असोज।६। कानेपोखरी।

मोरङको कानेपोखरी–७ बरगाछिमा रहेकाे जनमुखी बचत तथा ऋण सहकारी संस्था लि.को ३१ औं साधारणसभा शनिवार आज असाेज ६ गते जनकल्याण माविकाे प्राङ्गणमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नामले कानेपाेखरी गाउँपालिकाले पालिकाकाे सहकारी ऐन असाेज १९ गते पारित गर्ने निर्णय भएको समेत बताउनु भएको छ ।

उहाँले ग्रामीण क्षेत्रमा बैंकको अभाव टारेका सहकारीहरूले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने खालका कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । सहकारी संस्थाले सदस्यलाई बित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेर ऋणको सदुपयोगमा चेतना वृद्धि गर्नुपर्ने बताउँदै अध्यक्ष इङ्नामले सहकारीहरूले आफ्नो लगानी कृषि उत्पादनमा लगाउनु पर्ने उल्लेख गर्नुभयो ।

ऋणको सदुपयोग र अनुगमन गर्नु पर्नेमा जाेडदिँदै अध्यक्ष इङ्नामले ऋणलाई सदुपयोग गरि आयआर्जनमा जाेड्न आग्रह गर्नुभयो । कानेपोखरी ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले सहकारीले गरिवी निवारणमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्नुभयो । संस्थाले गरेका कामकाे प्रशंसा गर्दै उहाँले समुदायलाई संस्थासँग जाेड्न नयाँ खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । जिल्ला बचत तथा ऋण सहकारी संघ लि मोरङका उपाध्यक्ष सीता लामिछानेले राज्यले कानून निर्माण गर्दा समूदायमा आधारित सहकारीलाई हेरेर बनाउनु पर्ने बताउनु भयो । उहाँले ग्रामीण क्षेत्रमा ३१ वर्षसम्म समुदायमा आधारित भएर सहकारी संस्था सञ्चालन हुनु आफैमा गाैरवकाे विषय भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएकी पालिका अध्यक्ष राजमति इङ्नामले ‘पूर्व सञ्चालक सम्मान’बाट लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य यदुकुमार तिम्सिनालाई सम्मान गर्नुभयो । यस्तै ऋण कारोवारमा उत्कृष्ट हुने ललितमाया आङ्दम्बे , गणेश देउजा र बचत तर्फ उत्कृष्ट कारोवार गर्ने दुर्गामाया मैनाली र रामबहादुर माझीलाई नगद सहित पुरस्कृत गरिएको छ ।
यसैगरी शेयर तर्फ उत्कृष्ट बद्रीप्रसाद कोइराला,ऐच्छिक वचत तर्फ उत्कृष्ट विमला पौडेल र दैनिक बचतकर्ताहरू मध्ये उत्कृष्ट सुसन्ना राईलाई पुरस्कृत गरिएको छ । साधारणसभाको अवसरमा शेयर सदस्यका छोराछोरीहरू मध्ये १२ कक्षामा सर्वोत्कृष्ट अंक ल्याउने २ जनालाई जनही २/२ हजार नगद सहित पुरस्कृत गरियो । पुरस्कृत हुनेमा सौरभ दङ्गाल र आकृति रिमाल हुनुहुन्छ ।

यस्तै बाल बचतकर्ताको पुरस्कार रोनिसा दाहालले पाउनु भयो । उहाँहरूलाई विशिष्ट अतिथिहरू वडाध्यक्ष माेहनप्रसाद अधिकारी र जिल्ला बचत संघका उपाध्यक्ष सीता लामिछानेले पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो । ०४९ सालमा स्थापना भएको जनमुखी बचत तथा ऋण सहकारी संस्थामा गत असार मसान्तसम्म १ हजार १सय८९ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी १ करोड ७६ लाख ५१ हजार ५ सय रुपियाँ रहेको छ । यसैगरी ८ करोड १ लाख ९१ हजार ९७ रुपियाँ बचत निक्षेप रहेको सहकारी संस्थामा १ करोड ३३ लाख ७ हजार ६४१ रुपियाँ कोष हिसावमा रहेको छ । संस्थाले ८ करोड ९८ लाख ३४ हजार १ सय रुपियाँ ऋण लगानी गरेको छ ।
कानेपाेखरी ७ स्थित जनकल्याण माविकाे प्राङ्गणमा भएको साधारणसभामा संस्थाका अध्यक्ष सञ्जीव खड्काले चालू आर्थिक वर्षका लागि प्रस्तावित कार्ययोजना प्रस्तुत गर्नुभयो । २०७९/०८० काे प्रगति प्रतिवेदन सचिव पुष्कर बज्गाईँले प्रस्तुत गर्नुभएको साधारणसभामा संस्थाका काेषाध्यक्ष सञ्जीवकुमार गुरुङले गत आवको यथार्थ आय व्यय र चालू आवको अनुमानित आय ब्यय प्रस्तुत गर्नुभयो । लेखा तथा सुपरिवेक्षण समितिका संयाेजक मेनुका पाैडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको साधारणसभाकाे उद्घाटन सत्रकाे कार्यक्रममा उपाध्यक्ष हरि काेइराला,त्रिभुनाथ नेपालले बाेल्नु भएको थियोे । साधारणसभाकाे बन्दसत्रले प्रस्तावित कार्ययोजना र अनुमानित आय ब्ययलाई संसाेधन सहित पारित गरेको छ ।