'‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको हाे । थारू पाेर्टल'

August 21, 2025

विज्ञापन
No data was found
भदाै। ५।
‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको भाषिक संज्ञान मिल्दछ । जसअनुसार चक्रधारण गर्ने भएकाले भगवान् कृष्णलाई चक्रधारी पनि भनिन्छ, त्यही चक्रधारीको ‘चक्रधारी’ बाट अपभ्रंश हँदै ‘चक्कधारी’, ‘चव्वधारी’ अनि ‘चौधारी’ एवं हाल ‘चौधरी’ हुन आइपुगेको वा चक्रधारीको लिला (कृष्ण लिला), पाण्डवयानी (पाँचपाण्डव मध्यका भीमलाई अत्वारीमा एकतर्फबाट पकाएको रोटी चढाएर पूजा गर्दछन्), बर्कीमार (महाभारत) जस्ता कृष्णका जीवन गाथाहरू उत्सव पर्वहरूमा परम्परादेखि गाउँदै आएका कृष्णका अत्यन्तै भक्त भएकाले नै थारूहरूको जाति चौधरी हुनपुगेको भन्ने कुरा थारू इतिहास, परम्परा, संस्कार पर्व र नाचगानहरूको गहन अध्ययन मनन् गर्दा प्रष्टै हुन्छ ।
चौधरी कबिलामा समाज, सामाजिक जीवन एवं प्रकृतिलाई अत्यन्तै महत्त्व दिएको देखिन्छ । जन्मदेखि मृत्युपर्यन्तसम्मका सबै पारिवारिक सामाजिक कामहरू सबै परिवारहरू मिलिजुली एकताबद्ध भएर गर्ने र मिलेरै बस्ने संस्कार छ ।
यवनहरूले समेत चौधरी (थारू) हरूको आफ्नो समाज एवं संस्कारमा दृढविश्वास अनि नि:स्वार्थ समर्पण देखेर आफ्ना कौमका मुखियाहरूको पदवी नै चौधरी राखेको वा चौधरीको धर्मान्तरण पश्चात् पनि जात भने चौधरी नै रहेको देखिन्छ । केही राज्यहरूमा राज्य संयन्त्रले पनि पछि राज्य सञ्चालनको प्रशासनिक एवं न्यायिक निकाय हेर्ने पदमा चौधरी पद नियुक्त गरेको पनि देखिन्छ । नेपालमै पनि पहिले चौधरी पद रहेको थाहा हुन्छ । कति चौधरी पद पाएकाहरू थारू जाति बाहिरकाले पनि आफ्नो थरमा चौधरी लेख्ने गरेको पाइन्छ ।
चौधरीका सम्बन्धमा अनेकन भनाइहरू समाजमा सुन्नमा आउँछन् । जसमध्ये कसैले चौँध (चतुर्दश) गाउँको प्रमुखलाई चौधरी भनेकाले तिनीहरूका सन्तति चौधरी भए भनेको भन्छन् । कसैले थारूका घरमा चरवटा धुरी भएकाले चौधरी भए भनेर पनि भनेका छन् । कसैकसैले उब्जनीको चारभागको एकभाग करमा उठाएर राज्यलाई बुझाउने प्रशासनिक पद भएकाहरूलाई चौकर पद भनिएको र यही पद भएकाहरूलाई पछि चौकरी वा चौधरी भनिएको भन्नेहरू पनि छन् । तर…
ऐतिहासिक चौधरी शब्द चक्रधारीबाटै व्युत्पत्ति भएर बनेको अवगत हुन्छ । पछि जाति सूचक शब्द हुँदै राज्यको प्रशासनिक एवं न्यायिक निकाय हेर्ने पद पनि बन्न पुगेको विगतको इतिहास अध्ययन गर्दा ज्ञात हुन्छ । यसरी चौधरी पद प्राप्त गरेका थारू जाति इतरका केही अन्य जातिकाले पनि चौधरी थर लेख्दै आएको पाइन्छ । तर प्राय: थारूहरूले आफ्नो जातमा चौधरी शब्दलाई पहिलेदेखि नै थर मानेर लेख्ने गरेको देखिन्छ ।
थारू (दाङका थारूरज्वा वा सामन्तहरूको वंशावली सहित)
थारू शब्दको व्युत्पत्ति परिभाषा र थारू जातिको इतिहासमा धेरै इतिहासकारहरूको मत फरक-फरक छन् । विदेशी इतिहासविद्हरूको मत पनि फरक-फरक छन् । थारू विद्वान्‌हरूको मतहरू पनि फरक छन् । यहाँकै थारू इतर विद्वान्‌हरूको मत पनि फरक-फरक छन् । स्थानीय केही थारू बुढापाखाहरूले आफ्ना पूर्वजहरू थारबाट आएको भन्दछन् । केही बुढापाखा र युवाहरू यहीँठाउँका आदि भूमिपुत्र रहेको भन्दछन् । यसरी सबैसँग सबैका मत बाँझेका देखिन्छन् । यसरी फरक-फरक मतहरूको असमञ्जसमा आफैँ थारूहरू नै आफ्नो इतिहास उजागर भए नभएकोमा असमञ्जसमा छन् ।
धेरै विद्वान्‌हरूका अनुसन्धानात्मक आलेखहरू अध्ययन गर्दा थारूहरू को हुन् भनी विज्ञहरूले राखेका फरक-फरक आधारहरू;
१) चारकोसे झाडी ‘तरी’ मा ठहरेका (स्थिर भएका) ले थारू
२) तिरहुतबासी भएकाले थारू
३) स्थवीरबाट थारू
४) बौद्ध थेरवादबाट थारू
५) थारबाट आएका थारू
६) अथर्व वेदबाट थारू
७) निषाद् र किरातका सन्तति थारू
१) चारकोसे झाडी (तरी) मा ठहरेका (स्थिर भएका) ले थारू;
डोरबहादुर बिष्ट (१९७६ इ, ‘पिपल अफ नेपाल’) ‘तराईमा बस्ने सबभन्दा पुराना जातिमध्ये थारू एउटा हो ।’
वाङ र पशुपति रेग्मीहरू (२०१२ इ, ‘रोल अफ हिमालयाज इन पिप्लिङ नेपाल’) ‘…थारूहरू नेपालमा शिवालेकभन्दा दक्षिणतिर जङ्गलका बीचबीचमा बस्छन्, जहाँ झाडी (तरी) तरीसँग एकदम घनिष्ठ भएर बसेका जाति भएकाले थारू भए ।’ भनेका छन् । कसैले जङ्गल (तरी) मा बसोबास गर्ने भएकाले ‘तरहुआ’ (तराईको आर्द्र भूमि) थारू भए भनेका छन् ।
२) तिरहुतबासी भएकाले थारू;
इस्वीको एघारौँ शताब्दीमा गजनवीले ल्याएको अनुचर ‘अबुरेहान मुहम्मद अहमद अलबरुनी’ ले सन् १०१७-०३० तिर अरबी भाषामा लेखेको हिन्दूक्षेत्रको यात्रा वर्णनमा ‘तहकिक ए हिन्द’ बुकमा तिरहुत (‘तिल्वात’) मा बसेको भनेर थारू (तारू) लाई चिनाएकाले थारू भए (एडवार्ड साचौ, २००२ इ, ‘अलबेरुनिज इन्डिया’, अध्याय १८, पृ० ९६)।
३) स्थवीर (ठहर्) बाट थारू;
घुमन्ते जीवनलाई ‘तरहुआ’ (तराईको आर्द्र भूमि) मा स्थीर गरेकाले अर्थात् थारू भाषामा ‘ठहर्’ धातुबाट थारू नाम बनेको पनि तर्क गरेका छन् (अशोककुमार पाठक, २००६ इ, ‘थारू जनजाति की सामाजिक–आर्थिक…’, पिएचडी प्रबन्ध, लखनौ विश्वविद्यालय, १६८)।
४) बौद्ध थेरवादबाट थारू;
