बैशाष ।२।
बराहक्षेत्र

बराहक्षेत्रमा लामो समयदेखि कविता लेखनमामा समर्पित कवि प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो मनमा …..” हिजो एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
स्वर्णिम साहित्य समाज, बराहक्षेत्र -३ ले एक कार्यक्रमको आयोजना गर्दै सो गीतको सार्वजनिक गरेको हो । कार्यक्रमका प्रमुखअतिथि बराहक्षेत्र -३ का वडाअध्यक्ष राजदीप लामाले सो गीतलाई “प्ले” गरेर सार्वजनिक गरेका हुन् ।

भने सोही समयमा रामबाबु राई अफिसियल युटयुब च्यानलबाट पनि सो गीतको सार्वजनिक गरिएको थियो । बराहक्षेत्र नगरपालिकामा रहेर निरन्त कलमको साधना गरिरहेका प्रकाश दिप्साली राईको सो गीतमा सुगम सङ्गीतका धरोहर प्रख्यात गायक स्वरुपराज आचार्यले सुमधुर स्वर भरेका छन् । सो गीतमा गायक तथा सङ्गीतकार रामबाबु राईले सङ्गीत भरेका छन् । यस्तै मिक्सिङ एरेन्ज यो समयका प्रख्यात एरेन्जर राजु कार्कीले गरेका छन् ।
किङ्स स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा सुरेश राईले रेकर्डिङको भुमिका निर्वाह गरेका छन् । जेस्केलो क्रिएसनले स्टुडियो भिडियो तयार पारेको छ । सो गीत सार्वजनिक पश्चात् आफ्नो कुरा राख्दै निक्कै भावुक देखिएका गीतकार दिप्सालीले सपनाहरु देख्दै जानु पर्ने रहेछ मरिएनछ भने पूरा हुँदै जानेरहेछ । आज मैले कुनै दिन देखेको सपना पूरा भएको छ । आफू काममा विश्वास गर्ने भएकाले मलाई सफलता असफलताले आजसम्म फरक नपारेको बताए । उनले थपे “म सिर्जनामा विश्वास राख्ने मान्छे हुँ, यो समाज र सिर्जनाले दिएको जिम्मेवारी पूरा गर्न म र मेरो सस्था सदा कटिबद्ध छ । स्वर्णिम साहित्य समाजको अक्षयकोष अभियानमा जोडिएर साथ दिन सबैलाई अनुरोध गर्दछु । हामी बराहक्षेत्रको नामलाई उचाइमा पुराउन चाहन्छौं ।” यस्तै सो गीतलाई गायक निरज राईले सुमधुर स्वरमा प्रस्तुत पनि गरे ।
उनले दिप्सालीको गीत लेखनले आफू प्रभावित भएको समेत बताए । सोही अवसरमा स्थानीय रचना वाचनको कार्यक्रम राखिएको थियो । सो कार्यक्रममा दर्जन बढी सर्जकले आफ्नो सिर्जना प्रस्तुत गरे । प्रकृती राई, शारदा निरौला “शारु”, सुर्य तामाङ, रविन्द्र केदेम, सविता फागो, बिमला श्रेष्ठ , वर्षा भण्डारी , दीपा मग्राती , सूर्य बस्नेत, छबिलाल चौधरी, लक्ष्मण कटुवाल लगायतले आफ्नो रचना प्रस्तुत गरे । यस्तै कार्यक्रमका विशेष अतिथि बेलायतबाट आएका पर्यावरणीय कवि बिजय हितानले मनसुन जस्ता शक्तिशाली कविता सुनाए भने कार्यक्रमका विशेष कवि दिलिप बान्तावाले “नयाँ बर्ष” र “रगत माग्ने देशको नाममा” जस्ता शक्तिशाली कविता प्रस्तुत गरे । सो कार्यक्रममा आफ्नो सदस्य मनोज विष्ट चक्रघट्टी जेसिसको कला साहित्य विभाग प्रमुखमा नियुक्त भएकोमा गौरवान्वित महसुस गर्दै बधाई ज्ञापन समेत गरिएको थियो । सभाध्यक्ष र प्रमुख अतिथिले अबिर टिकाले विष्टलाई सम्मान गरेका थिए । स्थानीय रचनाहरु माथी बोल्दै वक्ता प्राध्यापक इन्दिरा महर्षीले स्वर्णिम साहित्य समाजले आजैबाट स्वर्णिम भविष्यको सङ्केत गरेको बताइन् ।
“आजका यी साना नानीहरुलाई यो समाजले स्थान दिनु भनेको भोलिको यो समाज हाक्ने जनशक्ति जन्माउनु हो । आजको रचनाहरुप्रति मेरो सम्मान छ ।” महर्षीले भनिन् । यस्तै कार्यक्रमका प्रमुखअतिथि बराहक्षेत्र -३ का वडाअध्यक्ष राजदीप लामाले स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३ को त हो नै अझ यो नगरपालिकाको अमुल्य सम्पत्ति रहेको बताए । यो सम्पत्तिलाई अझ धनी बनाउन यो वडा सदा लागिपर्ने बताए । कार्यक्रममा कल्याण विष्ट, पुर्व वडाध्यक्ष रुद्र दाहाल र बिजय हितानले शुभकामना मन्तव्य राखेका थिए । समाजका सचिव लक्ष्मण कटुवालले सन्चाल गरेको सो कार्यक्रममा स्वागत मन्तव्य समाजका सहसचिव सविता फागोले राखेकी थिइन् भने सभाअध्यक्ष समाजका उपाध्यक्ष शरण लिम्बु रहेका थिए ।