२६, असार
पथरी शनिश्चरे–२, बुद्ध चौक प्रधान कार्यालय रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना ७० बर्षदेखि माथिका २५ जना ज्येष्ठ सेयर सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी ज्येष्ठ सदस्य आजीवन भत्ता (पेन्सन) वितरण गरेको छ ।
पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनकुमार तुम्वापोमार्फत २५ जना ज्येष्ठ सदस्यहरुलाई मासिक रु.८ सय ५० का दरले २०७९ बैशाख, जेठ र असार गरी ३ महिनाको भत्ता जनही रु.२५ सय ५० वितरण गरिएको हो । २५ जनामध्ये बिरामीको कारण उपस्थित हुन नसक्नु भएका २ जना ज्येष्ठ सदस्यहरुलाई घरमा नै गएर पेन्सन उपलब्ध गराईनेछ । संस्थाले २०७४ बैशाखदेखि ज्येष्ठ सदस्यहरुलाई आजीवन भत्ता दिन प्रारम्भ गरेको थियो । २०७४ सालभर मासिक रु. २ सय २०७५ सालभर मासिक रु.४, सय २०७६ सालभर मासिक रु.६ सय र २०७७ बैशाखदेखि २०७८ असारसम्म मासिक रु.७ सय ५० का दरले भत्ता वितरण गरिएको थियो भने २०७८ श्रावणदेखि मासिक रु.८ सय ५० का दरले भत्ता उपलब्ध गराउन थालिएको हो।