पथरी शनिश्चरे, असार १९ ।

नेकपा (एमाले), पथरी शनिश्चरे नगरपालिका १ नं. वडा कमिटीले सोमबार वडाको सुप्रशिद्ध शिद्धेश्वर शिवालय मन्दिर परिसरमा आयोजना गरेको दोस्रो अधिवेशनले नेतृत्व निर्माणसम्बन्धी हुने चुनावी कार्यक्रमलाई आउँदो सोमबार हप्तासम्मका लागि सारेको छ । वडाध्यक्ष प्रदीपकुमार राईको अध्यक्षता र सचिव सुनील खत्रीको सञ्चालनमा सम्पन्न अधिवेशनलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवं मोरङ ३ नं. संघीय क्षेत्र इञ्चार्ज नैनकला ओझाले पानसमा दीप प्रज्ज्वल गरेर अधिवेशनको समुद्घाटन गर्नुभएको थियो ।

पछिल्लो समययता चुनावताका उम्मेदवारी नपाए, चुनाव लड्न पार्टीले फलानालाई चाहिँ टीकट नदिए, कुनै खास प्रकृतिको अवसर नपाए पार्टी परित्यागको घोषणा गर्ने गैरजिम्मेवारपन पार्टी कमिटीको अमुक पदलाई, खासगरि सदस्य पदलाई पानी सदस्य भन्ने गरेको सुनिन्छ, यो कम्युनिष्ट निष्ठा, आचरण, कार्यशैली र जिम्मेवार अभिव्यक्ति होइन, कम्युनिष्ट पार्टी एमालेको सदस्य आफैंमा जिम्मेवारी हो, आजीवन पद हो, यसप्रति गर्व गर्न सक्नुपर्छ शुभकामना सम्बोधन क्रममा जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले भन्नुभयो ।
पार्टी केन्द्रीय सदस्य युवराज बास्कोटा, केन्द्रीय वन तथा वातावरण विभाग सदस्य अर्जुन क्षेत्री, कोशी प्रदेश कमिटी सदस्य देवराज भण्डारी, मोहनप्रसाद तुम्बापो, दिलिपकुमार राई, विजय डाँगी, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, सदस्य भगतचन्द्र थपलिया, बाबुराम ऐङदेन लिम्बू, बीरध्वज शिवा, दुर्गादेवी दंगाल सुवेदी, यमुना विष्ट, नगर अध्यक्ष रमेश दाहाल, सचिव भीमकुमार राई, पुराना कम्युनिष्ट नेता वसन्तकुमारी राईलगायत उपलब्ध नेतृत्व सहभागी रहेको अधिवेशनले अधिवेशनसम्बन्धी अधिकांश काम कारबाहीहरू सम्पन्न गरेको भए पनि समयाभावका कारण नेतृत्व निर्माणको प्रक्रिया टुंगो लाग्न नसकेको नेता बीरध्वज शिवाले भन्नुभयो । वर्षायामको बेला, बिहानैदेखि झरीबादल र लगातार पानी परेको थियो, अपेक्षित सहभागिता यसकारण पनि समयमै हुन सकेन, समयमै उपस्थित भएको सबै काम कारबाही आजै टुंगो लाग्ने थियो उहाँले थप्नुभयो ।
देवराज भण्डारी, बीरध्वज शिवा, दुर्गादेवी दंगाल सुवेदी, यमुना विष्ट र कुलमणि गुरुङसहित ५ सदस्यीय अध्यक्षमण्डलको अध्यक्षमा नेता भण्डारी हलबाटै प्रस्तावित र अनुमोदित हुनुहुन्थ्यो । अध्यक्षमण्डलले अन्तरपार्टी लोकतन्त्रको भरपूर अवलम्बन गर्नुका अलाबा अध्यक्ष पदका आकांक्षीत्रयलाई अधिवेशन कक्षमा उभ्याएर ककस गराएको थियो । ककसमा नेताले पाएको ३ मिनेटभित्र आफूले यो उम्मेदवारी किन दिएको ? आज नेकपा (एमाले) निर्माणको प्रश्नमा यसको राजनीतिक–बैचारिक कामको योजना के हो ? समुदायमा आधारित संगठन निर्माण र संगठनात्मक जिम्मेवारी पूरा गर्न के गर्नुहुनेछ ? जस्ता विषयोपर प्रस्तुति राख्नुपर्ने हुन्थ्यो । विधानतः नगरपालिका मातहतमा ३१ सदस्यीय वडा कमिटी हुनुपर्ने व्यवस्था कार्यान्वयनको अनिवार्यताभित्र वडाभित्रका ५ वटा टोलबाट ५ जनाका दरले कमिटी संख्यामा समावेश गर्ने र रिक्त रहेको ६ पदमा कमिटीको पहिलो बैठकबाट छुटेको भूगोल र समुदायबाट प्रतिनिधित्व गराउने सहमति हलबाट जुटेसँगै नेतृत्व निर्माणको प्रक्रिया आरम्भ भएको अध्यक्षमण्डलका अर्का सदस्य कुलमणि गुरुङले जनाउनुभयो ।
अत्यन्तै लोकतान्त्रिक मूल्यमान्यता र विधिप्रक्रिया अवलम्बन गर्दै सम्पन्न अधिवेशनले अध्यक्ष र उपाध्यक्षबाहेकका पदमा सर्वसम्मत नेतृत्व निर्वाचित गरेको उहाँले जोड्नुभयो । निवर्तमान अध्यक्ष प्रदीपकुमार राई र सचिव सुनील खत्री अध्यक्ष पदको दौडमा रहनुभएको छ भने देवी राई, रोमान्सी धिमाल र गोपाल तामाङ उपाध्यक्ष पदको आकांक्षीको रूपमा मैदानमा देखिनुभएको छ ।
सर्वसम्मत निर्वाचित हुनुहुनेमा सचिव डिल्लीप्रसाद पौडेल, उपसचिव दुर्गाप्रसाद अधिकारी र मिना कार्की सदस्यहरूमा क्रमशः सावित्रा खड्का, जानुका ढकाल, टेकबहादुर बस्नेत, लोकनाथ दुलाल, अमित लिम्बू, लीला गौतम, शोभाकुमारी शर्मा, लालबहादुर तामाङ, जयबहादुर तामाङ, काजी राई र शिवबहादुर लिम्बू निर्वाचित भइसकेको हुनुहुन्छ । सोमबारका लागि सारिएको नेतृत्व निर्माणसम्बन्धीको चुनाव सम्पन्न गर्न गराउनका लागि पार्टी मोरङ जिल्ला कमिटी सदस्य भगतचन्द्र थपलियाको संयोजकत्वमा भवानीप्रसाद दुलाल र टीकाप्रसाद दंगाल रहनुभएको निर्वाचन आयोग गठन गरिएको अध्यक्षमण्डलको संयोजक देवराज भण्डारीले कार्यक्रम स्थगन भएको जानकारीसहित अध्यक्षमण्डलको यो पछिल्लो निर्णयबारे जानकारी दिनुभयो । आज अधिवेशनको तयारीस्वरुप नवीकृत र अद्यावधिक अभिलेखीकृत संगठित सदस्यले मात्र सोमबार हुने निर्वाचनमा सामेल हुने र भोट हाल्न पाउने व्यवस्था रहेको व्यहोरालाई उहाँले दोहोराउँदै थप्नुभयो ।