पथरी शनिश्चरे, असार १२ गते

माेरङ्गकाे पथरी शनिश्चरे नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी १३ औं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटका बारेमा जानकारी दिएको हो । असार १० गते भएको नगरसभाबाट ७१ करोड १७ लाख ४१ हजार ८ सय रुपैयाँ बजेट सर्वसम्मत रुपमा पारित भएको पास गरेको नगरपालिकाका प्रवक्ता एवंं वडा नं. ८ का अध्यक्ष नवीन कार्कीले जानकारी गराए । बजेट सार्वजनिक कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोले यो आर्थिक वर्षमा नगरको स्थानीय स्रोत ४ करोड १७ लाख संकलन भएको जानकारी दिए ।
प्रमुख तुम्बापोले विश्वव्यापी आर्थिक संकटको कारण सम्झौता भइसकेको र सम्पन्न भएको योजनाहरुको बजेट समेत संघ सरकारले काट्नुको साथै स्वास्थ्य कर्मचारी र शिक्षकको तलव समयमा पठाउन नसक्दा समस्या भइरहेको जानकारी दिए । बजेटमा आवासविहिन अति विपन्न परिवारलाई नगरपालिकाले दुई कोठे घर बनाइदिने कार्यक्रम रहेको नगर प्रमुख तुम्बापोले बताए । कार्यक्रममा नगरको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उपसचिव युवा तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, वडा नं. २ का वडाध्यक्ष नैना राई लगायत शाखाका कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।