पथरी, साउन १२ ।
भूमिप्रसाद पाठक,

अनन्त नारी शक्ति समुहको आयोजनामा मोरङको सुन्दरहरैँचामा पञ्च दिवसीय ज्ञान महायज्ञ हुने भएको छ । सामाजिक कामका क्षेत्रमा क्रियाशील अनन्त नारी शक्ति समुहको आयोजनामा सुन्दरहरैँचा नपाको वडा नं. १२ स्थित राधाकृष्ण मन्दिर परिसरमा यो पुण्य कार्य हुन लागेको हो ।
सार्वजन हिताय सर्वजन सुखाय मूल उद्घार सहित सम्पन्न हुने उक्त पञ्च दिवसीय महायज्ञमा शिवमहिमाको संगोष्ठि हुने, रुद्राभिषेक, महामृत्युञ्जय, जप तथा साधना हुने अनन्त नारी शक्ति समुहकी अध्यक्ष तारा सुबेदीले सगरमाथा अनलाइनलाई बताउनुभयो । उक्त सनातन समागम सहितको धार्मिक कार्यक्रममार्फत समाजमा शान्ति, सहिष्णुता, सद्भाव, प्रेम र हार्दिकता अभिवृद्धि हुनेमा अध्यक्ष सुवेदीले विश्वास व्यक्त गर्नुभयो । पथरी शनिश्चरे नपा वडा नं. २ स्थित देवीगञ्ज स्वामी निर्विशेषानन्द आध्यात्मिक प्रतिष्ठानका प्रमुख स्वामी निर्विशेषानन्द महाराजको प्रमुख आतिथ्यमा १४ गते शनिबारबाट हुने सो महायज्ञबाट प्रसादस्वरुप पत्रम्, पुष्पम्, तोयम्, फलमंबाट रहेको शेष रकम अनन्त नारी शक्ति समुहको कार्यालय भवन व्यस्थापनको लागि जग्गा खरिद गर्ने उद्देश्य रहेको समूहकी सचिव झुमा बास्कोटाले टेलिफोनमार्फत जानकारी गराउनुभयो ।
सुप्रसिद्ध युवा पण्डित श्री नरेश भागवतोपाषक नेपाल र आचार्य तुलाराम दाहाल महाराजको मुखारविन्दबाट प्रवचन हुने छ । महायज्ञको कार्यक्रमअन्तर्गत बिहान ७ बजेदेखि १० बजेसम्म रुद्राभिषेक र महामृत्युञ्जय साधना, दिउँसो ११ बजेदेखि ३ बजेसम्म शिवमहिमामाथि प्रवचन हुने कार्यक्रम तय भएको सचिव बास्कोटाले जिकिर गर्नुभयो । साउन १८ गते बुधवार महायज्ञको पूर्णाहुति हुने भएकोले प्रसाद ग्रहणस्वरुप समुहद्वारा ६५ वर्षमाथिका बृद्वबृद्वा समस्त बुबाआमाहरुलाई स्वामी निर्विशेषानन्द महाराजज्यूका करकमलबाट सम्मान गरिने अध्यक्ष सुवेदीले बताउनु भयो । अध्यक्ष सुवेदीले सो महायज्ञमा सनातन धर्म संस्कारप्रेमी सम्पूर्ण महानुभावलाई कथाश्रवण र प्रसाद ग्रहणका लागि अनिवार्य सामेल हुन स्थानीय समुदायसमक्ष अनुरोध समेत गर्नुभएको छ ।