फ्रान्सका विद्वान् फुहररले दाबी गरेका छन् कि थारू शब्द सताभिरबाट भएको हो । सताभिरको अर्थ थेऱाभदा अर्थात् थेरावाद हो, जुन बुद्धधर्मको अनुयायी भनेर बुझिन्छ । थारू जातिकै सन्तति गौतम बुद्ध हो । (Antiquities of Buddha Sakyamuni’s Birthplace in the Nepalese Tarai, Fuhrer, १८९७) ।
शाक्य र कोलिएहरू थारूहरूका पूर्वज हुन् र गौतम बुद्ध पनि थारू कुलमा जन्म लिएका थिए । भू.पु. माहान्याधिवक्ता रामानन्द सिंहले थारूहरू शाक्य वंशका अवशेष हुन् भनेर पटनामा सन् १९८८ मा खोजमूलक प्रतिवेदन पेश गरेका छन् । (The Real story of Tharus, १९८८)
इतिहासकार पर्जिटरले ‘बुद्धका कुनै अवशेष बाँकी छन् भने तिनीहरू थारू जातिका मानिसहरू हुन्’ भनी उल्लेख गरेका छन् । (Historical Tradition of India)
‘थारूहरू शाक्यवंशी क्षेत्री हो र सिद्धार्थ गौतम बुद्ध थारूका सन्तान हुन् ।’ (तेजनारायण पञ्जियार, थारू जातिको इतिहास र उत्पत्ति खोज, २०५५)
‘सिदार्थ गौतम बुद्धको जन्म थारू जातिको परिवारमा भएको थियो ।’ (सुबोधकुमार सिंह, The Great sons of Tharu: Shakyamuni budhha and the Ashoka the Great )
यसरी थारूहरू बौद्धका थेरवादी शाखाका भएकाले थेरवाद बाट अपभ्रंश भएर थारू भए ।
५) थारबाट आएकाले थारू;
थार क्षेत्र मरूस्थलमा परिणत भएपछि थार क्षेत्रबाट विस्थापित भई बसाइँ सरेर जल जङ्गल उब्जाउ भूमि खोज्दै आएको पनि भनेका छन् । अर्को एक अनुसन्धानका अनुसार सन् १५७६ मा हल्दीघाटीको लडाइमा महाराणा प्रतापका सैन्यहरूले आफ्ना परिवारजनलाई आफ्ना सेवकहरूसहित सुरक्षाका लागि हिमालयको फेदमा पठाएका थिए, यिनीहरू पछि हालको नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको तराई क्षेत्रमा आइपुगी यतै बस्न थाले । राजस्थानको थार क्षेत्रबाट आएका हुनाले थारू भनेर चिनिए ।
यो लगायत हालको सम्पूर्ण इण्डिया लगायतका क्षेत्रमा मुस्लिम शासकहरूको ज्यादती र धर्म परिवर्तनको दबाबबाट बच्न धेरैले यता बसाइ सारेका छन् ।
६) अथर्ववेद बाट थारू;
अथर्ववेद बाट ‘अथर्वा’ ‘अथरू’ हुँदै हुँदै ‘थारू’ भए । अथर्ववेदमा कर्मकाण्डलाई भन्दा तन्त्र मन्त्रको प्रवलता देखिन्छ । एवं भूत-प्रेतआदि शक्तिको पनि उल्लेख छ । चिकित्सा, औषधि, जीवाणु विज्ञानको पनि जानकारी छ । अथर्ववेदमै अथर्वाको उल्लेख छ, जसलाई अग्निको आविष्कारक भनिएको छ । यिनै अथर्वाबाट अपभ्रंश भएर ‘थारूवा’ हुँदै ‘थारू’ भएको मानिन्छ । अथर्ववेदले भूमिसुक्तको माध्यमबाट भूमिप्रति श्रद्धा जगाइ राष्ट्रिय भावनालाई बलियो बनाउँछ ।
थारूहरूमा पनि पूजा गर्दा चोखो अग्निका लागि दुई काठको घर्षणबाट अझै पनि अग्नि उत्पन्न गर्दछन् । भूत-प्रेतादी शक्तिलाई पनि मान्दछन्, भूमिप्रति श्रद्धा राख्ने हुनाले भूह्याँर पूज्दछन् । आफूहरूलाई नै भूमि पुत्र भन्दछन् । खेतीपाती गर्दछन्, आफूलाई अन्न र गाईगोरूहरूलाई चारा जल जङ्गल उपलब्ध गराएर भूमिले गर्दा नै जीवन बाचेको मानी भूमिप्रति अनुग्रहित वा ऋणी भएको ठानी मृत्यूपछि आफ्नो शरीर नै जमीनमा गाड्छन् । अथर्ववेदको ज्ञान जस्तै समाजमा गुरुवा वैद्यको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । आफ्ना दाजुभाइ, दिदीबहिनी, आफन्तजन र समाजप्रति माया र अपनत्वले समर्पित एकताबद्ध रहन्छन् । गुरुवाहरूले समाजमा प्रगन्ना (क्षेत्र) बाँटेर गुरुवाई चलाउँछन् । अम्मरमाटी, गुरुवावाके जन्मौती जस्ता यावत् कुराहरू थारू समाजमा देख्दा अथर्ववेदमा उल्लेख भएका ज्ञानले संस्कारित पूर्वजका सन्तति हुन् भन्ने कुरामा पनि धेरै बल दिन्छ ।
७) निषाद् र किरातका सन्तति थारू;
इतिहासविद् बाबुराम आचार्य (नेपाल सांस्कृतिक परिषद् पत्रिका, विसं २०१०), मदनमणि दीक्षित (रूपरेखा, पूर्णाङ्क २०३), इमानसिं चेम्जोङ (किराती दन्त्य-कथा) लगायत अरू केहीले पनि थारूलाई किरात भनेका छन् ।
योगी नरहरिनाथले भनेका छन्, ”गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, लामा, तामाङ, थकाली, थारू, दुरा, सन्थाल, कोचे, मेचे, धिमाल, मैथिल, भोजपुरी, सतार, राजी, नेवार, सुनुवार, दनुवार, हायु, मुर्मी, कुशहरि, पहरी, थाक्से, राउटे, कसुण्डा … ल्याप्चे, कोचे, मेचे, धिम्चा, खम्पा, घर्ती, खटाला आदि सबै गोर्खाहरू एउटै बाबुआमाका छोराछोरी हुन् । कामले भिन्न हुँदैमा जात भिन्न हुन्न, हुइयाँको हुरी चल्दैमा हिमाल हल्लँदैन, भाइ फुट गवाँर लुट गर्नुहुन्न…!”
उनले नेपाल लगायत सम्पूर्ण नेपाली भाषीहरू रहेका क्षेत्रहरूको स्थलगत भ्रमण अनुसन्धान गरी पुराना ऐतिहासिक दस्तावेज वंशावलीहरूको जस्ताको त्यस्तै विशाल सङ्ग्रह गरेका थिए । योगी नरहरिनाथले संग्रह गरेका ऐतिहासिक दस्तावेजहरूले सत्यतामा प्रकाश पार्न मद्दत गर्ने नै छन् ।
”थवाङ र जेलवाङको बीचमा लगभग बाह्र हजार फिट अग्लो स्थानमा रहेको जलजलामा बराह र बजूको जेष्ठ पूर्णिमा र साउन पूर्णिमामा भव्य रूपमा पूजा हुँदै आइरहेको छ । जेठ महिनामा चाहिँ जेठा बराह अर्थात् सुनबराहको मात्रै पूजा हुन्छ । मालङ्गिनी बजूको चाहिँ रोल्पा जिल्लाको पवाधुरीमा पूजा हुन्छ । मालङ्गिनी बजूले अभक्ष खाएकाले जलजलामा जान नदिएर छुट्टै पूजा गरेको हो भन्ने परम्परा छ । मालाङ्गिनी बजूले कुनै मानिसलाई समाइन् भने बौलाउँछ भन्ने विश्वास अहिले पनि उत्तिकै छ । जलजला र पवाङ्धुरीको दूरी झण्डै एक दिन टाढा छ ।
