असोज १५ ।
कानेपोखरी,

मोरङ कानेपोखरी ६ रमाइलोमा रहेको रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले डिजिटल कारोबार सुरु गरेको छ ।
साउन १ गतेदेखी विभिन्न अनलाइन सेवा सुविधा सहित डिजिटल (अनलाइन) मार्फत मोबाइल एप सेवा सुरु गरेको संस्थाका अध्यक्ष त्रिभुनाथ फुयल(सन्तोष)ले जानकारी दिए ।
सेवाग्राहीको माग र बढ्दो प्रविधिमैत्री हुँदै गरेको अवस्थालाई मध्यनजर गरि सहकारीले मोबाइल बैंकिङ्ग सूरु गरेको उनले बताए । सहकारीले ग्राहकलाई बैंकहरुको जस्तै सेवा उपलब्ध गराएको छ । ग्राहकले मोबाइल बैंकिङ्ग मार्फत पैसा पठाउन, बिलहरु तिर्न, रिचार्जहरु गर्न सक्ने बताइएको छ । मोबाइल बैंकिङ्ग प्रयोग गर्न इच्छुक सेवाग्राहीले प्लेस्टोरमा गई अङ्ग्रेजीमा रमाइलो जनएकता सर्च गरि (एप) डाउनलोड गरी रजिष्टर गर्नुपर्ने बताइएको छ । मोबाइल बैंकिङ्ग मार्फत सेवाग्राहीलाई बचत, ऋण तथा अन्य जानकारी सम्बन्धि सन्देशहरु प्रवाह हुने जनाइएको छ ।
सहकारीको एउटा खाताबाट अर्को खातामा रकम ट्रान्सफर, सहकारीप्रति कुनै सुझाव र गुनासो राख्न, सेयर बजार, विदेशी विनिमयदर तथा सुनचाँदी सम्बन्धि जानकारी, बैंक तथा फाईनान्समा पैसा ट्रान्सफर, फोन रिचार्ज, ल्यान्डलाईनको टेलिफोन, इन्टरनेट, बत्ती, खानेपानीको बिल भुक्तानी, स्मार्ट टि.भी रिचार्ज, हवाईजहाज टिकट, इसेवा वा खल्ती एपमा पैसा लोड तथा क्यूआर कोड स्क्यान लगायतका सम्पूर्ण अनलाइन सेवा गर्न मिल्नेछ । अहिले यस संस्थाले रमाइलो महोत्सवमा स्टल राखी सेयर सदस्यहरुलाई मोबाइल एपमा जोड्ने कार्य गरिरहेको छ । संस्थामा हाल १० हजार १ सय ४८ जना सेयर सदस्य रहेका छन् । तीन वटा सहकारी संस्था एकीकरण पछि रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको हो । यस संस्थाले यहीँ असोज २७ गते साधारणसभा गर्दैछ ।
