उर्लाबारी, ८ माघ

सी डिभिजन राष्ट्रिय लिगको च्याम्पियन बन्दै वी डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई एनी स्पोर्टस् क्लोथिङले साथ दिएको छ । एनी स्पोर्टस्ले चर्च ब्वाइजलाई एक वर्षका लागि जर्सीलगायतका सम्पूर्ण स्पोर्टस् किट प्रदान गर्ने भएको छ ।

शुक्रबार क्लबका अध्यक्ष रुवेन राई र एनी स्पोर्टस्का सञ्चालक सन्तोष थोप्रा लिम्बूबीच सम्झौता भएको छ । सम्झौता अनुसार चर्च ब्वाइज क्लबलाई एक वर्षका लागि एनीले सम्पूर्ण स्पोर्टस् किट प्रयोजन गर्ने उल्लेख छ । वार्षिक सहयोग गर्दा प्रायोजकको पाँच लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

झापाको शिवसताक्षी–९, दुधेमा रहेको एनी स्पोर्टस्ले यसअघि विभिन्न प्रतियोगितामा सहयोग गर्दै आएको थियो । जर्सीको नेपाली उत्पादनलगायतका अन्य सामग्री उत्पादन गर्दै आएको बताउँदै सञ्चालक थोप्राले चर्च ब्वाइजलाई सफलताको शुभकामना दिए । वी डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइज युनाइटेड क्लबले मोरङको उर्लाबारीमा बन्द प्रशिक्षण गरिरहेको छ ।