माघ -४गते

माेरङ्गकाे पथरीशनिश्चरे नगरपालिकाले फागुन ११ गतेदेखि नगरका १० वटै वडाहरुमा हात्तीपाइले रोग विरूद्धको औषधी सेवन अभियान चलाउने भएको छ।
नगरपालिकाको सभाहलमा आयोजित पत्रकार अन्तरक्रिया मार्फत नगरप्रमुख मोहन प्रसाद तुम्वापोले सोको जानकारी दिए। नगरप्रमुख तुम्वापोले नगरभित्रका सबै नागरिकलाई आफूले पनि औषधी सेवन गरी नजिकैका छरछिमेकमा समेत सेवनका लागि अभिप्रेरित गर्न आग्रह गरे। ‘ समुदायको कुनै पनि नागरिकले औषधी सेवन गर्न छुटे समग्र नगरको हात्तीपाइले रोग विरूद्धको अभियान असफल हुने रहेछ’ भन्दै उनले ‘यो अभियानको सार्थकताका लागि आम नगरवासीलाई अनुरोध गरेका छन्। सोहि क्रममा नगरका स्वास्थ्य शाखा संयोजक मुरारी प्रसाद आचार्यले स्वास्थ्य स्वयंसेविकाको सहयोगमा स्वास्थ्यकर्मीहरूले घरलौटी / घरैपिच्छे हात्तीपाइले रोग विरूद्धको औषधी खुवाउने अभियान चलाईने बताए ।
उनले २ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, ७ दिनकी सुत्केरी, छारे मृगी रोग संक्रमित, लामो समयदेखि ओछ्यान परेका बिमारीहरू बाहेकका अन्य जो कोहिले हात्तीपाइले विरूद्ध औषधि सेवन गर्न मिल्ने जानकारी दिए। नगरको स्वास्थ्य शाखाले ” मैले त हात्तीपाइले रोग विरूद्धको औषधी खाँए , तपाईं त छुट्नु भएको छैन ?” भन्ने सन्देशमूलक अभियान घर -घरमा सबै जन -जनमा पुर्याउँदै पत्रकारहरूले समेत विभिन्न संचारमाध्यम र सामाजिक संजालबाट प्रचार प्रसार गरी सहयोग पुर्याउन आग्रह गरेका छन्। स्वास्थ्य संयोजक आचार्यले सो अभियान संचालनका लागि जति दिन आवश्यक पर्छ; त्यति दिन निरन्तर रुपमा जारी राखिने जनाए ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश नं १ का झापा , मोरङ्ग, बांके, कैलाली, दाङ, कपिलवस्तु गरी ६ वटा जिल्लाहरू हात्तीपाइले रोग विरूद्धको औषधी खुवाउने अभियानमा असफल भएका छन्। जसमा झापामा २५.३२ प्रतिशत मात्र मानिसहरूले औषधी सेवन गरेका थिए भने मोरङ्ग जिल्लामा १६.७८ प्रतिशत मात्र मानिसहरूले औषधी सेवन गर्दा समग्र जिल्ला नै हात्तीपाइले रोग उन्मूलन अभियानमा असफल भएको छ ।, यसैगरी, कपिलवस्तु जिल्लामा ४०.५०प्रतिशत , कैलालीमा ४९.६७ प्रतिशत तथा बाँके जिल्लामा ६४.३८ प्रतिशत नागरिकहरूले मात्र औषधी सेवन गर्दा यी जिल्ला असफल भएको तथ्यांकले देखाएको छ। नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको पत्रकारबीच कार्यक्रममा उपप्रमुख देवी माया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगरप्रवक्ता नवीन कार्की, नगरका खेलकुद तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भेषराज पोखरेल, स्वास्थ्य शाखाका जगत मगर , उर्लावारी, पथरीशनिश्चरे तथा कानेपोखरी पालिकामा रही संचार क्षेत्रमा कार्यरत २ दर्जन बढी पत्रकारहरुको उपस्थिति रहेको थियो।