फागुन -२९ गते
पथरी समाचारदाता ।

माेरङकाे पथरी शनिश्चरे- १मा रहेको पथरी बहुमुखी क्याम्पसका विद्यार्थीले नगरप्रमुख मोहनप्रसाद तुम्बापोसमक्ष उनकै कार्यकक्षमा विद्यार्थीका समस्यामा आधारित १० बुँदे मागपत्र बुझाएको छ । पथरी बहुमुखी क्याम्पस पथरी शनिश्चरे नगरपालिका वडा नं. १ स्थित एकमात्र डिग्री क्याम्पस हो । क्याम्पसमा अध्ययनरत विद्यार्थीमाझ तिनको बृहत्तर हकहित र अधिकार प्रत्याभूतिका लागि क्रियाशील संगठन अनेरास्ववियुले यो माग गरेको हो । मागपत्रमा उल्लेखित विषयवस्तुहरू कार्यान्वयनमा आए क्याम्पस हाताभित्रको समग्र व्यवस्थापन सहित पठनपाठन नियमित र गुणस्तरीय हुने विश्वास लिएर नगरप्रमुखसमक्ष यो मागपत्र बुझाएको क्याम्पस इकाइँ कमिटी अध्यक्ष रोशन कटुवाल हस्ताक्षरित सो पत्रमा भनिएको छ ।

मागपत्रले नगर शिक्षाको केन्द्र बन्दै आएकोमा गर्व गर्दै उच्च शिक्षा आर्जन गर्न छिमेकी पालिकाहरू उर्लाबारी, लेटाङ, कानेपोखरी र सुनवर्षीबाट आउने सयौँ विद्यार्थीहरू सहित नगरकै दूरदराजबाट आउने यी विद्यार्थीको दैनिक आवातजावतको समस्यालाई ध्यानमा राख्दै क्याम्पस–बस व्यवस्थापन आवश्यक भएको विषय माग गरेको छ भने कमजोर आयआम्दानी भएका अभिभावकका छोराछोरी लक्षित विद्यार्थीको हकमा पूर्ण निःशुल्क र अन्य विद्यार्थीको हकमा सहुलियत शुल्कमा पढ्ने वातावरण मिलाउन जोडदार माग गरेको छ । विद्यार्थी नेता सोनिया तामाङले बाचन गरेकी उक्त मागपत्रमा क्याम्पस सञ्चालनकालदेखि अहिलेसम्म वितरण हुँदै आएको छात्तवृत्ति व्यवस्थापन र वितरण प्रणालीलाई पारदर्शी बनाउन माग गरेको छ विज्ञान संकाय र त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायतर्फ बीबीएलगायत पठनपाठन कार्यान्वयनमा ल्याउन माग गरेको छ । स्ववियु निर्वाचनमा प्रमुख शक्तिको रूपमा उभिएको अखिलेले क्याम्पसमा पूर्णकालीन, आंशिककालीन र कर्मचारीलाई समयसमयमा पारिश्रमिक उपलब्ध गराउन नसक्दा उब्जेको समस्याबाट विद्यार्थीमा परेको प्रत्यक्ष- परोक्ष मारको पक्षलाई ध्यानमा राख्दै स्रोतको पहिचान, खोजविन र व्यवस्थापन गर्न माग गरेको छ ।
उच्चशिक्षा उत्तीर्णपछि जागिर पेशाका लागि क्याम्पसबाहिर महंगो शुल्क तिरेर तालिम/प्रशिक्षण लिनुपर्ने अवस्था अन्त्यका लागि लोकसेवालगायत रोजगारमुखी कार्यक्षमता वृद्धिका लागि अभिमुखी कार्यक्रम सञ्चालनमा ल्याइनुपर्ने आवश्यकता औंल्याउँदै मागपत्रले स्नातक तहका लागि ४५ मिनेट र स्नातकोत्तर तहका लागि ५५ मिनेटको कक्षागत पठनपाठन यथाशीघ्र अनिवार्य गर्नुपर्ने विषयलाई मुख्य मुद्दा बनाएको छ । पाखुराका वलमा चल्दै आएको कतिपय थीतिविरुद्ध खह्रो उभिने संकल्प सहित क्याम्पस परिसरमा छात्रामैत्री शौचालय, अशक्तमैत्री कक्षाकोठा र मापदण्डअनुसारको खेलमैदान निर्माण अनिवार्य गर्न नगर प्रमुखको गम्भीर ध्यानाकर्षण गराएको छ भने नियमिततर्फकै पढाइँमा औसत कमजोर विद्यार्थी लक्षित निः शुल्क अतिरिक्त कोचिङ/ट्युशन कक्षा सञ्चालन अनिवार्य भएको विषय मागको रूपमा राखेको छ ।
मागपत्र बुझ्नुहुँदै नगरप्रमुख तुम्बापोले आधारभूत तहका विद्यार्थीका समस्यालाई मसिनो ढंगले बुझ्न र उठान सक्ने अनेरोस्ववियुको यो मागप्रति आफू एकदमै खुशी रहेको जनाउँदै संस्थागत ढंगले समस्या समाधानका लागि पहल लिन प्रतिबद्धता राखे । यस्ता जायज माग र मुद्दाको उठान गर्ने विद्यार्थी संगठन र यसको नेतृत्व स्ववियु निर्वाचनमार्फत आउनुपर्ने अपेक्षा राखेको अर्थमा जीतको शुभकामना दिदै उनले विगतदेखि नै क्याम्पस सञ्चालन र व्यवस्थापनका लागि आफूहरूले नबिराइकन सहयोग गरेको स्मरण गर्नु गराए । नगरप्रमुखसमक्ष मागपत्र बुझाउँने कार्यक्रममा क्याम्पस इकाइँ कमिटी अध्यक्ष रोशन कटुवाल, उज्ज्वल लकान्द्री, सौरभ पौडेल, सोनिया तामाङ, छिरिङ लामा शेर्पा, अरुण राई, महेश कार्की, जीतबहादुर खड्का, प्रवीन पोखरेल, एलिस खड्का, अनिष अधिकारी, सरोज अधिकारी, अनिश उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।