सत्र बहिनी बजू र बाह्र भाइ बराहहरूको पूजा गर्ने मानिसले अघिल्लो दिनदेखि शुद्ध खानुपर्छ । बजूहरूलाई बलिका रूपमा भेडा चढाइन्छ । बजूलाई सहकालकी देवी एवं वरदाताका रूपमा लिइन्छ । थरूनी बजू , राईनी बजू , बाहुनी बजू , पूर्वेनी बजूका पनि पूजा गरिन्छ । बजूहरूको नाम एवं पूजा पद्धतिलाई हेर्दा धेरै पहिलेदेखि नै यस क्षेत्रमा सबै जातजातिका मानिसहरू मिलेर बसेका रहेछन् भन्ने विषय प्रष्ट हुन्छ । महादेव जहाँ पुग्नुभयो, तपस्या गर्नुभयो, ती स्थानहरुमा अहिले उहाँका मन्दिर, मूर्ति, शिवलिङ्ग बनाएर पूजा, उपासना गरिन्छ । उत्तरमा मानसरोवरदेखि दक्षिणमा रामेश्वरम्‌सम्म प्रशस्त शिवालयहरू पाइन्छन् ।” -अर्जुण ज्ञवाली (महायोगी गुरु गोरखनाथ र नेपाल, पृष्ठ ५०)
यो ‘थरूनी बजू’ भनेको या मगरले थरूनी विवाह गरेको वा थारूले मगरनी विवाह गरेकाले नै ‘थरूनी बजू’ भएको हुनुपर्दछ । यो कुराले पनि निषाद् (थार समथरमा बस्ने) र किरात (पहाडमा बस्ने) को सन्ततिबाट थारू भएको कुरामा बल दिन्छ । शारीरिक बनोट-बुनोट पनि उस्तै-उस्तै भएकाले यो निषाद् र किरातका सन्तति भन्ने कुराको पनि बलियो आधारहरू एवम् ऐतिहासिक परिघटनाहरू मिल्दछन् ।
भाँडाकुडा लौकाको चिण्डोको प्रयोग समान-समान लाग्दछन्, थारूहरू नयाँ वर्ष माघी (मकर संक्रान्ति) लाई मान्दछन्, किराती नयाँ वर्ष ऐले संवत्सर पनि मकर संक्रान्तिदेखि नै शुरु हुन्छ ।
थारू आदि भूमिपुत्र;
थारूहरूले आफूलाई आदिकालदेखिकै यहीँका भूमिपुत्र मान्दछन् । दाङका प्राय: गाउँहरूका नाम थारू भाषाकै छन् । तर केही गाउँहरूका नाम मगर वा किरातकालकै जस्ता नामका पछाडि वाङ् (प्रशासनिक एकाइ) रहेका ठाउँ एवं गाउँहरू पनि छन् । जस्तै: भालुवाङ । यो हेर्दा थारूहरू ले नै आवाद वा पुन: आवाद गरेको हो भन्नेमा कुरामा बलदिन्छ ।
प्राचीनकालमा यो क्षेत्र किरात राज्य कै अङ्ग थियो । प्राचीन हिन्दु धर्मग्रन्थ ऋगवेद, महाभारत, पुराण, बौद्ध ग्रन्थ, जैनग्रन्थ, स्मृति, काव्य, कथा, प्रशस्ती र अभिलेखहरू लगायमा किरातको इतिहास उल्लेख छन् ।
मरुतन्त्र हिमवतखण्डको श्लोकअनुसार कश्मिरदेखि पूर्व, कामरुपदेखि पश्चिम, भुटानदेखि मानसरोवरको दक्षिण-पश्चिमसम्म, कैलालीनदीको किनार देखी सरयुनदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नागदेशदेखि महाचानसम्मको भू-भागमा किरात देश अवस्थित रहेको अवगत हुन्छ ।
कालक्रमैले किरात राज्यको विलय र खस राज्यको उदय भएपछि पुन: खस राज्यको सिमाना जुम्ला सिँजाका राजा क्राधी चल्लका राजकुमार सुप्रसिद्ध महाराज सम्राट् क्रचल्लले आफ्नो राज्य सिमाना पश्चिममा कुमाउ-गढवाल (वि.स १२८० मा सम्पूर्ण कुमाउँ र कतिपय इतिहासकारले गढवाल पनि भनेका छन्) क्षेत्रसम्म आफ्नो राज्यको सीमा विस्तार गरेका थिए। कुमाउँमा बालेश्वर मन्दिरको पुरानो संरचना बदलेर नयाँ मन्दिर बनाएर शिलालेख राखेका छन् । जुन शिला हाल पनि छँदै छ । पूर्वमा त्रिशूली नदीसम्म उनको राज्यको सीमा रहेको देखिन्छ (तर पछि जितारी मल्लले कान्तिपुर (काठमाडौँ) लाई पनि आफ्नो प्रभुत्व स्विकार्न लगाएर उनले दुईपटक कर उठाएको देखिन्छ)। तिब्बतमा पनि राजा क्रचल्ल ले बोधिसत्त्व ‘मैत्रेय’ र ‘मञ्जुश्री’ को सुनको प्रतिमा स्थापित गरेको तिब्बती इतिहासबाट थाहा हुन्छ । यस्ता जनकारीहरूबाट हामी सजिलैसँग बुझ्न सक्छौँ कि सम्राट् क्रचल्ल र छोरा अशोकचल्लको राज्य सिमाना पश्चिम नेपाल क्षेत्र मात्र नभएर पश्चिममा लद्दाखदेखि पूर्वमा त्रिशूली, उत्तरमा तिब्बत र दक्षिणमा गङ्गा नदीको समथर भू-भागसम्म रहेको ज्ञात हुन्छ ।
खस राजाहरूले हिन्दू वा सनातन ॐ विजमन्त्र मान्ने सबै पूर्वीय धर्म संस्कृतिका संरक्षक रहेकाले मुस्लिम ज्यादतीले गर्दा विस्थापित भएर पुन: हिमालयतिर फर्केकाहरूलाई आफ्नो राज्यमा विभिन्न स्थानमा शरण दिन्थे । थारबाट विस्थापन भई हिमालयका तलहटीमा आइपुगेका थारूहरूलाई पनि दाङ [दह+गंगा = दहांगा र दहांगाबाट अपभ्रंश हुँदै दाङ भएको (संस्कृतमा दह याने गहिरो पानीको तलाउ र गंगा याने गं शब्द को अर्थ जानु हो, गा – को अर्थ राग हो । गंगाको शाब्दिक अर्थ संगीतमय आवाज निकाल्दै बगेर जाने हुन्छ । अत: दहको पानी कलकल झरझर मधुर संगीतमय आवाज गर्दै बगेर जाने भएकाले दाङ)] मा आवास सुरक्षा प्रबन्ध गरेकाले दाङका शरणमा आएकाले दङ्गीशरण भए भन्ने पनि छ ।
पछिसम्म दाङले खस राज्यलाई घोडा खच्चर लगायतलाई चरिचरण एवं चामल तेल उपलब्ध गराउने गरेको देखिन्छ । जसको अवशेष अझै पनि दाङका धेरै ठाउँहरूमा जुम्ली घोडाहरू चरिचरणमा आइराख्छन् ।
पछि कालान्तरमा खस राज्य पनि कमजोर हुँदै गएपछि खस राजाकै भाइभैयाद, आफन्तहरू जहाँ-जहाँ रियासतको जिम्मा पाएका सामन्त भएर रहेका थिए त्यही-त्यही स्थानका राजारजौटा भएको देखिन्छ । थारूहरूले पनि आफूहरूले आवास गरेको क्षेत्रमा खसराजाको उपस्थिति नरहेपछि रियासत वा राज्य सञ्चालन गरेको हुनुपर्दछ भन्ने कुराका धेरै बलिया आधारहरू छन् ।
यति धेरै आधारहरू भएर पनि किन थारूहरूको इतिहास किन प्रष्ट छैन ?
