पथरी शनिश्चरे, साउन ११ गते
भूमिप्रसाद पाठक ।

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २, देवीगञ्जस्थित स्वामी निर्विशेषानन्द आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजित एकादश दिवसीय शिव महापुराण आज अत्यन्तै मनमोहक दृश्यचित्र र भव्य र सभ्य सनातन सांस्कृतिक समागमका साथ सम्पन्न भएको छ ।
प्रमुख कथावाचक सुविख्यात पण्डित नरेश भागवतोपाषक नेपाल र उपवाचक पण्डित रोशन दाहालले अत्यन्तै रसपूर्ण ढंगले कथा श्रवण गराउनुभएको सो पुराणको मण्डप परिसरमा दैनिक ध्यान तथा योग साधना, रुद्राभिषेक र महामृत्युञ्जय जप साधना, शिव महापुराणको मूल पाठ बाचन र सन्ध्याकालीन भजनकीर्तन हुने गरेको आयोजक ओमप्रकाश पोखरेल बताउनुभयो ।
स्थानीय समाजसेवी, राजनीतिककर्मी एवम् प्रतिष्ठानका सल्लाहकार युवराज बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममार्फत प्रमुख कथावाचक, उपवाचक, भजन गायक, बाधक, झाँकीलगायतको क्षेत्रमा अहोरात्र खट्ने सहयोगी सम्पूर्ण महानुभावहरूलाई सम्मान अर्पण गरिएको छ । सम्मान अर्पण कार्यक्रमपछि प्रमुख अतिथि बास्कोटाले आध्यात्मिक कर्मनिर्देशित यो भौतिक संरचना निर्माणको क्षेत्रमा सहयोग गर्ने कबोल गर्नुहुने तमाम सहयोगी र दानवीरहरूलाई स्थानीय सम्पदा निर्माण र विकासमार्फत यसको पृथक पहिचान वृद्धि गर्नमा गर्नुभएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
समापन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले यो देश नेपाल कि सगरमाथाको हाइटले चिनिएको कि बुद्धको ज्ञानको लाइटले राष्ट्र–अन्तर्राष्ट्रिय स्तरमा चिनिएको प्रसंग कोट्याउँदै स्थानीय गहनाको रूपमा परिचित स्वामी निर्विशेषानन्दजस्ता देशभक्त सन्तानद्वारा रोपिएको वृक्षलाई हलक्क बढाउने दायित्व आफूहरूको रहेको बताउनुभयो । सर्वजन हिताय सर्वजन सुखाय मूल उक्तिका साथ साउन १ गतेदेखि प्रतिष्ठानका अध्यक्ष एवम् अभिभावक नेत्रप्रसाद दाहालको अध्यक्षतामा आरम्भ भएको उक्त शिव महापुराणमा शहर र शहरबाहिरबाट पाल्नुभएका हजारौं धर्मप्रेमी महानुभावहरूले शिव महिमा सहितको कथाश्रवण गर्नुभएको स्थानीय सदस्य शोभा तिम्सिनाले दर्शाउनुभयो ।
प्रतिष्ठान परिसरमा शिव महिमाको प्रतिस्वरुप हरिहर मन्दिर निर्माण गर्ने, गौतम बुद्धको सम्मानमा शान्ति स्तुपा निर्माण गर्ने, वनौषधि वाटिका निर्माण गर्ने र ज्येष्ठ नागरिक लक्षित नारदनर्वदा स्मृति भवन निर्माण गर्ने उद्देश्यअनुरुप सञ्चालित कार्यक्रममार्फत स्थानीय तमाम धर्मानुरागी, समाजसेवी, राजनीतिक दलका अगुवा, जनप्रतिनिधि, माथिल्ला सरकारसम्बद्ध व्यक्तिहरूले प्रत्यक्ष/परोक्ष उत्साह अभिबृद्धि गर्नुभएकोमा खुशी व्यक्ति गर्नुहुँदै स्वामी निर्विशेषानन्दले मनवीर र दानवीर सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रतिष्ठानका सचिव पुण्यप्रसाद पौडेलको सारगर्भित उद्बोधन सहित अघि बढेको कार्यक्रममा उदयपुर निवासी प्रतिष्ठानका उपाध्यक्ष बद्रिशरण पराजुलीले सहभागी सम्पूर्ण धर्मानुरागीलाई स्वागत सम्बोधन गर्ने क्रममा ११ दिवसीय पुराणमा कैयौं धर्मप्रेमी व्यापारी–व्यवसायीको नगद तथा जिन्सी कबोलबाहेक सहयोगस्वरुप उठेको नगद रूपैयाँ ७ लाख हाराहारीको रकमबारे यसको फेहरिस्त सार्वजनिक गर्नुभयो ।