असाेज ३ ,शुक्रबार

देशमै नमूना र उदाहरणीय नगरपालिका बन्दै आएको रंगेली नगरपालिकाले तत्काल सेवा सुचारु गरेको छ । भदाे २४गते जेनजी आन्दोलनका नाममा जेनजी समूहलाईनै बदनाम गर्नेगरी घुसपैठ गरि नगरपालिका र वडाहरुमा अराजक तथा अपराधिक समूहले तोडफोड, आगजनी र लुटपाट समेत भएको थियोे ।
लुटपाट, तोडफोड र आगजनीबाट नगरपालिकाको मुख्य प्रशासकीय भवन र चारवटा वडा कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त हुँदा हालको अवस्थामा नगरवासीहरुलाई सेवा दिन सक्ने अवस्था नभएता पनि नगरले त्रिपाल टाँगेर सेवा सुचारू गर्ने सफल भएको छ । नगरपालिकाकाे प्रशासकीय भवन, वडा नम्बर ६, ७, ८ र ९ नम्बर वडा कार्यालय भित्र भित्र रहेका सम्पूर्ण सामान जलेर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

केही सानातिना सामानबाहेक महत्वपूर्ण दस्तावेज, कम्प्युटर, प्रिन्टर, ल्यापटप, उपकरणहरु, कागजात, फर्निचरलगायतका सामानहरु पूर्णरुपमा सवै जलेर नष्ट भएको रंगेली नगरपालिकाले जनाएको छ । सोही कारण सेवा प्रवाहमा कठिनाई हुने भएपछि नगरपालिकाले बैकल्पिक उपाय निकाल्न लागेको हो । अहिले रंगेली नगरपालिकाले तोडफोड तथा आगजनीबाट नष्ट भएका सामानहरु हटाउँदै सरसफाई सुरु समेत गरेको छ ।

सरसफाईमा नगरपालिकाका कर्मचारी, नगर प्रहरी, सरसफाईकर्मीहरु जुटिरहेका छन् । सरसफाई पछि तत्कालै प्रशासकीय भवन र वडा कार्यालयहरुको पुननिर्माण गरिने बताइएको छ । जसका लागि विशेष नगरसभाले सोमबार निर्णयनै गरिसकेको छ । नगरले तत्कालै त्रिपाल टाँगेरै भएपनि सेवा सुरु गर्ने रंगेली नगरपालिका पहिलो पालिका भएको स्थानीयले बताए । रंगेली नगरपालिकाका नगर प्रमुख दिलिप बगडीयाले अहिले प्रशासकीय भवन र चार वटा वडा कार्यालयहरुबाट सेवा दिनसक्ने अवस्था नरहेकाले तत्कालका लागि त्रिपाल टाँगेर सेवा सूचारु गरिने बताए ।

रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले नगरवासीलाई दुःख नहोस भनेर त्रिपाल टाँगेरै सेवा दिन सुरु गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत रंगेलीबासीका अनुसार जेनजी उमेर समूहका युवाहरुले शान्तिपूर्णरुपले आन्दोेलन गरेर फर्किएपनि उक्त समूहको नाममा घुसपैठ गरि तोडफोड, आगजनी र लुटपाट गर्ने केही कुकर्मले समाजमा गन्हाएका व्यक्तिहरु हुन् । यस्तो कूकर्ममा संलग्न व्यक्तिहरु कानुन बमोजिम दण्डको भागिदार छन् । त्यसैले सार्बजनिक तथा सरकारी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट जस्तो अपराधमा संलग्न व्यक्तिहरुको पहिचान गरि खुट्टा नकमाई राज्यका निकायहरुले दण्डित गर्न जरुरी छ । आन्दोलनका कार्यक्रम विपरित आगजनी, तोडफोड र लुटपाट गरि जेनजीको बद्नाम गर्ने व्यक्तिहरुलाई असली जेनजीहरुले खोजी गरि कानुनलाई सघाउने समेत बताए ।