थारू जातिको इतिहास खोज्नका लागि धार्मिक ऐतिहासिक संस्कृतिक भाषिक क्षेत्रीय प्रमाणहरू हुँदाहुँदै थारूको सनातन धार्मिक पक्षलाई नजरअन्दाज गरी इतिहास लेख्नाले थारूहरूको गर्विलो इतिहास धरमर भएको प्रष्ट हुन्छ ।
थारूको इतिहास दबाउने, छोट्याउने वा धरमर पार्नेहरू;
१) यवन शासकहरू
२) म्लेच्छ शासकहरू
३) रिलिजनका व्यापारीहरू
४) नास्तिक/वामपन्थी विद्वान्‌हरू
५) जातीय राजनीति गर्नेहरू
१) यवन (मुस्लिम) शासक;
हिन्दू राज्यका मन्दिरहरू विध्वंस गर्दै धनदेखि नारीसम्म लुट्ने लुटेरा महमूद ग़ज़नवीले ल्यायको अनुचर ‘अबुरेहान मुहम्मद अहमद अलबरुनी’ ले सन् १०१७-०३० तिर अरबी भाषामा लेखेको हिन्दूक्षेत्रको यात्रा वर्णनमा ‘तहकीक ए हिन्द’ बुकमा तिल्वात (तिरहुत) मा थारूहरू छन् भनेर लेख्नाले तिरहुतबाट तिरहु तिरहुबाट थारू भए भनियो । यस्तो भन्दा तिरहुतभन्दा पहिल्यै थारबाट मेवाड र मेवाडबाट तिरहुत (गङ्गा नदीको किनारा अयोध्याको नजिक) मा थारूहरू पुगेको थारूको इतिहास लुकाइयो ।
मुस्लिम आक्रन्ता महमूद ग़ज़नवीको फौजले मन्दिरहरू लुट्न थार क्षेत्रमा अनेकन पटक आक्रमण गर्दा पनि त्यस क्षेत्रमा सफल हुन नदिएकाले पन्ध्रौँ आक्रमणमा लोदोर्ग (जैसलमेर), चिक्लोदार (गुजरात) र अनहिलवाड (गुजरात) लगायतको थार क्षेत्रलाई गजनवीले जित्यो । यहाँ पनि मन्दिर भत्काउने जवरजस्ती धर्म परिवर्तन गराउन थालेपछि स्थानीय थारबासीले मन्दिरका देउता लुकाएर मरे पनि धर्म परिवर्तन नगर्ने प्रण गरेर सङ्घर्षरत रहे । ज्यान दिन तयार तर धर्म परिवर्तन गर्न राजी हुँदै भएनन् । मुस्लिम बनाउन नसकेपछि स्थानीय हिन्दूलाई हिन्दू भएर बाँच्नलाई जबरजस्ती जिउने कर (जजिया कर) लगाएर ज्यादती गरी मुस्लिम बनाउने उपाय गर्न थालियो । यसरी ज्यादतीमा पारेर हिन्दू भइराख्न पनि प्रत्येक व्यक्ति-व्यक्तिले कर तिर्नुपर्ने भएपछि यो बलजफती कर तिर्न नसकिने भएपछि मुस्लिमहरूदेखि लुकाएर राखेका भगवान्‌का मूर्ति लिएर हिन्दू राज्य मेवाडका राजा बप्पारावलले आफ्नो सिमाना मुसलवानलाई हराउँदै गजनीसम्म पुर्याएका थिए । त्यही आक्रान्तासँग जोगिन मेवाडमै शरण लिन पुगे ।
मेवाडमा मेवाडका राजाले शरणमा आएका थारहरूलाई आफ्ना आदिवासी भूमिपुत्र (भिल्लहरूले आफूलाई भूमिपुत्र भन्दछन्) भिल्लहरूको सुरक्षित वन क्षेत्रमा आवास प्रबन्ध मिलाएर राखे । शिव, कृष्ण भक्त थार बासी र शिव, राम भक्त भिल्लहरू (मेवाडका राजा रामका पुत्र लवका वंशज मानिन्छन्) एउटै समाजमा एकआपसमा मिलेर बसे । मेवाड मै कृष्ण भक्तले राम भक्तहरूलाई दही खुवाएर दुबै समाज एक भएको र धर्महन्ता विरुद्ध एक भएर लड्ने प्रण गरेको इतिहास छ । यिनीहरू मेवाड राज्यको शैन्य शक्ति भएर रहे । महाराणाहरूको राजचिह्न राजकीय लोगोमा पनि यो इतिहास अङ्कित छ । महाराणा साँगा एवं यिनको सेनाको, धर्महन्ता आक्रान्तासँग युद्ध गर्दै वीरता देखाएर, हिन्दू संरक्षक, सनातन संस्कृतिका संरक्षक, अद्वितीय योद्धा, असल राजनीतिज्ञ, कुशल शासक, शरणार्थी रक्षक, मातृभूमिप्रति समर्पित, बहादुरीको ख्याति सबैतिर फैलाएका थिए ।
विभिन्न अनुसन्धानका अनुसार सन् १५७६ मा हल्दीघाटीको लडाइमा मुस्लिमहरूको ठूलो सेना मेवाडका विरूद्ध युद्धमा उत्रियकाले महाराणा प्रताप र सिपाहीहरूका लागि वार कि पारको युद्ध भएकाले युद्धमा नजाने अआफ्ना परिवार र परिवारका सुरक्षाका लागि सहयोगी सहित उत्तरतर्फ पहाडको तलहटी तिर पठाएका थिए । यिनीहरूलाई पनि मुस्लिम सेनाले पटक पटक आक्रमण गरी लखेट्दै लखेट्दै विछुट्टीएका कारण यिनीहरू नेपालसँग सीमा जोडिएको उत्तराखण्ड उत्तर प्रदेशको तराई क्षेत्रमा तेहाँबाट पनि पछि डरहुने देखि खेदिएर जङ्गल विरान क्षेत्रमा धपाइए । मुस्लिमहरूको शासन सत्ता फैलिए पछि विरान क्षेत्रमा मेवाडका भिल्ल, महाराणाका परिवारका सबैले पहिचान लुकाउँदा सबै थारू भनेर चिनीए ।
पश्चिम नेपालमा रहेका राणा थारूहरू तिनै राणाका परिवारका सन्तति हौँ भन्दछन् र थारूका महिलाहरूको गरगहना र पहिरनको श्रृङ्गार साजसज्जा देख्दा राणाहरूकै राजकन्याहरू भएको कुरामा बल पुग्दछ । कति ठाउँमा थारूमहिलाले पुरूषलाई खाना पस्किएको थाल खुट्टाले पुर्याउँछन् भन्ने कुराले पनि राणा राजस्त्री वा कन्याले आफ्ना सेवक सँग परिवारीक जीवन सुरूगरेको भन्ने मिथकलाई पनि पुष्टी हुनमा बल दिन्छ ।
इण्डियामा शासन गरेका मुस्लिम शासकहरूले थारूहरूको इतिहास नमेटे पुर्खाको रिसइवी साँध्ने ठानी थारूहरूको इतिहास मेट्ने वा धमिल्याएको हुन सक्छ । अँझै पनि थारूहरूले इण्डियामा आफूमाथि जजिया कर (जबरजस्ति हिन्दू रहन लगाएको कर, जस्लाई थारूहरूले बलजफती कर भन्दथे) उठाएकाले मुसलमानहरूलाई बजिया (जजिया करउठाउने भएकाले) भन्दछन् । (मुसलमानहरूलाई बजिया भन्दाभन्दै हाल सबै इण्डिएनहरूलाई नै बजिया वा बज्या भन्ने गरेको देखिन्छ) । थारूहरू आफूलाई कसैले पिडा दिएर सतायमा ‘ राँरीक बज्या !’ भनेर गलि गर्दछन् । यो पनि जबरजस्ति कर उठाएको वा पिडा दिएकाले नै निस्किएको गाली हो । जस्ले थारूको इतिहास तिर इङ्गित गर्दछ ।
आफ्नो सनातन धर्म जोगाउन पुस्तौँ पुस्ता धर्महन्ताहरू सँग युद्ध गर्दै, संघर्ष गर्दै, पटक पटक विस्थापन हुँदै, यस्तो विषम परिस्थितिका वावजुत पनि थारू जातिहरू श्रुति स्मृति परम्परामा अँझै मोहरीन्या (स्मृति ग्रन्थका गीतहरू नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने जानकार अग्रज) हरूले फूल्वार (शिव-पार्वती पुराण), बर्किमार (महाभारत), पाण्वयाणी (कृष्ण चरित्र) एवम् रामबिहग्रा (रामायणी राम चरित्र) जस्ता ग्रन्थहरू नै मुखाअग्र राखेर पुस्तौँ पुस्ता जोगाउँदै जोगाउँदै हालसम्म पनि जोगाई राखेकाछन् । कृष्णाष्टमीमा निरहार व्रत बसेर धुमधामका साथ काँधा (कृष्ण) को पूजाआजा गरी मनाउने गर्छन् । घरभित्रको मूल भित्ता वा डेहरी (माटोको भकारी) मा कृष्णाष्टमी मा पाण्डवयानी (कृष्णचरीत्र) र आफ्नो इतिहासको गाना गाउँदै तेही गानाका आधारमा चित्रहरू उकेर्छन् जो आफ्नै इतिहासको सजीव चित्रण हो । महत्वपूर्ण चाड अत्वारीमा पनि भिवाँ (पाँच पाण्डप मध्यका भिम) लाई एकातर्फबाट मात्र नफर्काई पकएको रोटी चढाएर पूजागर्छन् । भूँइह्यार पूजा गर्दछन् ।
