पथरी समाचारदाता,
चैत ३०गते

मोरङको पथरीशनिश्चरेमा स्थापित श्री पञ्चायत नमुना माध्यमिक विद्यालयको आयोजनामा नेपालकै उत्कृष्ट मोटिभेसनल स्पीकर सौनक भट्टद्वारा विशेष उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले गमलाको फुलमा पानी हालेर उद्घाटन गरेका हुन् ।
पथरीको सिनभिलेज पार्टी प्यालेसमा आयोजित सो कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । भट्टद्वारा सो कार्यक्रममा विद्यार्थीहरु माझ प्राक्टिल र प्रश्नोत्तर कार्यक्रम पनि भएको थियो । विद्यार्थीहरुमा सकारात्मक सोच, भावनात्मक व्यवहार, मानसिक स्वास्थ्य र पठनपाठनमा थप उर्जा प्रदान गर्ने तथा आम अभिभावकवर्गमा आफ्ना नानीबाबुहरुप्रति अभिभावकीय दायित्व वहन गर्ने विषयमा सो कार्यक्रम आयोजना गरिएको सहायक प्राचार्य बुद्धी अधिकारीले जानकारी दिए। कार्यक्रममा जेहेन्दार तथा प्रतिभाशाली विद्यार्थी प्रविण विश्वकर्मा र सिभिल इन्जिनियर समूहका अरुण लिम्बुलाई सम्मान गरिएको थियो । आगामी बैशाख २६ गतेदेखि संचालन हुन गैरहेको कक्षा –१२ को परीक्षालाई मध्यजर गरी विद्यार्थीप्रति स्वअध्ययनका लागि उत्प्रेरित गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको भन्दै विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।