कार्तिक ११।कानेपोखरी ।

विषय सामान्य तर सुन्दा अचम्म लाग्ने घट्ना । कानेपोखरी ७ मा पर्ने कानेपोखरी-रंगेली सडकखण्ड अन्तर्गत आइतबारे माथिको जङ्गल एरियामा मोटरसाइकलसँग ठोक्किएर घाइते भएको भैसीको पछाडिको दुईटा र अगाडिको एउटा गरि तिनवटा खुट्टादेखि तिघ्रासम्मको भाग रातारात गायब भएको छ ।

बिहिवार बिहान घटनाबारे जानकारी पाएपछी प्रहरी, कानेपोखरी नगर प्रहरी र स्थानीय त्यस स्थानमा पुग्दा मृत अवस्थामा रहेको भैंसीको तिनवटा खुट्टा नभएको भेट्याएका हुन । कानेपोखरी ३ हरकपुर बस्ने २० वर्षिय आकाश लिम्बूले आफ्नो काकालाई बुधबार राती करिब ११ बजेको समयमा कानेपोखरी चोक पुर्याएर घर फर्किदै थिए । जङ्गलको मध्य भागतिर आइपुग्दा जङ्गलभित्रबाट अकस्मात निस्किएको भैसीसँग उनको मोटरसाइकल ठोक्किन पुग्यो र उनी सडकमा बजारिए । त्यसपश्चात उनलाई देउसे टोलिले अचेत अवस्थामा सडकमा लडिरहेको भेटेर रमाइलोको २४ घण्टे अस्पतालमा ल्यायो । सामान्य उपचारपछि थप उपचारका लागि लिम्बूलाई हाल विर्तामोडको बिर्ता सिटिमा उपचार गराइरहेको र अवस्था सामान्य रहेको घाइतेका काकि इन्दिरा लिम्बूले बताइन ।
रातको समयमा भैंसी जङ्गलमा छोड्ने व्यक्तिको पहिचान हुन सकेको छैन । बिहिवार बिहान स्थायी प्रहरी चौकी रमाइलो, कानेपोखरी प्रहरी चौकि, नगर प्रहरीले सो स्थानको
निरीक्षण गर्यो ।सो भैंसीको धनी हालसम्म सम्पर्क नआएको र घाइते भैंसीको खुट्टा रातारात कसले काटेर लग्यो त्योबारे अनुसन्धान भइरहेको अस्थायी प्रहरी चौकी रमाइलोले जानकारी दियो । दुर्घटना भएको भैंसीलाई उद्धार गर्नुको सट्टा उल्टै ज्यादती हुनु निकै करुणादायी देखिन्छ । मानिसले आफ्नो पेट भर्नका लागि जनावरप्रती कतिसम्म अमानवीय कार्य गर्दो रहेछ भन्ने यहाँबाट प्रष्ट हुन्छ । घाइते भैंसीलाई उपचार गर्नुको सट्टा रातारात आएर खुट्टादेखी तिघ्रासम्मकै भाग काटी पेट भर्नेहरुप्रती सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।