पथरीशनिश्चरे, भदौ -२९/

पथरीशनिश्चरे नगरपालिकाद्वारा आयोजित ५८ औं बाल दिवसको अवसरमा रेडस्टार माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकाे छ। आज बुधबार पथरीको नर्वेदेश्वर शिवालय मन्दिर परिसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा पथरीशनिश्चरे नगरमा पहिलो पटक निजीक्षेत्रमा त्रिभुवन विश्वविद्यालयबाट रेडस्टार माध्यमिक विद्यालयले ऋतम्वरा कलेजको नाममा स्नातक तहसम्मको वाणिज्य तथा मानविकी संकाय ( बिबिएस तथा बिए) संचालन गर्न सम्बन्धन प्राप्त गरीसकेको रेडस्टार माध्यमिक विद्यालयकी छात्रा सन्ध्या खड्काले प्रथम स्थान हासिल गरेकी हुन्।
बालमैत्री समाज निर्माणमा स्थानीय सरकारको भूमिका विषयमा नगरभित्रका १४ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूले सहभागिता जनाएका थिए। जसमा, पञ्चायत माध्यमिक विद्यालयकी छात्रा लियोना भट्टराई दोस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् भने तेस्रो स्थान चन्द्र किरातेश्वर माविकी निभा चेम्जोङले हासिल गरेकी थिइन्। यसैगरी , हिजो सम्पन्न नगरस्तरीय अन्तर्विद्यालय नृत्य प्रतियोगितामा चिनारी अंग्रेजी बोर्डिङ्ग स्कुलले प्रथम स्थान हासिल गरेकाे छ । राष्ट्रिय भाव झल्किने नृत्य प्रतियोगितामा पूर्वी मोरङमै संस्थागत विद्यालयहरूमध्ये अब्बल बन्दै एक अन्तराष्ट्रिय स्तरको ब्रिटिश अवार्ड हासिल गर्न सफल रेडस्टार माध्यमिक विद्यालयले दोस्रो र वाल्मीकि मेमोरियलले तेस्रो स्थान हासिल गरेका थिए।
१४ वटा विद्यालयहरूले नृत्य प्रतियोगितामा सहभागिता जनाएकाे उक्त दुई दिवसीय कार्यक्रमको समापन समारोहको अध्यक्षता नगरकी उपमेयर देविमाया काफ्लेले गर्नु भएको थियो। , प्रमुख अतिथि समेत रहनुभएका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल ,वडा नं १ का वडाध्यक्ष भीम कुमार राई, बाल बालिका शाखा प्रमुख गीता कट्टेल, पिताम्वर वस्ती समेतले विजयी विद्यालयहरूका छात्र – छात्रालाई नगद , ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो। नृत्य प्रतियोगिताका प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयका छात्र छात्राहरुलाई ९ हजार , ६ हजार र ३ हजार रुपैयाको दरलाई २५% कर कट्टी गरेर नगद, ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । त्यस्तै, वक्तृत्वकला प्रतियोगिताका विजेता प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका छात्र- छात्रालाई क्रमशः २ हजार, १५ सय र १ हजार रुपैयाँ नगद , ट्रफी,मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख गीता कट्टेलले बताउनुभयो। नगरपालिका उपप्रमुख देविमाया काफ्लेको अध्यक्षतामा नगर बालसञ्जालका पदाधिकारीहरुसँग गत भदौ -१९ गते बैठक बसी यस पथरी शनिश्चरे नगरपालिकाद्वारा “बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने राष्ट्रिय नाराका साथ बाल दिवस मनाउने निर्णय गरेको थियो। कार्यक्रमको संचालन बाल संजालकी कृतिका भट्टराई र सन्ध्या ढुंगेलले गरेका थिए।