२५।माघ।

मोरङ जिल्ला राष्ट्रिय राजनीतिको सोझो महत्त्व र प्रत्यक्ष प्रभावमा रहेको जिल्ला हो । जिल्लाको संघीय निर्वाचन क्षेत्र नं. ३ को राजनीतिक उपस्थितिले यहाँको मात्र होइन, मुलुककै राजनीतिमा निकै ठूलो अर्थ राख्छ । क्षेत्रको पथरी शनिश्चरे नगरपालिकामा आफैमा विविधताबीच एकताको अस्तित्वमा रहेको पालिका निर्वाचन क्षेत्र हो । नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) नै यहाँ परस्पर प्रतिस्पर्धामा उत्रिएका राजनीतिक दलहरू हुन् । जनताको मतबाट परिक्षित शक्ति हुन् । जनमतका आधारमा तिनको असली हैसियत लिइसकेका शक्ति हुन् । लोकतन्त्रमा प्रकट हुने जनअभिमतले निर्धारण गर्ने भनेको राजनीतिक दलहरूको हैसियत नै हो । 

यी तीनवटै राजनीतिक दलको सम्मेलन, अधिवेशन र महाधिवेशन भरखरैअघि मात्र सम्पन्न भएको छ । सबैले आ–आफ्नो कार्यनीति, कार्यदिशा र यसलाई प्राप्त गर्ने रणनीतिक आधार तयार गरेका छन् । एमालेको दह्रिलो उपस्थितिविरुद्ध एमालेबाहेकको लगभग सबै शक्ति रणनीतिक हिसावले एक ठाउँमा उभिएको छ । स्थानीय समुदाय आधारित स्वतन्त्र र गैरराजनीतिक गतिविधि अलवम्बन गर्ने संघसंस्थामा समेत दलको प्रभाव देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उपेक्षित भएको आरोप सहित बाहिरिएको शक्तिको छिटफुट असर यहाँ पनि यदाकदा देखियो । मूलतः कार्यकारी सत्ताबाट प्राप्त हुने अवसर अभावका कारण एमालेबाट बिमति राखेर अलगिएको समुह नेकपा (एकीकृत समाजवादी) को नाउँमा यस नगरमा पनि संगठित हुने क्रममा छ । एमालेकालका जिल्ला नेता एवम् संविधानसभा सदस्य चण्डीप्रसाद राईंले यसको नेतृत्व गरेका छन् ।

अदालतको परमादेशपछि नेकपा (एमाले) अध्यक्ष ओली नेतृत्वको सत्ता ढालियो । अदालतको बलमा कठालो समाइयो र गहलत्याइयो । एमालेले यसलाई आक्रोश र आक्रोशको प्रतिफलस्वरुप सडक आन्दोलनको रूपमा लिएन । आफ्नो काम र अडान प्रस्ट्याउँदै प्रतिपक्षी शक्तिको रूपमा क्रियाशील रहन पुग्यो । यसपछि राजनीतिक र राजकीय सत्ता सञ्चालनका लागि गठबन्धन विकास भयो । उद्देश्य र गन्तव्य फरकफरक भए पनि सत्तासामु बिना कुनै संकोच संगठित र विकसित गठबन्धनको नाउँमा गठजोडमा रहेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतको शक्ति एक्लो एमालेविरुद्ध उभिएको छ, उत्रिएको छ । पथरी उद्योग वाणिज्य संघको चुनावमा यसको जस्ताकोतस्तै छाँया प्रभाव देखियो । एमाले नजिक मानिएका दीपक बस्नेतलाई हराउन गठबन्धन खुलेरै लाग्यो । तथापि, परिणाम भने मिश्रित आयो ।

गठबन्धनको प्रयासबाट उद्योग वाणिज्य संघको चुनावमा अध्यक्ष पद विजेता धनकुमार तामाङ ५ वर्षपछि एमालेमा फर्किएसँगै उपविजेता बस्नेत एमालेबाट अलगिएको नेकपा (एकीकृत समाजवादी) विलय भए । बस्नेतलगायत स्थानीय व्यापारी–व्यवसायी घरानाका व्यक्तिहरू नेकपा (एकीकृत समाजवादी) को स्थानीय नेतृत्वमा उदायपछि एमालेकालमा समग्र कामको ब्यानर भनेर चिनिने संविधानसभा सदस्य चण्डीप्रसाद राईं तेस्रो, चौथो हैसियतमा अडिन पुगेका छन् । यतिबेला सदस्य राईंलगायत प्रदेशसभा सदस्य कृष्णाकुमारी राईं, कृष्णाकुमारी विश्वकर्मा, टंक भण्डारी र तुलसी ढकाल नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा देखिन्छन् । तत्काल नेकपा (एकीकृत समाजवादी) लाई एमाले हराउने ध्याउन्न छ । भरखरै सम्पन्न राष्ट्रियसभा निर्वाचनमा यहिं प्रयास देखियो । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो मूल थलो एमालेलाई हराउनु र सक्नुमा आफ्नो सर्वाधिक ठूलो सफलता र बहादुरी ठान्छ । यो मनोविज्ञानका साथ संगठन गरेको बुझिन्छ । यद्यपि, यसका लागि उसले आफ्नो एक्लो तागतमा सम्भव छैन, कसै न कसैको बैसाखी चढ्नैपर्छ । उहिल्यै माओवादी अध्यक्ष प्रचण्डले भनेझैँ कसैको ढाडमा टेकेर एमालेको टाउकोमा हान्नु नै पर्छ ।