२) म्लेच्छ (अङ्ग्रेज) शासकहरू;
मुस्लिम शासकहरूले हडपेको क्षेत्र पछि फेरी म्लेच्छको हातमा शासन सत्तामा गए पछी पनि थारूको इतिहास थारूहरूले थाहापाएमा पुरानो बदला फर्काउने चाहा पलाउन सक्छ भनेर थारूहरूको इतिहास धमिल्याएको हुनसक्छ । सनातन धर्ममा विश्वास नराख्ने म्लेच्छ इतिहासकारहरू थारूहरूको सनातन हिन्दू धर्म कै धार्मिक संस्कृतिक सम्बन्धका धेरै रीति, थिति, धर्म, भाषा, संस्कार, पूजापद्धति, गाना छन् जहाँ फूल्वार (शिव-पार्वती पुराण), बर्किमार (महाभारत), पाण्वयाणी (कृष्ण चरित्र) एवम् रामबिहग्रा (रामायणी राम चरित्र) जस्ता धेरै ग्रन्थहरू नै मुखाअग्र राखेर पुस्तौँ पुस्ता जोगाउँदै जोगाउँदै हालसम्म पनि जोगाई राखेकाछन् यस्तो सनातन हिन्दू सँगको अन्योन्याश्रित सम्बन्धलाई चट्टक्कै छाडेर बुद्ध सँगमात्र इतिहास जोड्न पुलजोर कोशिश गरेको देख्दा अङ्ग्रेजी इतिहासकारको नियत ध्येय केहो प्रष्टैहुन्छ ।
३) रीलिजनका ब्यापारीहरू;
(धन वा अन्य प्रलोभनमा पारेर आफ्नो रीलिजनमा ल्याउने उद्देश्यको मिसनवाला)
थारूकै सन्तति बुद्धहोलान वा थारूहरू बौद्धमार्गी पनि होलान् तर थारूहरू बौद्धमार्गी मात्रहुन भन्नु पनि हात्तीको एउटा खुट्टा छामेर हात्ती त स्तम्भ जस्तो छ भने झैँ हो । थारूहरूको इतिहास यसरी एकातर्फि व्याख्या गर्नाले थारूहरूको सनातन इतिहास ओझेल पर्दछ । सनातन हिन्दू धर्मकाहरूलाई रीलिजन विस्तारका शिकारीहरूले आफ्नो रीलिजनको ढरीयामा कसरी थारूहरूलाई बल्झाउने भन्ने ध्याउन्नमा, जुन थारूहरू आफ्नो सनातन धर्म जोगाउन पुस्तौँ पुस्ता धर्महन्ताहरू सँग युद्ध गर्दै, संघर्ष गर्दै, पटक पटक विस्थापन हुँदै, ज्यानको पर्वाह नगरी सनातन हिन्दू धर्म जोगाएको सङ्घर्षपूर्ण गौरवमय इतिहास छ । यो इतिहास यि थारूहरूले थाहा पाएमा रीलिजनका ढरीयामा नबल्झिने भएकाले थारूहरूलाई उनिहरूको गौरवपूर्ण इतिहास बाट पहिले विछुट्याउने ध्येयले यस्तो गरियको छ । थारूहरूको स्वधर्म संस्कार बाट एक्कैपटक आफ्नो रीलिजनमा हुल्न खोज्दा जल्किने ठानी कसरी सुटुक्कै पूर्खाको सनातन धर्मबाट विछुट्याउने भनेर थारूहरूलाई तिमीहरू त हिन्दू हैनौ बौद्ध हौ वा अरूकेही हौ भन्ने जस्ता अनेकन तरहले घात गर्दै गिजोलेर अलमल पार्ने र आफ्नो रीलिजनका ढरीयामा बल्झाउने नियत देखिन्छ ।
कति आफूलाई सामाजिक विज्ञ ठान्नेहरूनै थारू जातिलाई स्वधर्मबाट विछुट्याएर समाज वा राष्ट्रिय धारबाटै विछुट्यउन खोजे जसरी अनर्गल कुराहरूको कोकोहोलो गर्दै प्रपञ्चमा फैलाउन लागि परेकाहरू सामाजिक सञ्जालमा छरपस्ट देखिन्छन् । त्यस्ता धुर्तहरू देखि समाज सावधान रहनु पर्दछ ।
पूर्वजहरू देखि मानेर आएको सनातन धर्मसंस्कारबाट अन्तै विछुट्ट्यायर अलमलमा परेपछी अहिले रीलिजनका शिकारीहरूले आफ्नो ढरीयामा हुल्न थालेको छर्लङ्गै देखिनुले रीलिजनका ब्यापारी वा शिकारी ले पनि थारूको इतिहास गिजोलेको संज्ञान मिल्दछ ।
[यसै गरी नेपालमा सनातन धर्म संस्कारका धेरै परम्पराहरूलाई सनातन परम्परागत धर्म संस्कारबाट विछुट्याउन ठूलो लगानी र शक्ति परिचालन गरीएको छ ।
यसैका श्रृङ्खलाहरू हुन;
👉 मस्टो पूजकलाई हिन्दू हैनन् भन्ने ! (महादेवको कैलाश क्षेत्रका नजिक मानसखण्ड ओरपर शिव महादेवलाई इष्ट मान्नेहरूले शिवलाई अरूले महादेव सम्बोधन गर्दा यहाँकाहरूले महादेवका सट्टामा महा + इष्ट = मष्ट भनेको हो । १२ भाइ मस्ट भनेको महामस्ट शिव १ र शिव (रूद्र) का ११ वटा अवतारहरू मिलाई भनिएको हो ।)
👉 काठमाण्डौका रैथाने यहीँ संमृद्ध भएको वज्रयानी बौद्धहरूलाई भट्काएर तिब्बती बौद्ध परम्पराका भन्ने वा नवबौद्ध बनाउने !
👉 थारूहरूलाई थारूको खास धर्म बुद्ध धर्म हो भन्ने !
👉 मङ्गरहरूलाई मंगोलहुन् भन्ने !
👉 गुरूवा, धामी, झाँक्री जस्ता सनातन परम्पराको निषेध गर्ने !
👉 बाहुनको विरोध गर्ने । (भक्तपुरबाट वेतिया बाहुनका कारनले लखेटिनु परेकाले)]
४) नास्तिक/बामपन्थि विद्वानहरू;
नास्तिक एवम् बामपन्थि विद्वानहरू ले दैविक अवतारहरू नमान्ने (
भएकाले यीनीहरू ले थारूहरूको श्रीकृष्ण वा राम सँगको सनातन सम्बन्ध स्विकार गर्दैनन् । थारूहरूले आफ्नो सनातन धर्म जोगाउन पुस्तौँ पुस्ता धर्महन्ताहरू सँग संघर्ष गर्दै, पटक पटक विस्थापन हुँदै, ज्यानको पर्वाह नगरी सनातन हिन्दू धर्म संस्कार जोगाइ राखेको प्रमाणिक सङ्घर्षपूर्ण गौरवमय इतिहास लाई पनि स्विकार्दैनन् । जुन थारूको व्यवहार संस्कारमा प्रष्टै देखिएको कुरा सबैलाई थाहा भएर पनि सनातन हिन्दू सँगको थारूजातिको अन्योन्याश्रित सम्बन्धका बारेमा बामपन्थि चस्मा लगाएका कारण थाहानै नपाएको अञ्जान जस्तोगरी खुलेर बोल्ने लेख्ने गर्दैनन्, लेखिहाले पनि धर्मीक सम्बन्ध स्विकार गर्दैनन् ।
५) जातिय राजनीति गर्नेहरू;
योगी नरहरिनाथले एउटै परिवारका सन्ततिमा, ”गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, लामा, तामाङ, थकाली, थारु, दुरा, सन्थाल, कोचे, मेचे, धिमाल, मैथिल, भोजपुरी, सतार, राजी, नेवार, सुनुवार, दनुवार, हायु, मुर्मी, कुशहरि, पहरी, थाक्से, राउटे, कसुण्डा … ल्याप्चे, कोचे, मेचे, धिम्चा, खम्पा, घर्ती, खटाला आदि सबै गोर्खाहरू एउटै बाबुआमाका छोराछोरी हुन् । कामले भिन्न हुँदैमा जात भिन्न हुन्न, हुइयाँको हुरी चल्दैमा हिमाल हल्लँदैन, भाइ फुट गवाँर लुट गर्नुहुन्न…!” भनेर भन्नुभएको छ ।
तर जातियता उछालेर संकृण राजनैतिक रोटीसेक्न चाहने ध्रुतहरूले सबै जात जातिको अन्योन्याश्रित सम्बन्ध राखेर मिलेर बसेको सहँदैनन् र स्विकार्दैनन् । ( जात के हो? ) आधुनिक वैज्ञानिक अनुसन्धाताहरूले पनि सन्सारका धेरै मानवहरू हाल नेपाल लगाएतको हिमालय क्षेत्रबाटै फैलिएका वा कुनै न कुनै समयमा पटक पटक यहीँ फर्कदै फेरी गएका, यहाँ ओहरदोहर भैराखेको भन्नेकुरा स्विकारेका छन् । हेर्नुहवस् आधुनिक भाषाविद् जर्ज भान ड्रिम ले पनि‚ ‘संसारका धेरै मानिसका पुर्खा हालको नेपालबाटै गएका हुन् ( भनेका छन् ।
यावत कुराहरूहेर्दा थारूहरूलाई सनातन स्वधर्मको अन्योन्याश्रित सम्बन्ध र पुरानो गौरवपूर्ण इतिहासबाट बिछुट्याउनलाई प्रचक्रीहरूको अविच्छिन्न आघातलाई नै केही थारूहरूबाट पनि जानी नजानी पक्षपोषण गर्न लागिपरेको कुराको आभास हुन्छ ।
पुर्वाग्रह विना आधुनिक वैज्ञानिक अनुसन्धानहरू भएमा थारूका पूर्वजहरूको इतिहासमा प्रकाश पर्नगई स्वधर्म र गौरवपूर्ण इतिहास सबैलाई ज्ञात हुनजाने नै छ ।
थारू जातिको इतिहास प्रष्ट्याउने प्रमाणहरू हाम्रा दृ्ष्टिज्ञानले बुझ्न नसकेको अवस्था छ । यस्तो असमञ्जसमा इतिहास चिहाउन हामीलाई सहयोगी रहने कुराहरू;
👉 आवास क्षेत्र
👉 श्रुति स्मृतिग्रन्थ
👉 लिखत
👉 धर्म
👉 संस्कार
👉 रीति थिति
👉 भाषा
👉 भेषभूषा
👉 वंशावली
लगाएतको अध्ययन अनुसन्धानगरी सहायता लिनुपर्ने हुन्छ ।
नेपालका तराई एवम् भित्री मधेसका जिल्लाहरू झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सिराहा, रौतहट, महोत्तरी, सर्लाही, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देशी, कपिलवस्तु, दाङ्ग, बाँके, सुर्खेत, बर्दिया, कैलाली र कञ्चनपुर लगाएत इण्डियाका उत्तराखण्ड, उत्तर प्रदेश एवम् बिहार राज्यका नैनीताल, लखिनपुर खिरी, बहराईच, गोण्ड, गोरखपुर लगाएतका क्षेत्रमा थारूजाति सधन बस्तीहरूछन् ।
थारूहरूको अष्टमी (अष्टिम्की) मा कृष्णलीला गाउनु पहिले गर्ने प्रार्थना ‘सम्ह्रौटी’ ले पनि थारूको प्रचिन आवसक्षेत्र कहाँ पर्दछ कुन देवीदेवता प्रमुख रूपमा पुज्दछन् स्पष्ट संज्ञान मिल्दछ ।
पुराना लेखिएर संग्रहमा रहेका आजभन्दा लगभग पौने पाँचसय बर्ष पहिलेको टिपोट को ‘दङ्गी कथा’ छ जुन प्राकृत भाषामा लेखियको छ । यसमा अप्सरा उर्वशी र दङ्गीको प्रेम प्रसङ्ग हेर्दा महाभारत कालिन समय रहेको ज्ञात हुन्छ ।
प्रत्येक भुँह्यारथानमा पाँचपाण्डवका स्वरूप काठका पाँच प्रतिकहरू राखेर पूजने कुराले पनि यो कुरामा बल दिन्छ ।
गोरक्षनाथ र रत्नपरीक्षेक सम्वाद अध्ययन गर्दा रत्नपरीक्षेक संस्कृतमा र गोरक्षनाथ स्थानिए थारू भाषा र लवजमा सम्वाद गरेको संज्ञान हुन्छ ।
थारूका भाषाको लवजमा क्षेत्रअनुरको भिन्नता छ । थारू भाषा भारोपेली परिवारअन्तर्गत पर्दछ । नेपालमा पनि थारू भाषा मा फरक फरक लवजका छन् पूर्वीया र पश्चिमा थारूलाई डंगौरा थारू तथा पश्चिम नेपालकै अर्को समूहलाई राना थारू भनेर दुई समूहमा थारू भाषालाई वर्गिकरण गरेको पाइन्छ । भाषा सम्बन्धमा अध्ययन गर्नेहरूका अनुसार नेपालका थारूहरूको भाषालाई कसैले ३ भागमा र कसैले ९ भागमा भाषिकवर्गिकरण गरेको पाइन्छ । जसमा;
डा. गणेश खरालले ३ भागमा थारूभाषा छुट्याएका छन्;
१) पूर्वी थारू भाषा : नेपालको पूर्वी तराईमा बोलिने थारू बोली पूर्वी थारू भाषा हो । यसलाई ‘मोरङ् सप्तरिया’ पनि भन्न सकिन्छ । यस भाषिकामा मोरङिया, सप्तरिया र राजवंशिया तीन प्रमुख उपभाषिका छन् ।
२) मध्यपश्चिमी थारू भाषा : चितवन, बारा, पर्सा, रौतहट, र नवलपरासी जिल्लामा मध्यपश्चिमी थारू भाषा बोलिन्छ । यस भाषिकामा चितवनीयाँ र नवलपुरिया दुई प्रमुख उपभाषिका छन् ।
३) पश्चिमी थारू भाषा : दाङ्देउखुरी, सुर्खेत, बर्दिया, बाँके, कैलाली र कन्चनपुर जिल्लामा पश्चिमी भाषिका बोलिन्छ । यसका डंगौरा, डेउखुरिया, राना, कठरिया र डेसौरी गरी पाँच भेद छन् । डंगौराको मूल क्षेत्र दाङ् उपत्यका हो ।
गोपाल दहितले ९ भागमा बाँडेको देखिन्छ ।
(१) दङगहा
(२) देशौरी
(३) राना
(४) सप्तरिया
(५) चितौनिया
(६) देउखरिया
(७) भौंरहिया
(८) नवलपुरिया
(९) सुनसरिया
स्थानाअन्तरले बसाइसराई एवम् सम्बन्ध मा आएको समाजको भाषाअन्तरले उल्लेख गरेभन्दा अझैधेरै भाषिक अन्तर देखिन्छन् ।
थारू श्रुति स्मृति ग्रन्थहरू फूल्वार (शिव-पार्वती पुराण), बर्किमार (महाभारत), पाण्वयाणी (कृष्ण चरित्र) एवम् रामबिहग्रा (रामायणी राम चरित्र) जस्ता धेरै ग्रन्थहरू नै मुखाअग्र राखेर पुस्तौँ पुस्ता जोगाउँदै जोगाउँदै हालसम्म पनि जोगाई राखेकाछन् । अम्मर माटी (जलबाट धर्तीमा जीवनको सुरूवात), गुरूवावाकि जन्मौति (जीव देखि गुरूवावा सम्मको जीवन प्रारम्भ को ज्ञान) जस्ता धार्मिक श्रुति स्मृति ग्रन्थादि हरू लगाएत का थारू इतिहास भएका दङ्गी रज्वा, हिट्वा, शटलसिङ्ह रज्वा, बेन्टुरनिया रानी, सँप्वा रज्वा ऐतिहासिक स्मृति एवम् मिथक कथाहरु छन् । बाह्रै महिना गाइने गीतहरु बारमासा, सखिया, सिरुवा पावन, जटाजाटिन, सडियो धामी, छोक्रा, महोटिया, झुम्रा, बैठक्कु जस्ता लोकगितहरू छन् । माघ महिनामा गाइने माघौटा, हुर्दङ्गवा गीत, विवाहमा गाइने माँगर, गृष्म ऋतुमा गाइने सजना, शिशिर ऋतुमा गाइने मैना गीत, कृष्णाष्टमीमा गाइने अस्टिम्किक् गीत, शरद र हेमन्त ऋतुमा गाइने बर्किमार गीत, यसै गरी लोकगाथा, गाउँखाने कथा, उखान टुक्का, किस्साहरु जस्ता धेरै साहित्य हरूछन् । यिनीहरूको गहिरो अध्ययन अनुसन्धान गरेमा थारू इतिहासमा अवश्यमेव प्रकाश पर्नेनैछ ।
मकवानपुरका सेन राजा र मुगल सेना विचको नौरङ्गीया प्रगन्नाको सिमानामा युद्धमा भुपालराय थारूले वीरगति प्रप्त गरेकाले मरूहट विर्तामा उनका छोरा तर्पनारायणले ढोली गाऊँ पाएको र पछी कालान्तरमा लालमोहर हराउँदा तिन पनातिहरूले राजा राजेन्द्र शाह बाट उनिहरूको पुन: विर्ता थामिदिएको देखिन्छ । विक्रम संवत् १८२४ का लालमोहरहरू लगाएतका ऐतिहासिक दस्तावेजहरू उपलब्ध छन् जसमा सनातन संस्कार जोगाउन एवम् दक्षिण तिर फैलिदै आएको धर्महन्ता यवन (मुस्लिम) मलेच्छ (अङ्ग्रेज) सम्राज्यको विस्तार रोक्न श्री ५ महाराज धिराज पृथ्वी नारायण शाहको सेनामा पनि थारूहरू सम्मिलित भएर लडेको गौरवपूर्ण इतिहास छ ।
नरहरिनाथ लगाएत धेरैले संग्रह गरेका ऐतिहासिक थारू सामन्त रियासतदार रावहरूका वंशावली उपलब्ध छन् । यी लगायत थारू रज्वा वा राजा मानेका अन्य टिपोटहरू पनि उपलब्ध छन् ।
दाङ्गका थारू वंशावली;
वंशावली १ (महेश चौधरीको पुस्तक, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’ पृष्ट १५७ बाट थारू राजाको वंशावली)
१) दंगिशरण
२) लघुदंगी
३) अपरदंगी
४) चितलदंगी
५) अंगारदगी
६) मगरदंगी
७) सारंगदंगी
८) उरगसेन
९) माधवराज
१०) भदालसारानी
११) माणिक्यपरीक्षक
१२) रत्णपरीक्षक
वंशावली २ (महेश चौधरी को पुसतक, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’ पृष्ट १५७ बाट थारू राजाको वंशावली)
१) मानिकपारख
२) रतनपारख
३) दङ्गीशरण
४) तुईदाङ
५) उपरदाङ
६) चितलदाङ
७) अङ्गारदाङ
८) मङ्गरदा
९) सारिङदाङ
१०) उरगसेन
११) माधवराज
इतिहास एवम् वंशावलीहरूको संग्रह ‘सल्यानको इतिहास’ नामक पुस्तकका लेखक सङ्कलक तथा सम्पादक श्री नारायण शर्माले सङ्कलन गरेका दाङ्ग शल्यानका पुराना वंशावली मा थारू रीयासदका बारेमा यसरी उल्लेख गरीएको छ ।
थार राजस्थान हिमाचल प्रदेशको तलहटि खोच हुँदै आएका थारुहरु यत्रतत्र बस्न थालेको ३०० वर्ष विते पछि थारूलाई सरण दिने खस राज्य आन्तकारणले कम्जोर भयो । वि.सं. २ मा प्रगन्ना हेर्ने सामन्त भैसासुर महतोले आफु बसेको स्थान ओरपर आफै राज काज सम्बन्धि काम गर्न प्रारम्भ गरे । श्री भैसासुर महतोले आफ्नो छुट्टै राजघर बनाएको स्थानलाई भैसकुर्मा भनियो पछि उन्लाई सबैले राउ वा रज्ज्वा भन्न थाले ।
यसरी दाङ्गमा थारु राज्यको थालनी भयो । उनी पछि उनका जेठा छोरा श्रीधन सिंह महतो राजा भए, यिनी पछी नाती श्री रामुर महतो राजा भए । यिनी पछी धनाती श्री हिरा महतो राजा भए । यिनै हिरा महतोको पालामा थारुको सङ्खया पनि बढदै गएर शक्ति कस्ले हत्याउने होड चलेकाले राजखर कमजोर भएको जानी सुकौराकोटका श्री दानसिंह दनवारले भैसकुर्माका राजाको राज्य आफूले हडपे आफूलाई दाङ्गको राजा घोषित गरे पछी सबै थारुले उनैलाई राजा मान्न थाले । यसपछी भैसकुर्माका राजा हिरा महतो सुकौरा लखेटीइए । सुकोराको कोटकामा उनि सामन्त भई बसे । हिरा महतोले राज्य गुमायर सुकौरा रीयासतका सामन्त बनेर बसे पनि उनलाई राजा भनेकाले सुकौराको कोटलाई राजघर भनेको देखिन्छ ।
थारू रीयासद वा रज्वाको वंशावली समय काल सहित;
१) श्री भैसासुर महतो (वि.सं. २-७५ सम्म ७३ वर्ष)
२) श्री पद्मा महतो (वि.सं. ७५-१७० सम्म ९५ वर्ष)
३) श्री रुद्र महतो (वि.सं. १७०-४१० सम् म२४० वर्ष)
४) श्री बोगरेवा महतो (वि.सं. ४१०-६३५ सम्म २२५ वर्ष)
५) श्री धनसिंह महतो (वि.सं. (६३५-८८५ सम्म २५० वर्ष)
६) श्री रामुर महतो (वि.सं. ८८५-११५३ सम्म २६८ वर्ष)
७) श्री हिरा महतो (वि.सं. ११५३-१२२५ सम्म ७२ वर्ष)
१) श्री दान सिंह दनबार (वि.सं. १२२५-१३०० सम्म ७५ वर्ष)
२) श्री उपान्तिम थारु (वि.सं. १३००-१३१४ सम्म १४ वर्ष)
३) श्री उरग सिंह (वि.सं. १३१४-१३६४ सम्म ५० वर्ष)
४) श्री माधवसिंह (वि.सं. १३६४-१४२४ सम्म ६० वर्ष)
५ ) श्री उरद सिंह (वि.सं. १४२४-१४८५ सम्म ६१ वर्ष)
यिनीहरूकै वंशजहरु द्वारा देउखुरीको देवपुर, दाङ्गको कोर्वाङ्ग, बैवाङ्गमा समेतमा रीयासतहरु चलाएको इतिहासमा देखिन्छ । जो हाल बैवाङ्गका श्री पदम बहादुर थारु तेही बैवाङ्गका रीयासतकै सन्ततिहुन् । भनेर लेखकले उल्लेख गरेका छन् ।
यो पुस्तकमा जति स्पष्ट सँग मिती सहित खुलाएको अन्य ऐतिहासिक डकुमेन्सहरू फेला परेका छैनन् । यो वंशावलीमा थारू रज्ज्वा भैसकोर्मामा रहेको कुरा स्पष्ट उल्लेख छ । भौसकोर्मामा थारूहरूको इतिहासको अध्ययन अनुसन्धान गरेमा अवश्यमेव अरू धेरै इतिहासका नखुलेका पाटाहरूमा प्रकाश पर्ने मेरो व्यक्तिगत ठम्याई पनि छ ।
दाङ्गमा थारूहरूको पहिलो बस्ति बसेको कोर्बाङ्गको नाम थारूहरू उक्तस्थानमा आउनु भन्दा पहिले सल्यानको कोर्बाङ्गमा आएर बसेको तर तेहाँको वातावरणमा घुलमिलहुन नसकेर दाङ्गमा सरेका, सरेको उक्तस्थानलाई पनि पछी कोर्बाङ् नै भनेको भन्ने किम्बदन्ती सल्यान कोर्बाङ् गाउँमा अँझै पनि सुनिन्छ ।
थारूहरू प्रकृति पूजक, बौद्ध वा सनातन हिन्दू कुन धर्मका हुन? भन्ने कुरा धेरै विद्वानहरूका धेरै फरक फरक मत राखेको पाउछौँ । विदेशी र आधुनिक वामपन्थि विद्वानहरू जस्लले हिन्दू धर्ममा आस्था राख्दैनन् तीनीहरूले थारूहरू प्रकृति पूजक मात्र वा बौद्ध धर्मालम्वी नै हुन भनेर किटानी गर्दछन् । यसरी किटानी गर्दा थारूजातिको प्राचिण सनातन हिन्दू श्रुति स्मृति ग्रन्थले संमृद्ध जीवन पध्दति नै उपेक्षित हुन्छ, जो उनिहरूको जन्म देखि मृत्यू सम्मका सबै उत्सव पर्व एवम् संस्कारहरूमा घुलेररहेको छ यहि कुरालाई नै चटक्कै नजर अन्दाज गरेर ऐतिहासिक अनुसन्धान गर्ने गरेका छन् ।
यस्तो गर्ने विद्वानहरूले थारूहरूको इतिहास बौद्धको स्थविर शब्दबाट अपभ्रंश भएर नै थारू भएको हो भनेर ठोकुवानै गर्दछन् र बौद्ध धर्ममा लगेर जोड्दै कोलिय वंश र यसकै वरीपरी घुमाई राख्छन् ।
