माघ १४
मोरङको धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा खाल्डो खनेर पुरिएकामध्ये एउटा शवको पहिचान भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईका अनुसार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका-३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको र उनी भक्तपुरमा बस्दै आएको प्रहरीले बताएका छन ।

प्रहरीले उनको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ। उनीसँग फेला परेको कागजातका आधारमा उनको परिवारसँग सम्पर्क गर्दा ३०-४० दिन देखि उनी सम्पर्कमा नभएको बताइएको छ। उनको परिवारलाई बोलाइएको प्रहरीले बताए । बुधवार उत्खनन गरिएको अन्दाजी ३०/३५ वर्षका पुरुषको शव भने पहिचान हुन सकेको छैन । बुधवार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम रहेको प्रहरीले जनाएको छ ।