कानेपाेखरी।पुस।२२
विद्यानन्द चाैधरी

बढ्दो रासायनिक बिषादी प्रयोगलाई नियन्त्रण गर्ने उद्देश्यले जैविक बिषादी बनाउने तालिम जनज्याेती कृषि सहकारी सँस्था कानेपाेखरी ३ ले पुस २४ गते बिहीबार, बिहान ११ बजे देखि सँचालन गर्ने भएको छ। उक्त तालिम संस्थाको आयोजनामा तथा कृषि ज्ञान केन्द्र, मोरङको प्राविधिक सहयोगमा आयोजना गर्न लागिएको जानकारी सँस्था अध्यक्ष दिवश प्रसाद दाहालले जानकारी दिनुभयाे ।

तालिममा २० देखि २५ जना सहभागी रहने जनाइएको छ।कृषि क्षेत्रमा रासायनिक बिषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य, माटो तथा वातावरणमा नकारात्मक असर परिरहेको अवस्थामा जैविक विकल्पको प्रयोगलाई प्रवर्द्धन गर्न तालिम आयोजना गरिएको आयोजकले जनाएको छ। तालिममा जैविक बिषादी तयार गर्ने तरिका, प्रयोग विधि र यसको महत्वबारे व्यावहारिक जानकारी प्रदान गरिने कुरा अध्यक्ष दिवश प्रसाददाहालले बताउनु भयाे ।
।
आयोजकका अनुसार यस किसिमका तालिमले सुरक्षित, दिगो तथा वातावरणमैत्री कृषि प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जैविक बिषादी निर्माणका लागि स्थानीय सामग्री प्रयोग गरिने
अध्यक्ष दिवश प्रसाददाहालका अनुसार तालिममा तितेपीरो, पिरो टर्रो अमिलो प्रजातिका वनस्पति, निम, बकाइनो, धतुरो, असुरो, लसुन, प्याज, खोर्सानी, तुलसीको बोट, मेवाको पात, बोजो, तितेपाती लगायतका सामग्री प्रयोग गरिने जनाइएको छ। साथै जैविक बिषादी तयार गर्न ५ के.जी. गाईको गहुँत, १० लिटर गाईको गोबरको झोल तथा १० के.जी. खरानी प्रयोग हुने बताइएको छ।

उक्त सबै सामग्री स-साना टुक्रामा काट्नका लागि खुकुरी/काट्ने औजार आवश्यक पर्ने आयोजकले जानकारी दिएका छन्। तालिममा सहभागीहरूलाई जैविक बिषादी बनाउने तरिका, प्रयोग विधि र यसको फाइदाबारे व्यावहारिक ज्ञान दिइनेछ।
आयोजकका अनुसार स्थानीय स्तरमै सहज रूपमा पाइने सामग्री प्रयोग गरेर तयार गरिने जैविक बिषादीले माटो, वातावरण तथा मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।