युवासंघले दियो चेतावनी ।थारु पाेर्टल

Spread the love

भूमिप्रसाद पाठक,

पथरी शनिश्चरे नपा, माघ २० ।

नेकपा (एमाले) निकट राष्ट्रिय युवासंघ नेपालको पथरी शनिश्चरे नगरपालिका कमिटीले विरोधसभाको आयोजना गर्दै ध्यानाकर्षित विभिन्न मुद्धामा आफूलाई अविलम्ब सच्च्याउन सरकारलाई गम्भीर चेतावनी दिएको छ । बुधबार, माघ १९ गते सम्पन्न विरोधसभामा सहभागी सयौंले अदालती सरकार मुर्दावाद ! मन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर ! पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर ! स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर ! लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर ! बिदेशी हस्तक्षेप बन्द गर ! संविधानको रक्षा गर ! लोकतन्त्रको रक्षा गर ! हिंसात्मक गतिविधि बन्द गर ! शान्ति सुरक्षा कायम गर ! सामाजिक सद्भाव र सहिष्णुता कायम गर ! जस्ता सामयिक र गगनभेदी नारा लिखित प्लेकार्ड लिएर शहरबजारको परिक्रम समेत गरेको थियो ।

शहरबजार परिक्रमपछि जाँते मोड पुगेर कोणसभामा परिणत भएको विरोधसभालाई नेकपा (एमाले) केन्द्रीय सदस्य युवराज बास्कोटा र युवासंघका नेताहरू मणिकुमार लुम्फूवा लिम्बू, नवीनजंग कार्की, किशन राईं र अनेरास्ववियु केन्द्रीय सदस्य नीता कुलुङ राईंले सम्बोधन गरेका थिए । सम्बोधन क्रममा नेता बास्कोटाले लोकतान्त्रिक आन्दोलनको सहयात्री राजनीतिक दल नेपाली काँग्रेसले आफ्नो रुखबाट समेत झर्न लागेको पहेँला पातहरू बोक्न लागेकाले नयाँ पातले पाउलो हाल्न नपाउँने खतरा बढेको भन्दै माओवादी र एमालेबाट चोइटिएको माधवकुमार नेपाल नेतृत्वको अराजनीतिक झुण्डलाई रुखमा हरियोपरियो रहुञ्जेल झुसुले किरा टाँसिएझैँ टाँसिने भन्दै यसबाट सतर्क रहन काँग्रेसलाई राय सुझाएका थिए ।

लोकतन्त्र भनेको जनअभिमत हो । जनअभिमत लोकतन्त्रको प्राण हो । यसर्थ, अविलम्ब चुनावको विकल्प छैन भन्दै एमाले नेता बास्कोटाले इतिहासमा माघ १९ गतेले कालो दिनको याद गराउने भन्दै यसपटक भने देउवाले त्यसो नगर्लान् कि भनेर कटाक्ष गरे । विशेषतः तामाङ समुदायले मनाउने ल्होछार पर्वको सन्दर्भ समेत उल्लेख गर्दै नेता बास्कोटाले सामाजिक सद्भाव र सहिष्णुता सरकारबाटै छिन्नभिन्न हुने खतरा मन्त्रीकै अभिव्यक्तिबाट पुष्टि भएको दावी गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा देश विकास र समृद्धितर्फ अघि बढेको दावी गर्दै युवा समुदायको सुन्दर र उज्ज्वल भविष्य देखिएको थियो तर यो अदालतको परमादेशद्वारा गठित सरकारमार्फत निमोठिने हो कि भनेर चिन्ता बढेकोले लोकतन्त्र र यसलाई दिशानिर्देश गर्ने संविधानको रक्षा गर्न आफूहरूले सडक तताउनुपरेको युवा नेता मणिकुमार लिम्बूले बताए । सरकारको ताल हेर्दा बाँदरे ताल हावी भएको व्यङ्ग गर्दै नगर अध्यक्ष किशन राईंले जनजीविका कैयौं मुद्धा र राष्ट्रको अस्मित मिचिइरहँदा चुइक्कसमेत नबोल्ने गठबन्धनमा सामेल माओवादी र एसलाई आ–आफ्नो औकातमा रहन ठाडो चुनौति दिए ।

 

अभिभावकविहिन घरपरिवार भएजस्तो नियन्त्रणबाहिरको भ्रष्टाचारी, महंगी, बेथीति, कमिशनखोरी, तस्करी आदिका कारण नेपाली नागरिक सरकारविहिन भएको दर्शाउँदै युवा नेता नवीनजंग कार्कीले बाख्रो पानीसँग तर्सिएझैँ चुनावदेखि तर्सिने गठबन्धनमा सामेल शक्तिहरूलाई एमालेसँग एक्लाएक्लै मैदानमा उत्र्न नसक्ने भए गठबन्धनको दम्भमा होइन, बरु काँग्रेस भएर चुनावमा आउन राम्रो हुने कटाक्ष गर्दै राय सुझाए । कार्यक्रममा जनप्रतिनिधि यामप्रसाद गुरागाँई, अनोज घिमिरे, काशी राईं, विरोज मगर, युवासंघका पूर्व केन्द्रीय सदस्य भक्त राईं, सञ्जीव गिरी, स्थानीय नेतृत्व देवी राईं, तीर्थ आचार्य, मोहन गौतम, नवीन ढकाल, बादल गुरुङलगायतको उल्लेख्य भूमिका सहितको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *