चन्द्रप्रसाद अधिकारी
इटहरी, जेठ। ४

जेष्ठ ३ गते शनिबार “हाम्रो टोल, हाम्रो प्रयास, हाम्रो स्वास्थ्य” भन्ने भावनालाई आत्मसात गर्दै इटहरी–८ स्थित हाम्रो टोल विकास संस्थाले आयोजना गरेको एकदिने नि:शुल्क आँखा जाँच तथा उपचार शिविर भव्य रूपमा सम्पन्न भएको छ।
समाज सेवाको एउटा चम्किलो उदाहरणका रूपमा स्थापित यस शिविरमा २सय८७ जना सेवाग्राही सहभागी भएका थिए। शिविरमा RUIT Foundation को प्रायोजन र रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोग मा संचालन भएकाे थियाे ।
वरिष्ठ नेत्र विशेषज्ञ डा. राजेश मेहताको टोलीले परीक्षण र परामर्श दिइरहेका बेला सेवा लिनेहरूको अनुहारमा खुसी झल्किरहेको देखिन्थ्यो। कार्यक्रममा १३ जनालाई नि:शुल्क मोतिविन्दुको शल्यक्रिया आगामी जेष्ठ ८ गते रामलाल गोल्छा आँखा अस्पताल इटहरीमा गरिने, साथै २० जना भन्दा बढीलाई सहुलियत दरमा चश्मा वितरण गरिएको संयोजक श्री जीत पौडेलले जानकारी दिनुभयो।

सयौं सेवाग्राहीलाई आँखाको नियमित परीक्षण र परामर्श पनि प्रदान गरिएको थियो। विशेष आकर्षणको रूपमा ९९ वर्षीया मनमाया गुरुङ र ८९ वर्षीय शेषराज अधिकारीको सहभागिता उल्लेखनीय रह्यो। यस्ता ज्येष्ठ नागरिकले पनि सेवा लिएको देख्दा शिविर थप प्रेरणादायी बन्न पुग्यो। शिविरको सञ्चालन प्रकाश खरेलले गरेका थिए भने सफलतामा अनेक सहयोगी हातहरू अग्रसर बनेका थिए।

दुर्गाराज पाहाडीले परीक्षण स्थलको घर उपलब्ध गराएका थिए ।बैजनाथ जैसवालले टेण्ट, टेबल, कुर्सी र लाइटको व्यवस्थापन गरे र निवर्तमान अध्यक्ष जितेन्द्र श्रेष्ठले नि:शुल्क पिउने पानीको प्रबन्ध मिलाउनुभयो। कार्यक्रमको बारेमा संस्थाका अध्यक्ष दिनेश रसाइलीले प्रष्ट पारेका थिए ।
टोल अभिभावक रामचन्द्र आचार्य, बौद्धिक व्यक्तित्व तथा लेखक चन्द्रप्रसाद अधिकारी, स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा टोलवासीहरूको बाक्लाे उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउन बिगत पाँच दिनदेखि दिनरात खटिएको चित्र सिग्देलले जानकारी पनि दिनुभयो। राहुल शोनी, अनिल बर्देबा, टेकनाथ आचार्यको अथक मेहनतले टोलमा सकारात्मक ऊर्जा थपेको छ।

यसबाहेक सक्रिय युवा लोकेन्द्र भट्टराईले भने, “सामाजिक दायित्व निभाउने सवालमा हाम्रो टोल सधैं अग्रपंक्तिमा छ। यो आँखा शिविर त्यसको सजीव प्रमाण हो।” शिविरको समापनमा आयोजक संस्थाले सम्पूर्ण सेवाग्राही, चिकित्सक टोली, स्वयंसेवक, सहयोगी संस्था र टोलवासीप्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्यो। लेखक परिचय: चन्द्रप्रसाद अधिकारी – वरिष्ठ प्राध्यापक, लेखक, अनुसन्धानकर्ता तथा शेयर बजार विश्लेषक हुनुहुन्छ। उहाँ शिक्षादेखि समाज सेवा र अर्थतन्त्रसम्मका विविध विषयमा गहिरो चिन्तन र लेखनमा सक्रिय हुनुहुन्छ।