पथरी समाचारदाता
असार-१९ गते

पूर्वोत्तर मोरङको पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत नमुना माध्यमिक विद्यालयले मङ्गलबार शिक्षक तथा कर्मचारीका लागि बिदाइ तथा सम्मान कार्यक्रम गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष युवराज बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा सेवानिवृत्त हुने, सरुवा हुने र पदोन्नतिसहित स्थानान्तरण हुने शिक्षक तथा कर्मचारीलाई सम्मानसहित बिदाइ गरिएको हो । पथरीशनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव शालिग्राम काफ्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शिक्षकहरू नगेन्द्र मिश्र, प्रमिला न्यौपाने तिवारी, दुर्गादेवी काफ्लेलगायतलाई अबिरमाला लगाई खादा, दोसल्ला, सम्मानपत्र र मायाको चिनोसहित बिदाइ गरिएको विद्यालयका सूचना तथा सञ्चार संयोजक केशव निरौलाले जानकारी दिए ।
सोही अवसरमा सेवानिवृत्त कर्मचारी वैद्यनाथ लुइँटेललाई कदरपत्रका साथ प्रोत्साहन रकम पचास हजार रुपैयाँसमेत प्रदान गरिएको थियो । विद्यालयका सहायक प्राचार्य बुद्धिनाथ अधिकारीले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार आइतकुमारी तुम्बापो, सल्लाहकारहरू कृष्णप्रसाद तिम्सिना, खगेन्द्र नेपाल, विव्यस सदस्यहरू गोमा दाहाल निरौला, प्रमिशा धिमाल, आमा समूहकी अध्यक्ष निर्मला भट्टराईलगायतको उपस्थिति थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकी र सहायक प्राचार्य मोहन शर्माले संयुक्तरूपमा गरेका थिए।