भूमिप्रसाद पाठक,
पथरी शनिश्चरे, माघ २७ ।

अदालतको परमादेशपछि संगठित गठबन्धन नाउँको पञ्चभाइ तागतसँग एक्लै लड्दै आएको नेकपा (एमाले), पथरी शनिश्चरे नगरपालिका कमिटीको तेस्रो बैठक पथरी शनिश्चरे नगरपालिकाको पथरी खण्डमा भव्य सम्पन्न भएको छ ।
नगर अध्यक्ष रमेश दाहालको अध्यक्षता सम्पन्न बैठकले पार्टी जिल्ला कमिटीको निर्देशनपत्रअनुरुप अविलम्ब वडा जागरण अभियान सञ्चालन गर्ने निधो गरेको छ । पार्टीको आधारभूत कमिटी प्रणालीअन्तर्गत गठन र पुनर्गठनको जागरणका अतिरिक्त परिवर्तनका पक्षधर स्थानीय बासिन्दालाई एमालेमा प्रवेश गराउने उद्देश्य रहेको यो अभियान सञ्चालनका लागि नगरमा आधारित रहने जिल्ला कमिटी सदस्यहरूलाई उत्प्रेरिकको रूपमा परिचालन गर्ने निष्कर्ष निकालेको हो ।

१० वटा वडाहरू रहेको यस नगरमा क्रमशः वडा नं. १ मा यमुना विष्ट र बाबुराम ऐङदेन, वडा नं. २ मा राजु तिम्सिना र दुर्गा सुवेदी दंगाल, वडा नं. ३ मा पार्थबहादुर बुढाथोकी, वडा नं. ४ मा धनकुमार तामाङ, वडा नं. ५ मा भगतचन्द्र थपलिया, वडा नं. ६ मा डिल्लीप्रसाद पोखरेल, वडा नं. ७ मा वीरध्वज शिवा, वडा नं. ८ देवीमाया काफ्ले, वडा नं. ९ निर्मला गदाल विश्वकर्मा र वडा नं. १० जीवन खतिवडा परिचालित रहने कार्यतालिका जिल्लाबाटै निर्देशित रहेको बैठकका अतिथि एवम् पार्टी प्रदेश कमिटी सदस्य डम्बर चोङबाङले बताए ।

बैठकका अर्का अतिथि एवम् पार्टी प्रदेश कमिटी सदस्य पर्शुराम मिश्रका अनुसार वडा पदाधिकारीको प्रत्यक्ष सम्पर्कमा रहने यो उत्प्रेरक समुहले जिल्ला नेताको हैसियतमा स्थानीय पार्टीको अवस्थाको अध्ययन अवलोकन, एमालेसँग प्रतिस्पर्धामा रहन सक्ने राजनीतिक दलको अवस्था, एमालेविरुद्ध छरिएको भ्रम र अन्योलमा रहेको नागरिकको अवस्था, वडा–वडा भूगोलको समग्र सामाजिक अवस्था, एमालेको तर्फबाट जनप्रतिनिधिको रूपमा पठाइएका नेताहरूको कामकारबाहीको फेहरिस्त संग्रह, स्थानीय सामाजिक मुद्दाको पहिचान र यसको कार्यान्वयनमा एमालेको अग्रसरताबारे गृहकार्य गर्नेछन् ।
बैठकले उपाध्यक्षमा निर्वाचित उमनाथ अधिकारीलाई सपथ गराएसँगै नगरको भौगोलिक क्षेत्र आधारित दर्जनभर जिल्ला कमिटी सदस्यलाई बधाई शुभकामना ज्ञापन गरेको, ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितता सहित निर्मित कमिटी संख्याको १० प्रतिशत संख्यालाई मनोनय प्रक्रियामार्फत नगर कमिटीलाई पूर्णता दिएको, २७ सदस्यीय सचिवालय निर्माण गरेको, सल्लाहकार समिति निर्माण, ज्येष्ठ कम्युनिष्ट मञ्च निर्माण र बुद्धिजीवी परिषद् निर्माणसम्बन्धी आधार तयार गर्न जिम्मेवारी तोक्ने काम गरेको सचिव भीमकुमार राईंले जानकारी दिए ।

सचिव राईका अनुसार अध्यक्षको संयोजकत्वमा संसदीय फाँट, उपाध्यक्षको संयोजकत्वमा युवा विद्यार्थी फाँट, सचिवको संयोजकत्वमा संगठन विभाग, उपसचिव एलबी भण्डारीको संयोजकत्वमा आर्थिक विभाग, उपसचिव रुकमिणा बजगाईको संयोजकत्वमा महिला फाँट र कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा मजदुर विभाग निर्माण गरेसँगै देवीप्रसाद प्रसाईंको संयोजकत्वमा सल्लाहकार समिति निर्माण, नेत्रप्रसाद दाहालको संयोजकत्वमा ज्येष्ठ कम्युनिष्ट मञ्च निर्माण र नोवलकिशोर खनालको संयोजकत्वमा बुद्धिजीवी परिषद् निर्माणसम्बन्धी आधार तयार गर्न जिम्मेवारी तोकेको बाहिरिएको छ ।

संयोजकत्वहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सहज हुने सहयोगी सदस्यहरूको नाउँ सहित अविलम्ब आधार निर्माणसम्बन्धी कार्यआरम्भ गर्न निर्देशन भएको बैठकमा सहभागी एक नेताले बताए । एमालेको जीवनमा पछिल्लोपटक सिर्जित चुनौति र विराट सम्भावनाका विषयमा केस्राकेस्रा चर्चा परिचर्चा भएको यस बैठकलाई एमाले केन्द्रीय कमिटी सदस्य एवम् मोरङ जिल्ला सहइञ्चार्ज युवराज बास्कोटा, प्रदेश नं. १ कमिटी सदस्यद्वय मोहनप्रसाद तुम्बापो र देवराज भण्डारी र जिल्ला कमिटी सदस्य यमुना विष्ट निर्देशनात्मक सम्बोधन सहित शुभकामना मन्तव्य राखेका थिए ।