नगर पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, पशु प्राविधिक पर्वत साह, अमिन सागर श्रेष्ठ सहित स्थानीयवासीले जग्गाको अवस्था अवलोकन गर्नु भएको छ । नेपाल लाभइस्टक सेक्टर इनोभेसन आयोजनाले विश्व बैंकको सहयोगमा अस्पताल निर्माण गर्ने भएको छ ।