माघ-१ गते

मोरङको पथरीशनिश्चरेमा रहेकाे पञ्चायत नमुना माविमा भएको खेलकुद सप्ताह समापन भएको छ । अतिरिक्त क्रियाकलाप अनुसार माविमा आइतबारदेखि शुक्रबार सम्म खेलकुद सप्ताह भएको थियो । शुक्रबार भएको पुरुषतर्फ फुटबल प्रतियोगितामा कानुन/फाइन आर्ट पढ्ने कक्षा ११, १२ र अङ्गेजी माध्यममा पढ्ने कक्षा १० बीच फाइनल खेल भएको थियो । फाइनल प्रतियोगितामा कानुन, फाइन आर्टसलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि अंग्रेजी माध्यम कक्षा- १० का खेलाडी विद्यार्थीहरुले उचालेको छ ।
उपाधि विजेता कक्षा- १० को लागि भीषन राई एक्लैले -४ गोल गरेका थिए भने उपविजेता टिमबाट योमन राई र समिर राजवंशीले २ गोल फर्काएका थिए । पुरुष तर्फको फुटबलमा १६ टिम सहभागी भएका थिए। भलिबलको पुरुषतर्फ व्यवस्थापन संकायका ११ र १२ वीच भएको फाइनल प्रतिस्पर्धा कक्षा १२ विजयी भएको थियो । त्यसैगरी महिलातर्फको भलिबल खेलमा विज्ञान समूहमा ११ र १२ लाई पराजित गर्दै व्यवस्थापनकै कक्षा ११ विजयी भएको छ । भलिबल महिलातर्फ ६ र पुरुषतर्फ १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
हाजिर जवाफ प्रतियोगितामा विज्ञान कक्षा- १२ प्रथम, विज्ञान ११ दोस्रो भएका थिए । त्यसैगरी ‘वैदेशिक रोजगारभन्दा स्वदेशी रोजगार बेस’ भन्ने शीर्षकमा भएको वादविवाद प्रतियोगितामा विज्ञान कक्षा- १२ (बी)मा अध्ययनरत स्वीकृति राई प्रथम, विज्ञान (डी) कक्षा- ११ को युगलकिशोर अधिकारी दोस्रो, सोही कक्षा (डि)को अरुण कोइराला तेस्रो, विज्ञान समूह कक्षा १२ (ए) कि लियोना भट्टराई र कक्षा १० कि गंगा भण्डारी सान्त्वना पुरस्कार प्राप्त गरिन् । विद्यालयमा फुटबल, भलिबलको साथै क्रिकेट, कबड्डी कबड्डी, ट्रिपल जम्प, हाई जम्प, लङ जम्प, दौड, रिले दौड, चकजेट दौड, बेलुन ब्लाष्ट, हण्डी फुटाई, म्युजिकल चेयर, छेलो, बुद्धिचाल लगायत २४ इभेन्टको खेलकूद प्रतियोगिता भएको विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले बताए ।
शुक्रबार भएको पुरस्कार वितरण कार्यक्रममा विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकी, सहायक प्राचार्य बुद्धिनाथ अधिकारी, शिक्षक नरेश राई लगायतबाट भएको थियो । विद्यालयमा हाल प्ले -ग्रुपदेखि कक्षा १२ सम्मको ४ हजारका हाराहारीमा विद्यार्थी अध्ययनरत रहेका छन् । पञ्चायतमा कक्षा ११ र १२ मा विज्ञान, सिभिल इन्जिनियरिङ , शिक्षा, व्यवस्थापन, मानविकी बिषयमा पढाइ हुँदै आएको छ । याे स्कुलमा कानुन, पत्रकारिता, ललितकला लगायतको बिषयमा पठनपाठन हुँदै आएको सहायक प्राचार्य बीना राईले बताईन् ।