कानेपोखरी ।मंसिर,१६।

कानेपोखरी गाउँपालिकाले वडा नं. ५ स्थित भौसाबारीमा आफ्नो प्रशासकीय भवनको शिलान्यास गरेको छ । सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरी भवनको शिलान्यास गरिएको हो । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकीय प्रमुख हिराकुमारी यादवले भवन निर्माणको लागि खनिएको खाल्टोमा ईटाजोडी भवनको शिलान्यास गरेका हुन । प्रशासकीय भवन ३ तले निर्माण हुने छ ।
जमिन तला १२ कोठा, पहिलो तला १४ कोठा र दोस्रो तला १४ कोठा निर्माण हुने भएको छ । त्यस्तै कार्यपालिका र न्यायिक समितिको बैठक हल र सभा हल समेत रहने प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जानकारी दिइन् । वरिपरी कम्पाउण्ड र दुई वटा गेट रहने स्टीमेटमा रहेकोछ । भवनको अर्च डिजाइनर्स एण्ड डेमलोपरर्स र श्रीमान कन्ट्रक्सनले भ्याट सहित १० करोड ९७ लाख ७० हजार २ सय ७८ रुपैयामा ठेक्का लिएको छ ।

निर्माण कम्पनीले गाउँपालिकासँग मिति २०८२,०७,२७ गते सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले मिति २०८४,०७,२७ गते भवन निर्माण सम्पन्न गरी पालिकालाई बुझाउनुपर्ने सम्झौता रहेको छ । कार्यक्रममा वडा अध्यक्षहरु चरण गुरुङ, गोपाल बहादुर कार्की, मोहन प्रसाद अधिकारी, रमेश राउत र रत्नबहादुर कार्की उपस्थित रहेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्यहरु उपस्थित थिए ।

कार्यक्रममा एमालेबाट गाउँपार्टी उपाध्यक्ष कृष्ण थामी र नेपाली कांग्रेस गाउँ सभापति योगेन्द्र दाहाल, समाजसेवी चन्द्र खड्काले शुभकामना मन्तव्य राखेका थिए । गाउँपालिका अध्यक्ष राजमति इङ्नामको सभाअध्यक्षमा भएको कार्यक्रममा गाउँपालिका प्रशासन शाखा प्रमुख मचिन्द्र थलङले कार्यक्रम संचालन गरेका थिए । स्वागता मन्तव्य वडाध्यक्ष चरण गुरुङले गरेका थिए ।