आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि देशैभर फैलिरहेको छ। कतियय विद्यालयहरुका सबैजसो बालबालिका, शिक्षक, अफिसका कर्मचारी, बैंक तथा वित्तिय संस्थामा काम गर्ने प्राय मानिसहरुमा पाइएको छ। विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ।
धेरैजसो बालबालिकाहरुमा महामारीकै अवस्था पनि छ। यसको मतलव यो होइनकी बालबालिकामा मात्र हुन्छ, जुनसकै उमेर समूह, महिला-पुरुष सबै उमेर समूहका मानिसमा हुन्छ।
एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धरैजनामा हुन सक्छ। पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ। हरेक वर्ष मौषम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ। वर्षायाममा यसको किटाणु सक्रिय हुने गर्दछ। ब्याक्टेरिया, भाइरल र एलर्जी यो रोग हुने मुख्य कारणहरु हुन्।
किन पाक्छ आँखा ?
आँखा पाक्ने रोग एक किसिमको सरुवा रोग हो । जसकारण यो एक ब्यक्तिबाट अर्काेमा सर्ने पनि हुन्छ । आफूबाहेकका अन्य ब्यक्तिले प्रयोग गरेको चश्मा तथा लेन्स प्रयोग गर्दा पनि यो एक ब्यक्तिबाट अर्काेमा सर्ने हुन्छ ।
यस्तै, आँखाको सरसफाइमा हुने कमीका कारण पनि यो रोग निम्तिन सक्छ । डाक्टरको सल्लाहबिना नै विभिन्न किसिमका कस्मेटिक लेन्सहरुको प्रयोग र ब्याटेरिया तथा भाइरसको संक्रमणको कारण पनि आँखा पाक्ने रोग लाग्दछ ।
आँखा पाक्ने रोगका लक्षण
- आँखा रातो तथा गुलाबी देखिनु, चिलाउनु र पानी बग्नु
- एउटा मात्र वा दुवै आँखा प्रभावित हुनु
- हल्का दुख्नु वा आँखामा धुलो, कसिंगर परेजस्तो महसुस हुनु
- आँखाबाट पहेंलो, सेतो वा हरियो रंगको पदार्थ बग्नु
- निदाएर उठ्दा च्याप्च्याप् लाग्ने पदार्थले आँखाका परेला एकआपसमा टाँस्सिनु
- प्रारम्भिक चरणमा देख्ने शक्तिमा खासै फरक नहुनु ।
रोकथाम र उपचार
- एलर्जीको कारण हो भने चिकित्सकको सल्लाहमा लगाउने र खाने औषधी प्रयोग गर्नुपर्छ ।
- ब्याक्टेरियाकाे कारणले हो भने एन्टावाएटिक औषधी लगाउने गर्नुपर्छ ।
- सबैभन्दा धेरै आँखा पाक्ने समस्या भाइरसको कारणले हुने गर्छ । र एक दुई वटा विशेष कम परिस्थितीमा बाहेक अधिकांश केशमा भाइरसको कारणले हुनेलाई कुनै औषधी प्रयोग गर्नु पर्दैन ।
- आँखा पाकेको व्यक्तिले वा रुघाखोकी लागेको व्यक्तिले आफ्नो सामान अरुसँग सेयर गर्नु हुँदैन ।
- बारम्बार साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । हात र औला आँखामा लैजानु हुँदैन ।
- दिनहुँ नुहाउने, विरामीले दिनहुँ कपडा फेर्ने, सिरानी दिनहुँ फेर्ने गर्नुपर्छ ।
- आँखा पाक्दा कन्ट्याक लेन्स लगाउनु हुँदैन । र हातले छुने सबै सामान नियमित सफा राख्नुपर्छ ।
- आँखा निकै दुख्न थाल्यो र धेरै नै सुनिन थाल्यो भने तुरुन्त आँखाको डाक्टरलाई देखाउनुपर्छ ।