असार-२ गते,
पथरी समाचारदाता ।

मोरङको पथरी शनिश्चरे वडा नं. १ स्थित पथरी बजारलाई स्मार्ट सिटी (सहर)को रुपमा बिकास गर्नुपर्ने सुझाव पेस भएको छ ।
बिहिबार वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा प्रगति विवरण प्रस्तुत कार्यक्रममा वडा बासीहरुले सो सुझाव दिएका हुन् । पथरी बजार नगरपालिकाको सदरमुकाम हो । वडाको ९५ प्रतिशतभन्दा बढी सडक कालोपत्रे भइसकेको छ भने खानेपानी, विद्युतको अभाव छैन । वडामा क्याम्पस तथा सरकारी र निजी शैक्षिक संस्थाहरु प्रशस्त रहेका छन् । पथरी बजारमा सफा, सुग्घर राख्न, सुरक्षा व्यवस्था अझ मजबुँद बनाउन र बिभिन्न सुगन्धित फुलहरुको गार्डेनहरु निर्माण गर्दै स्मार्ट सिटीको रुपमा विकास गर्ने बेला भएको सुझाव पेस भएको हो । ट्राफिक जाम हुनेगरी बजारको सडकमै लाग्ने हाटबजारलाई व्यवस्थित गरेर स्वदेशी उत्पादनको लत्ता कपडा र कृषि बजार स्थापित गर्नुपर्ने सुझाव दिएका थिए ।
बजार भएर बग्ने पथरी पैनी सफा हुनुपर्ने र बजार भित्र पालिदै आएको पशुपंक्षि हटाइनु पर्ने सुझाव पुनः पेश भएको छ । नयाँ जनप्रतिनिधिहरु आएपछि लोकल बस स्टेन सारेर मुख्य सडक क्लियर गरेको, बजारमा ट्राफिक जाम हटाउने प्रयास गरेको प्रति प्रशंसा समेत भएको थियो । कार्यक्रममा १ नं. वडा अध्यक्ष भीम राईले एक वर्षको भौतिक तथा सामाजिक विकासको प्रगति विवरण प्रस्तुत गरेका थिए। वडाबासीहरुले उठाएको जिज्ञासाको अध्यक्ष राई, कार्यपालिका सदस्य वीरध्वज शिवा र वडा सचिव इन्दु सुवेदीले जवाफ दिएका थिए ।
कार्यक्रममा अर्जुन जम्नेली राई, भूमिप्रसाद पाठक प्रदिपकुमार राई, रोशन हाङबाङ, मोहन श्रेष्ठ, हेमभक्त तमु, चन्द्रबहादुर खड्का लगायतले जिज्ञासा राखेका थिए । नगरकी उपप्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्यहरु सुरेश कार्की, पूर्ण कार्की, आरती विश्वकर्मा सहभागि रहेका थिए।