'कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिक उद्यमीलाई प्रोत्साहन, सञ्जाललाई सामग्री सहयोग ।थारू पाेर्टल'

July 1, 2025

विज्ञापन
No data was found

कानेपोखरी, मोरङ ।

असार।१८गते 

वैदेशिक रोजगारीबाट फर्किएर उद्यममा संलग्न भएका आप्रवासी श्रमिक उद्यमीहरूलाई सम्मान गर्दै कानेपोखरी गाउँपालिकामा प्रोत्साहन तथा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कानेपोखरी गाउँपालिका र रेमी (ReMi) परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा १२ जना श्रमिक उद्यमीहरूलाई नगद २४ हजार रुपैयाँ र प्रशंसा–पत्र प्रदान गरिएको हो।

गाउँपालिकाका अनुसार, सम्मानित श्रमिक उद्यमीहरूले विदेशमा आर्जन गरेको सीप र अनुभवलाई स्वदेशमै सदुपयोग गर्दै आत्मनिर्भर उद्यम सञ्चालन गरिरहेका छन्। उनीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै पालिकाले यो सम्मान प्रदान गरेको हो।

कार्यक्रम अन्तर्गत पालिका, वडा तथा टोलस्तरमा गठन गरिएका ४५ वटा आप्रवासी श्रमिक सञ्जालहरूलाई कार्यालय सञ्चालनका लागि प्रारम्भिक सामग्रीहरू सहयोगस्वरूप प्रदान गरिएको छ। साथै, उद्यम प्रवर्द्धन सहयोग कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा २ थान च्यापकटर, ३ थान ह्वीलबेरो, १ थान सबमर्सिबल पम्प लगायत आधुनिक उपकरणहरू प्रदान गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजमती इङ्नामले विदेशमा कठिन मेहनतबाट आर्जन गरिएका सीप र स्रोतलाई कसरी उपयोग गर्ने भन्नेमा पालिकाले मार्गदर्शन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी सिप सिकाउनेलाई सही सदुपयोग गराउने गर्छौं, जागिर खुवाउने होइन।”

उपाध्यक्ष भोला प्रसाद अधिकारीले कार्यक्रमले छोटो अवधिमा सानो सहयोग गरे पनि दीर्घकालीन रूपमा ठूला योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। कार्यपालिका सदस्य शुसिला श्रेष्ठले आत्मसम्मान र दीर्घकालीन सोचका साथ उद्यम सुरु गर्न उत्प्रेरणा दिँदै भनिन्, “अहिले नाफा मात्रै होइन, आत्मसम्मान र दीर्घकालीन सोचको सुरुआत हो।”

ReMi परियोजनाका रमेश अधिकारी वैदेशिक रोजगारीमा जाने तथा फर्किएपछि समाहित हुन चाहने श्रमिकहरूलाई सीप, भाषा, श्रम सुरक्षाका विषयमा परामर्श तथा सहजीकरण गर्दै आएको जानकारी गराएका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव, ReMi परियोजनाका कर्मचारीहरू, तथा आप्रवासी श्रमिक सञ्जालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.