महाधिवेशनको आन्तरिक तयारीसँगै नेपाली काँग्रेस आन्तरिक मनमुटाव, कटुता, अन्तरविरोध र द्वन्द्वग्रस्त अवस्थामा छ । कम्युनिष्ट स्कुलिङ हुँदै काँग्रेस नेतृत्वमा स्थापित चिकित्सक डा. सुनील शर्मा हावी स्थानीय काँग्रेस अस्वस्थ्य प्रतिस्पर्धाका कारण राजनीतिक बैचारिक हिसावले निखारिएको खाँटि काँग्रेस गम्भीर ढंगले थलिएको छ । पैसाको बलमा निर्माणकालको पहिलोपुस्ताको काँग्रेसलाई तह लगाउन गरिएको प्रयास अधिकांशलाई मञ्जुर छैन । उहाँको स्वार्थप्रेरित चिकित्सक विधि–पद्दति धेरैलाई सह्य छैन । अहिलेको काँग्रेसले निर्माणकालको काँग्रेसलाई अनादर र अनुदारको व्यवहार गरेको दिग्गज काँग्रेसजनको ठम्याइ छ । कम्युनिष्टहरू फुटेका बेला जनमत सहजै आफ्नो पोल्टा पार्न सकिने अर्थात् चुनाव सजिलोसँग जित्न सकिने मनोविज्ञान माथिल्लो तहमा विकास भएको छ भने यहाँको अन्तरविरोधका कारण काँग्रेस पछिल्लोपकट गणेश खड्काले मेयरमा हारेजस्तै काँग्रेसजनबाटै हार्ने खतरा रहेको स्थानीय नेताहरू बेलाबेलामा औल्याउने गर्छन् । अदालतको बलमा बनेको गठबन्धनको नेतृत्व काँग्रेसले गर्नुलाई लोकतन्त्रको उन्नत प्रयास र प्रयोगबाट आएको काँग्रेसजनलाई सजिलो लागेको छैन । यस्तो अवस्थामा अब कसलाई अघि सार्ने ? स्थानीय काँग्रेस उपयुक्त नेतृत्व निर्माण र परिचालनको द्विविधामा देखिन्छ ।

