१९।माघ।विराटनगर

सत्यनारायण मन्दिरको नाममा रहेको ७ बिघा १० कट्ठा १७ धुर जग्गा विभिन्न बहानामा संस्था र व्यक्तिलाई लिजमा दिन थालिएको छ ।

उक्त जग्गामा लायन्स क्बल, माओबादीको पार्टी कार्यालय साथै पोखरिया स्कुलको भवन बनाउन दिइएको गायक युवा समाजसेवी बिष्णु राजवंशीले जानकारी दिएकाे छ।
मन्दिरका अध्यक्ष बल्लभ प्रसाद अधिकारीको मिलेमत्तोमा गुठीको जग्गामा घर बनाएर भाडामा समेत लगाएको पाइएको छ । यतिमात्र हैन प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र बहादुर आङ्वो समेत गुठीको जग्गामा रहेको भवनमा बस्दै आएका छन् ।

मन्दिरको नाममा रहेको ३९ख० को २सय२४ नम्बर कित्ताको १ बिघा जग्गा बाल सुधार गृह सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई दिएको छ । २०६३ भदौ १७ मा सत्यनारायण मन्दिरका संरक्षक तथा अध्यक्ष गणेशी राजवंशी र जिल्ला प्रशासन कार्यालय मोरङका तत्कालीन प्रमुख मोदराज डोटेलबीच उक्त जग्गा बाल सुधार गृह स्थापनाका लागि हकभोग गर्न दिने सम्झौता भएको थियो ।
उक्त सम्झौता पत्रको ३ नम्बर बुँदामा ५ बर्षभित्र बाल सुधार गृह सञ्चालन नभए मन्दिरकै हकभोग कायम हुने उल्लेख छ । बाल सुधार गृह सञ्चालनकालागि मन्दिरसँग लिएको जग्गामध्ये केही जग्गामा महिला तथा बालबालिका कार्यालयको भवन निर्माण गरेर सञ्चालन गर्दै आएको थियो तर उक्त कार्यालय संघीयता कार्यान्वयनसँगै खारेज भइसकेको छ ।

कार्यालय खारेज भएसँगै घर र जग्गासमेत मन्दिरको हक भोगमा आउनुपर्ने हो । तर अहिले प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो अवैध रूपमा बसोबास गरिरहेका छन् । मन्दिरका अध्यक्ष अधिकारीले विभिन्न निकाय र ब्यक्तिलाई निजी गुठीको जग्गा ९९ वर्षका लागि लिजमा दिएको पाइएको छ । अहिले उक्त जग्गामा पोखरीया माविको भवन निर्माण भइरहेको छ ।

भवनको शिलान्यासको क्रममा राजवंशीहरूले विरोध पनि गरेका थिए । तर बल प्रयोग गरेर आफुहरुलाई हटाएको गिता राजवंशीले बताइन् । निजी गुठीको जग्गा विभिन्न बहानाममा हस्तक्षेप भइरहेको उनको गुनासो छ । मन्दिरको नाममा रहेको दुई अर्बभन्दा बढी मूल्यको जग्गामा महानगरले समेत आँखा लगाएको उनले बताइन् । महानगरले कित्ता नम्बर ३९ख० २२६ को २ बिघा ३ कट्ठा ४ धुर र कित्ता नम्बर ३ ९ख० २१८३ कै १ बिघा ५ कट्ठा १३ धुर जग्गा ९९ वर्षका लागि लिजमा लिएको पाइएको छ । महानगरले यसैैबाट २ बिघा जग्गा उद्योग संगठनलाई समेत ९९ वर्षका लागि लिजमा दिएको छ । निजी गुठिको जग्गामा राजनीति चलिरहँदा आम नागरिक मुख थुनेर बसेको छ ।