'कानेपोखरीमा हात्ती आतंक : नगर प्रहरीको रात्रीकालिन गस्ती ।थारू पाेर्टल'

December 2, 2025

विज्ञापन
No data was found

कानेपोखरी  मँसिर।१७।

विद्यानन्द चाैधरी 

 कानेपोखरी गाउँपालिका–५ जहदामा केही दिनयता प्रवेश गरेको जंगली हात्तीको समूहले धान, मकै, केराखेती, उखु लगायतका अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ। हात्तीको आक्रमणले स्थानीय बासिन्दाका घरपरिवारमा समेत महत्वपूर्ण नोक्सानी पुगेको स्थानीयले बताएका छन्।

पीडित क्षेत्रको अवस्थाबारे जानकारी लिन गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम, प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव सहितको टोलीले स्थलगत अनुगमन गरेको छ।

अनुगमनका क्रममा अध्यक्ष इङ्गनामले स्थानीयवासीलाई
“रातिको समयमा विशेष सतर्कता अपनाउन” आग्रह गर्दै, पालिकाले आवश्यक समन्वय, राहत तथा सुरक्षा व्यवस्था मिलाउन आवश्यक कदम चालिने जानकारी दिनुभएको छ।

यसैबीच, हात्तीको बढ्दो गतिविधिले स्थानीय जनजीवन त्रसित भइरहेका बेला कानेपोखरी नगर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै निरन्तर रात्री गस्ती सञ्चालन गरिरहेको छ। पछिल्ला केही दिनदेखि प्रहरी तथा स्थानीयवासीको संयुक्त टोलीले साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म हात्ती प्रभावित क्षेत्रहरूमा गस्तीलाई सुदृढ पारेको छ।

नगर प्रहरीले हात्ती आतंक कम नहुँदासम्म रात्री गस्ती निरन्तर जारी रहने  नगर प्रहरी प्रमुख युवराज भुजेलले जानकारी दिनुभयाे ।नगर प्रहरीका अनुसार पछिल्ला ४ दिनदेखि प्रत्येक साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म स्थानीय गाउँलेहरूको साथमा हात्ती प्रभावित क्षेत्रमा नियमित गस्ती जारी राखिएको छ।

नगर प्रहरीका भुजेलले भने,
“हात्तीको जोखिम बढ्दो छ। स्थानीयबासीलगायत सबैको सुरक्षालाई प्राथमिकतामा राखेर रात्री गस्तीलाई निरन्तर बनाइएको छ।”

स्थानीय बासिन्दाले पनि नगर प्रहरीको सक्रियताले आफूहरू सुरक्षित महसुस गरेको बताउँदै आवश्यकता परे थप सुरक्षाकर्मी परिचालन गर्न सुझाव दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.