असार २५ गते ।
भूमिप्रसाद पाठक, पथरी,

नेपाल टेर्ड युनियन महासंघ (जिफण्ट) आबद्ध यसको घटक युनियन नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण युनियन (क्युपेक, नेपाल), पथरी शनिश्चरे नगरपालिका कमिटीको नेतृत्वमा नगरका वडा नं. १० निवासी मजदूर नेता हरिकुमार सुवेदी सर्वसम्मत छनौट भएका छन् ।
निवर्तमान अध्यक्ष दोर्णबहादुर खड्काले आफ्नो पद तथा जिम्मेवारीबाट राजीनामा दिएपछि उक्त पद रिक्त हुन गएको थियो । आज नगरको बुद्धचौकमा सम्पन्न नगर मजदूर भेलाले नेता हरिकुमार सुवेदीलाई अध्यक्षको जिम्मेवारी निर्वाहका लागि रिक्त रहेको उक्त पदमा सर्वसम्मत् अघि सारेको हो । जिफण्ट १ नं. प्रदेश सचिव सूर्यबहादुर खवासको प्रमुख आतिथ्य र क्युपेक नेपालका मोरङ जिल्ला अध्यक्ष सूर्यबहादुर कुमाल, जिल्ला सदस्य झञ्चलाल लिम्बू र बाबुराम पराजुलीको आतिथ्यमा सम्पन्न नगर मजदूर भेलाले नेता हरिकुमार सुवेदीको मूल नेतृत्वमा ११ सदस्यीय कमिटी निर्माण गरेको बताइन्छ ।
नेता सुवेदीको मूल नेतृत्वमा निर्मित कमिटीमा उपाध्यक्ष टेकबहादुर बुढाथोकी, सचिव सूर्य भण्डारी, सहसचिव रवीन राई, कोषाध्यक्ष बालकृष्ण बुढाथोकी र सदस्यहरूमा क्रमशः सञ्जय लिम्बू, काजीमान रम्तेल, अशोक केजान, प्रेमबहादुर तामाङ र वलबहादुर नेम्बाङ रहनुभएको अध्यक्ष सुवेदीले बताउनुभयो । अध्यक्षमा सर्वसम्मत् छनौट हुनुभएका नेता सुवेदीले आफू आफ्नो यो सक्रिय जीवनकालभर मजदूर वर्गको बृहत्तर हकहित र तिनको भलाइको पक्षमा काम गर्ने संकल्प अघि सार्दै यो कार्यकालमा स्थानीय मजदूरलाई अनिवार्य परिपत्रपत्रको व्यवस्था गर्ने, परिचयपत्र धारक आम मजदूरको अनिवार्य निशुल्क स्वास्थ्य बीमा गर्न गराउन पहलकदमी लिने, परिचयपत्र धारक आम मजदूर घरपरिवार आश्रित तिनका छोराछोरीलाई अनिवार्य निशुल्क शिक्षाआर्जनको वातावरण निर्माणमा लाग्ने, राज्यले उपलब्ध गराएको मजदूरमैत्री सामाजिक सुरक्षाभत्ता कार्यान्वयनमा नीतिगत ढंगले उभिने, मजदूर बीमा अनिवार्य कार्यान्वयनमा ल्याउने, असंगठित क्षेत्रका मजदूरलाई साथ लिएर तिनको अनिवार्य पञ्जीकरण गर्ने, मजदूर भलाइ कोष खडा गर्ने, मजदूर सहकारी संस्था निर्माण गर्ने आदि सोच बनाएको बताउनुभयो । नगरको वडा नं. १ र १० मा ठूलो सङ्ख्यामा मजदूर उपलब्ध हुने गरे पनि मजदूरको कार्यक्षेत्र र प्रभाव भने नगरभरि नै रहेको अध्यक्ष सुवेदी बताउनुहुन्छ । १० हजार हाराहारीमा रहेका मजदूरलाई अभिलेखीकरण र पञ्जीकृत गर्ने हो भने यो सङ्ख्या बढ्ने र यो वैज्ञानिक एवम् व्यवहारिक हुने उहाँको दावी रहँदै आएको छ ।