प्रकृतभाषामा लेखियको दङ्गी शरण कथामा दङ्गी शरण शिकारमा जाँदा अप्सरा उर्वशी सँग भेटभै प्रेममा परेर आफ्नो दरवारमा ल्याएर राखेको कुरा र पाँच पाण्डवका भिमले सहयोग गरेका, दङ्गी शरणले श्रीकृष्णलाई श्रद्धाले पूजागर्ने कुराहरूले यो समयकाल द्वापर युग भएको र हिन्दू संस्कारका भएको कुरामा बलदिन्छ ।
थारूजातिमा श्रुति स्मृति परम्परामा अँझै मोहरीन्या (स्मृति ग्रन्थका गीतहरू नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने जानकार अग्रज) हरूले फूल्वार (शिव-पार्वती पुराण), बर्किमार (महाभारत), पाण्वयाणी (कृष्ण चरित्र) एवम् रामबिहग्रा (रामायणी राम चरित्र) जस्ता धेरै ग्रन्थहरू नै मुखाअग्र राखेर पुस्तौँ पुस्ता जोगाउँदै जोगाउँदै हालसम्म पनि जोगाई राखेकाछन् । कृष्णाष्टमीमा निरहार व्रत बसेर धुमधामका साथ काँधा (कृष्ण) को पूजाआजा गरी मनाउने गर्छन् । घरभित्रको मूल भित्ता वा डेहरी (माटोको भकारी) मा कृष्णाष्टमी मा पाण्डवयानी (कृष्णचरीत्र) र आफ्नो इतिहासको गाना गाउँदै तेही गानाका आधारमा चित्रहरू उकेर्छन् जो आफ्नै इतिहासको सजीव चित्रण हो । महत्वपूर्ण चाड अत्वारीमा पनि भिवाँ (पाँच पाण्डप मध्यका भिम) लाई एकातर्फबाट मात्र नफर्काई पकएको रोटी चढाएर पूजागर्छन् । भूँइह्यार पूजा गर्दछन् ।
सनातन हिन्दू देवी देवताको पूजा आरधना गर्ने धार्मिक आचरणले नितान्त हिन्दू नै रहेको संज्ञान हुन्छ ।
थारूहरूले नै स्थापना गरेका सुक्रेश्वरी, सतीदेवी, पाटेश्र्वरी, गढ़ीमाई, हंसेश्वर महादेव मन्दिर, स्वमेश्वर कालीका, शिवालय, बराहा जस्ता अनेकन् मन्दिरहरू छन् जुन मन्दिरहरूमा सनातन् हिन्दू धर्मकै देवी देवताहरूको पूजा आरधना गरिन्छ ।
अष्टमीमा (अष्टिम्की) रातभरी कृष्णलीलाका गीत गाउने, नाच्ने गर्दछन् । गीत गाउनुभन्दा पहिले सबै दिशाका देवीदेवता भूह्याँरलाई स्मरण गरेर मात्र कृष्णलीलाका गीतको सुरुवात गर्दछन् । जुन यसप्रका छ;
सम्ह्रौटी
पूरुब मै सुमीरौ सुरज गोसाइँ
पछिउँ मै सुमिरौ निरञ्जन देवी खरतारे ।।१।।
उत्तरे मै सुमिरौ हरि कविलासे
दक्षिण सुमिरौ शिव जगन्नाथ ।।२।।
आकाश सुमिरौ इन्द्र ओ चन्द्र
पाताल सुमिरौ बासुकी नाग ।।३।।
पहिल मै सुमिरौ गउँकी भुइह्यार
हमारी मेररिया दिउँता करही रक्षा पाल ।।४।।
दिहबु मै सुमिरौ देउ देवारिन
हमरी मेररिया करो रे रक्षा पाल ।।५।।
मेररिया मझिमारे सुमिरौ मै टुही
कण्ठ बैठो मोर गीत देहूँन सिखाइ ।।६।।
[भावार्थ: पूर्व दिशामा सूर्य देवतालाई स्मरण गरौँ, पश्चिम दिशामा रमझम निरञ्जना देवीलाई स्मरण गरौँ, उत्तर दिशामा पाटन देवी (हरि कविला) लाई स्मरण गरौँ, दक्षिण दिशामा शिव एवम् जगन्नाथलाई स्मरण गरौँ, आकाशमा इन्द्र र चन्द्रलाई स्मरण गरौँ, पातालमा बासुकी नाग देवता र ग्रामदेव भुइँह्यारको स्मरण गरौँ, हामीसबैको देवीदेवता ले रक्षा र पालन गर्नुहोस ! हाम्रा स्वरमा भगवानहरू बसेर गीत गाउन सिकाइ दिनुनुहोस्
यस्तो प्रार्थना गरेपछि मात्र कृष्णलीलाका गीत गाउन सुरूगरीन्छ ।
तर पनि कति ले थारूको धर्म इतिहासमा शङ्का गर्दछन् र थारूको इतिहासनै छैन भन्छन् ! तेस्तो शङ्का गर्नेहरूलाई थारूकै जलबाट धर्तीमा जीवनको विकास कसरी भयो ? भन्ने जीव विकासको वैज्ञानिक ज्ञान स्मृतिग्रन्थ ‘अम्मर माटी’ एवम् प्रलय, प्रलय पछि को जीवन एवम् किटपतङ्ग देखि मानव र गुरूवावाको जीवन सृजनको ‘गुरूवावाकि जन्मौति’ जस्ता अनेकन ऐतिहासिक ज्ञानका ग्रन्थहरूनै गीतमा गाउने, थारूहरूको इतिहास थाहा नभएर होला यात थारूको गर्विलो धार्मिक इतिहास जानीजानी धमिल्याउने ध्येयले तेस्तो भनेको हो !
या त कि संघियताका बहानामा देशलाई हरियोकाँक्रो जसरी सम्पूर्ण तराई क्षेत्रलाई तररर चिरेर छुट्टै प्रदेश बनाउन खोज्दा थारूहरूको विरोधले गर्दा नपाएको आरिसले पनि भनेको हुनसक्छ !
यस्ता सनातनी हिन्दूसंस्कार मान्ने र हिन्दूसंस्कारका ग्रन्थादि श्रुति स्मृतिमा गीत गाऊँदै जोगाइराख्ने थारूहरूलाई नै, ‘थारूहरू त बौद्धमात्र हुन् !’ यानि हिन्दू हैनन् भनेर प्राचिन सनातन इतिहास विथोल्न खोज्ने धुर्तहरूदेखी सबै सावधान रहनु नै पर्दछ !
पितापूर्खाको संस्कारबाट विथोल्ने प्रयास कस्ले गर्दछन् !?
सनातन देखि बलियोसँग समाजमा गढेर बसेका संमृद्ध धर्म संस्कार परम्पराहरू जहाँ जहाँ छन् त्यो समाजमा धर्म परिवर्तन गराउने रीलिजनका व्यापारीहरूले उनिहरूको रीलिजन फैलाउनै सक्दैनन् । उनिहरूको आफ्नो रीलिजन कसरी फैलाउने भन्ने ध्याउन्नमा रहेका शिकारीहरूले समाजका परम्परागत रीति थिति धर्म भाषा भेषभूषा संस्कार एवम् इतिहासमा विद्वान् विज्ञ डा. भनौदा आफैले ग्रोमिङ्ग गरेका तेहि समाजका घातिहरू द्वारा आफ्नै पितापूर्खाको इतिहासमा प्रहार गराउँछन् । यो Correspondence Theory हो । यो सिद्धान्तमा समाजमा तेहि समाजको आफ्नै परम्परागत रीति थिति धर्म भाषा भेषभूषा संस्कार एवम् इतिहास देखि गुमराहा पारेर यताउता खेलाउँदै खेलाउँदै गिजोलेर पूर्खाको धर्मबाट विछुट्याए पछि रीलिजनका शिकारीले आफ्नो रीलिजनमा बल्झाउँछन् ।
यसरी बलियो सँग स्वधर्म स्वसंस्कार जनजीवनमै लवाई खवाई बोलीचाली नाचगान चाड पर्व, सबैतिर घुलेको रैथानेहरूलाई, यो तिमीहरूको हैन ! अर्कैको हो भनेर पर्गेल्दै विछुट्याउन सके मात्र प्रचक्रीले रीलीजनका शिकारका लागि थापेको उस्को जालमा उनहरूलाई बल्झाउन सक्ने धेयले यस्तो प्रपोगण्डा गर्दछन् । यस्तो गर्ने छद्म रीलिजनका शिकारीहरू वा शिकारीका मतिमा परेकाहरूले फैलाएको भ्रमजाल हो !
यस्तो भ्रमजालमा कोहि नपरून !
सबैको अआफ्ना पितापूर्खाको स्वधर्म संस्कार रीति थिति भाषा भेषभूषा सबै जोगाई अआफ्ना सन्ततिलाई बुझाउने चेतना हामी सबैमा जागोस !
सबैलाई चेतना भया !
– रोशण शाहा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.