पथरी समाचारदाता
मङ्सिर, २५

खोटाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदेश नं. १ को खानेपानी तथा सिंचाइ मन्त्री रामकुमार राई (पासाङ)शनिवार मोरङको पथरीशनिश्चरेमा सम्मानित भएका छन्।
मन्त्री राईलाई रोदुङ चाम्लिङ दिखलीपाछा रोमिपोमी केन्द्रीय समितिले बधाई शुभकामनाको साथ किराँती परम्परा अनुसार नछुङ् मार्फत शिर उभ्याउनी (सम्मान) गरेका हुन् । नव निर्वाचित प्रतिनिधि सभा सदस्य राई दिखुलिपाछा भएको कारण दाजुभाइ संस्थाले सम्मान गरेको हो । पथरीशनिश्चरे -१ स्थित साकेला थानमा भएको सम्मान कार्यक्रममा संविधान सभा सदस्य चण्डीप्रसाद राई, पूर्व प्रदेश सभा सदस्य कृष्णकुमारी राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
किराँत राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, किरात राई चम्लिङ खाम्बातिमको केन्द्रीय सचिव भूपाल राई, किरात राई प्रज्ञा परिषद् सदस्य सालिक साताशक लगायतको उपस्थिति रहेको थियो । आयोजक संस्थाको अध्यक्ष सन्त राईको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री रामकुमार राईले संघीयता ल्याइए पनि पनि प्रदेश र स्थानीय तह सरकारमा पूरा अधिकार आइ नसकेकाे बताए। स्थानीय तह नगर वा गाँउ पालिकाबाट नागरिकता र जग्गा पास जस्ता अधिकार आउनु पर्ने, निर्वाचन प्रणाली खर्चिलो भएकोले ठेकेदारले तस्करहरुले मात्र चुनाव जित्न सक्ने भएकोले निर्वाचन र शासककीय स्वरुप परिवर्तन गर्नुपर्ने विजेता राईको भनाइ थियो ।
प्रदेश संसदले प्रदेश नं.- १ को नाम राख्न नसकिएकोले आउने प्रदेश सभाले किराँतसहितको बहुपहिचानको आधारमा राखिनुपर्ने राईको भनाइ थियो । कार्यक्रममा १सयभन्दा बढी दिखलिपाछा राईहरुकाे सहभागिता रहेकाे थियो।