राष्ट्रिय स्तरका कैयौं पत्रपत्रिका र सामाजिक सञ्जालमा समेत नियमितरूपमा विषयगत अध्ययन र लेखनमा रमाउने स्थानीय युवा व्यक्तित्व युवराज बास्कोटा चितवनमा सम्पन्न एमाले महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए । यस नगरको पहिलो नागरिक केन्द्रीय सदस्यको रूपमा परिचय कमाउँदै आएका बास्कोटालाई कुनै बेला ओली निकटताको आरोपमा मानमर्दन गर्नेसम्मको धृष्टता हुन्थ्यो । माधवकुमार नेपाल निकटजनका लागि सुरक्षित ठानिएको पथरी शनिश्चरे नगरलाई राजनीतिक–बैचारिक हिसावले प्रस्ट बास्कोटाले ओलीको कित्तामा उभ्याएवापत उनी धेरैपटक स्थानीय नेपाल निकट नेताबाट निशान साँधेर प्रहार गर्ने गरिने र सार्वजनिक ढंगले नै लछारपछारको शिकार समेत हुने गरेको चर्चा चिया पसलदेखि चौताराहरूमा समेत यतिबेला हुने गर्दछ । बास्कोटा सहित पार्टीको प्रदेश कमिटीमा स्थानीय कम्युनिष्ट आन्दोलनको मियोको रूपमा स्थापित मोहनकुमार तुम्बापो, रामकुमार बस्नेत, माओवादी धारबाट समायोजित देवराज भण्डारी, विजय डाँगीलगायतको आधा दर्जन बढी संख्या छ भने पार्थबहादुर बुढाथोकी, देवीमाया काफ्ले, जीवन खतिवडा, राजु तिम्सिनालगायत एकदर्जन बढीको आकर्षक संख्या जिल्ला कमिटीमा पथरी शनिश्चरे नगरपालिकाबाट विकसित भएको छ । यसकै मातहतमा अहिले वडा जागरण अभियान सञ्चालित छ, अधिकांश वडाभित्र गाउँ र टोलहरूमा कमिटी बनेका छन् र परिचालित छन् । एमालेमा वडादेखि माथिल्लो इकाइसम्म नेतृत्वको खडेरी देखिँदैन । राजनीतिक योगदानदेखि लिएर विषयगत अध्ययनका हिसावले पनि एमालेमा एकसेएक योग्यता–क्षमता सहितको नेतृत्वको उपस्थिति छ । बरु, यसमध्ये कसलाई छान्ने होला ? यो समस्या एमालेमा देखिन्छ ।
यहाँको माओवादी आन्दोलनमा दिनप्रतिदिन खिया लाग्दै गएको छ । एकातिर अदालतको आदेशानुसार एमाले, एमालेकै कित्तामा र माओवादी, माओवादीकै कित्तामा भएपछि माओवादी आवद्ध ठूलो संख्याले एमालेलाई नेकपाको उत्तराधिकारी शक्तिको रूपमा ग्रहण गरेको अवस्था छ भने अर्कोतिर एमालेले चितवनमा सम्पन्न गरेको महाधिवेशनपछि अहिलेसम्म एक दर्जन स्थानीय माओवादी नेतृत्व एमालेमा प्रवेश गरेको छ । संवेदनशील क्षेत्रमा जागिर गर्ने र पेशा आवद्ध व्यक्तित्वले समेत जागिर पेशाको वास्तै नगरी जनयुद्धकालमा सर्वस्व गुमाउन तयार भएको यो संख्या मूलधारबाट अलगथलग हुनुले माओवादी आन्दोलनको भविष्य अँध्यारो सुरुङभित्र पसेको अनुमान सजिलै लगाउन सकिन्छ । शिक्षक नेता फौदराज खड्का सहित माओवादी पार्टी संगठन निर्माणको क्षेत्रमा प्रचुर क्षमता सहितको यो संख्याले एमालेलाई रोज्नुलाई एमालेप्रति बढ्दो जनविश्वासलाई आत्मसाथ गरेको प्रस्ट हुन्छ । फलानो भनेको माओवादी, माओवादी भनेको फलानो भन्ने तहमा माओवादी एक्लिएको ठम्याइ हुने गरेको छ । व्यापारी–व्यवसायी नेता तामाङ एमालेमा फर्कंदा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने बस्नेतको प्रसङ्गमाथि खुचिङ गर्ने माओवादी नेतृत्वले दल अदलबदलको प्रक्रियामा दर्जनौं होनाहार नेतृत्वलाई पन्छाइसकेको छ । प्रधानमन्त्री देउवाको सहशक्ति भएर माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई स्वकार्ने पत्रमा गरेको हस्ताक्षर प्रकरणले अब राष्ट्रिय राजनीतिमा माओवादी शक्ति झनझन नांगो र दोहोरो चरित्र उदांगो हुने देखिन्छ । राष्ट्रलाई दाउमा राखेर कूटनीतिक मर्यादाविपरित एमसीसी स्वीकारोक्तिको हस्ताक्षर प्रकरणको रहस्यले जनयुद्ध केका लागि थियो ? सर्वस्वको क्षति सहित यत्रतत्र रक्तपात केका लागि थियो ? स्वभाविक प्रश्न अस्वभाविक ढंगले उब्जन थालेको छ । वस्तुगत प्रश्नको वस्तुगत जवाफ अर्थात् चित्तबुझ्दो नआए माओवादी आन्दोलनप्रतिको साख गिर्ने छ, आस्थाको शीर ढल्ने छ, इमान र निष्ठावान् कार्यकर्तामा यसले तीरको काम गर्ने छ । यसको सोझो असर यहाँ पनि पर्नेछ । नेतृत्वको रूपमा कुन कार्यकर्तालाई अघि बढाउने ? कस्तो अनुहार अघि सार्ने ? जनमतले उठाउने प्रश्नको उत्तर कसरी दिने ? स्थानीय माओवादी शक्ति रनभुल्ल छ ।
यस्तो बेलामा स्थानीय निर्वाचनमार्फत अब को नेतृत्वमा आउने हो ? अनुमान समेत लगाउन सक्ने अवस्था छैन । काँग्रेसले गठबन्धनका सहयोगी शक्तिलाई बैसाखी तार्ने जिम्मा लियो भने एमालेलाई अलिक गाह्रो पर्ला ! नत्र, एमालेविरुद्ध एक्लाएक्लै लड्न सक्ने क्षमता कुनै राजनीतिक दलमा देखिँदैन । त्यो पद र प्रतिष्ठा नपाए देखाइदिउला भन्ने टाइपको व्यक्ति–व्यक्तिबीचको हुटहुटीमा रमाएको एमालेले आफूभित्र रहेको प्रचुर सम्भावनालाई क्रमशः बुद्धिमतापूर्वक प्रयोग गर्न जान्यो र सक्यो भने एमालेको विकल्प एमाले मात्र हुन सक्छ, अरु कोही छैन ।
–भूमिप्रसाद पाठक