फागुन- ७
पथरी समाचारदाता,

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं.- ८ ले सार्वजानिक सुनुवाई कार्यक्रम मार्फत् वडा कार्यालयको अर्धवार्षिक प्रगति विवरण सार्वजानिक गरेको छ । आज वडा कार्यालयको सभाहलमा भएको सो सार्वजानिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष नविन कार्कीले ३४ वटा बुँदागत रुपमा प्रगति विवरण प्रस्तुत गरेका थिए।
वडाबाट अर्धवार्षिक समीक्षा अन्तर्गत जन्मदर्ता १ सय ६५ जना, मृत्युदर्ता ६६ जना, बसाइँ सरी आएको ५१ परिवार, सम्वन्ध विच्छेद ११ जोडी, नागरिकता सिफारिस १ सय ४५ जना, नागरिकता प्रतिलिपि सिफारिस २ सय ४३ जना, राजश्व संकलन ६ लाख ६४ हजार ५७ रूपैयाँ .९० पैसा विद्यार्थी छात्रवृत्ति वितरण ३६ जना, न्यानो कपडा वितरण ३ सय ३५ जना, बायोमास चुल्हो वितरण २० परिवार, राष्ट्रिय परिचयपत्र विवरण संकलन २ हजार ९ सय ४० जना, भौतिक पूर्वाधार (पुँजिगत)तर्फ १६ वटा शीर्षक राखिएकोमा १५ शीर्षकको सम्झौता भईसकेको ।

काम भएको योजनाको प्रतिशत ९५.४८ लगायत विवरण प्रस्तुत गरिएको थियो । यस्तै वडा कार्यालयमा नै मालपोत बुझाउने कार्य सुरुवात भएको, सामुदायिक विद्यालयमा डिजिटल हाजिरी मेसिन जडान गरिएको, वडाको आधारभूत स्वास्थ्य केन्द्रमा एच.ए.सहितको सेवा सुचारू गरिएको, जग्गाधनी लालपुर्जा वितरण सुरुवात र शुद्ध ऐलानी जग्गा नयाँ नापी गर्ने प्रक्रिया अगाडि बढाएको विवरणहरु प्रस्तुत गरिएको थियो । अर्धवार्षिक समीक्षा कार्यक्रमका अध्यक्ष वडाध्यक्ष कार्कीले वडावासीको प्रश्न तथा सुझावहरु संकलन गरी जवाफ दिएका थिए ।

नगरपालिकाका सूचना संयोजक सन्तोष राईले सञ्चालन गरेकाे कार्यक्रममा वडा सदस्यहरू बाबुराम चौधरी, शान्ता योङहाङ, शिवकुमारी वि.क., पूर्व वडा सदस्यहरु खेमराज गौतम, सिर्जना भट्टराई, मुना गजमेरको उपस्थिति रहेको थियो । यस्तै सो सार्वजानिक सुनुवाई कार्यक्रममा नेकपा एमालेका तर्फबाट पार्टी प्रतिनिधि वडा कमिटी सचिव पुष्प बहादुर पौडेल, नेपाली कांग्रेसबाट प्रतिनिधि वडा सभापति टिकाराम खड्का, राप्रपाबाट विरबहादुर कार्की, बुद्ध माविबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर खड्का, दुर्गा आधारभूत विद्यालयबाट टिकाराम काफ्ले, मिलन आधारभूत विद्यालयबाट कैलु लुनिया लगायतको उपस्थिति रहेको थियो ।