पथरी समाचारदाता ,
साउन २४ गते

नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिका पूर्व महासचिव आङ्काजी शेर्पाले सबैभन्दा पहिले कोशी प्रदेश सभाले ‘कोशी’ नाम तत्काल खारेज गरी पहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गरेका छन्।
आज बुधबार मोरङको पथरीशनिश्चरे-१ काे पुर्व स्टेण्ड छेउमा साकेला स्थलमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद पथरी शनिश्चरे द्वारा २९ औ विश्व आदिबासी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्। आदिवासी जनजातिहरुको अधिकारका लागि निरन्तर लागिरहेका अभियान्ता शेर्पाले कोशी प्रदेशको पुनः नामाकरण पहिचानको आधारमा हुनु पर्ने औल्याउँदै आफ्नो हक अधिकार स्थापित गर्न भविष्यमा आवश्यक परे सशक्त आन्दोलन गर्ने पनि तयार हुनुपर्ने बताए। सोहि अवसरमा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले नगरपालिकाभित्रका विभिन्न जातजातिका विविध समुदायको संस्कृतिको संरक्षण तथा संवर्द्धनको लागि पालिकाका तर्फबाट सधैं नै सहयोग भैरहने विश्वास दिलाए।
साथै, उनले आगामी दिनहरुमा आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि जारी रहेको लडाईमा निरन्तर सफलताको मिलोस् भन्दै शुभ कामना व्यक्त गरे। नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिका पूर्व महासचिव, , आङ्काजी शेर्पा , किराँत राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राई लगायतले मन्तव्य राख्नु भएको समारोह नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिको अध्यक्ष देबेन्द्र वनेमको संयोजकत्वमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा राई, लिम्बू, मगर, गुरुङ, धिमाल, भुजेल, राजवंशी, थारु, नेवार, माझी, सन्थाल, उराउ, सुनुवार, याक्खा, शेर्पा, दनुवार लगायत १८ भन्दा बढीको सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो। सांस्कृतिक झाँकी प्रस्तुत अघि आदिबासी जनजाति अधिकार र पहिचानसम्बन्धी प्लेकार्ड बोकेर पथरी बजार परिक्रमा गरिएको थियो।
संयुक्त राष्ट्र संघको महासभाले सन १९९३ लाई विश्व आदिबासी दशकको रुपमा मनाउने निर्णय भएदेखि अगष्ट ९ मा विश्वभरका आदिबासी जनजातिहरुले दिवस मनाउदै आएको छ । कार्यक्रमका पथरी शनिश्चरे वडा नं १,२ र ८ का वडाध्यक्षहरू क्रमशः भीम कुमार राई, नवीन जंग कार्की, पहिलो संविधान सभाका सदस्य चण्डी प्रसाद राई, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी प्रसाद भण्डारी, लगायतको उपस्थिति रहेको थियो।