कानेपोखरी, जेठ २६ ।
मोरङकाे कानेपोखरीमा धिमाल जातीय विकास केन्द्र, कानेपोखरीको आयोजनामा धिमाल सांस्कृतिक तथा फुड फेस्टिवल महोत्सव बिहिवार ऐतिहासिक पोखरी परिसरमा सम्पन्न भएको छ ।
धिमाल जातिको मौलिक खाना संस्कृतिको प्रचारप्रसार र प्रर्वद्धन गर्ने उद्देश्यका साथ धिमाल सांस्कृतिक तथा फुड फेस्टिवल धिमाल जातिको परिकार चुदुर(घुङ्गी), ताइराम(झिङ्गे माछा), पायाको तेरेङ(सुगुँरको आन्द्रा), चिचिरी उम, पायाको बिया(सुगुरको मासु), तोले(बगिया) लगायतका स्टलहरु राखिएको थियो ।
सोही अवसरमा कानिवेराङ (दुईवटा आँखा गुमेको महिला योद्धा धिमालको मुर्ति र मुखमा माछा च्यापेको काने बकुल्ला)को मुर्ती समेत अनावरण गरिएको आयोजक समिति अध्यक्ष प्रकाश धिमालले बताए । कोशी प्रदेश सांसद बिध्या चाम्लिङ राई, आयोजक समिति अध्यक्ष प्रकाश धिमाल, अन्य पदाधिकारी लगायतले संयुक्त रुपमा अनावरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोशी प्रदेश सांसद बिध्या चाम्लिङ राईले धिमाल जातिको आफ्नो मौलिक खानालाई व्यवसायिक रुपमा लानुपर्ने सुझाव दिइन । उनले भनिन, ‘धिमाल जातिहरुको परिकार आज ब्राण्डको रुपमा स्थापना भइसकेको छ । अरु जातीहरुले पनि आफ्नो मौलिक खानालाई व्यवसायिक रुपमा अघि बढाउनुपर्छ’ । कानेपोखरी नामसँग धिमाल जातिहरुको पहिचान जोडिए पनि धिमाल जातिहरु राजनीति, सामाजिक र आर्थिक हिसाबले पछि परिरहेको र यसलाई उन्मुख गराउन स्व:अग्रसर रहन सुभाव दिइन ।
एक औपचारिक कार्यक्रमका साथ सम्पन्न महोत्सवमा आयोजक समितिका अध्यक्ष प्रकाश धिमालको अध्यक्षता, कोशी प्रदेश सांसद बिध्या चाम्लिङ राईको प्रमुख अथितियता रहेको थियो । सो अवसरमा कानेपोखरी उपाध्यक्ष भोलाप्रसाद अधिकारी, धिमाल जातिय विकास केन्दको केन्द्रिय उपाध्यक्ष केदार धिमाल, महासचिव मातृका धिमाल, भोजविर माझी, रोमान्सी धिमाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा धिमाल जातिको मौलिक नाच प्रस्तुत गरेका थिए भने राष्ट्रिय र स्थानिय कलाकारहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।