पुस ,२७ ।आईतवार
रबिन्द्र बराल

मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पुस २६ गते शनिबार आफ्नो १६औँ वार्षिक साधारण सभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ। विगतमा सहकारी संस्थाहरूले साधारण सभामा राजनीतिक दलका नेताहरूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने परम्परा रहे पनि पछिल्लो समय देखिएको सामाजिक चेतना र Gen-Z आन्दोलनको प्रभावपछि सहकारी संस्थाहरूले आफ्नै सेयर सदस्यहरूलाई प्राथमिकतामा राख्न थालेका छन्।
सोही अभ्यासअनुसार यस वर्षको साधारण सभामा संस्थाका ज्येष्ठ सेयर सदस्य धर्मचन्द राजवंशी लाई प्रमुख अतिथिका रूपमा सहभागी रहेको थियो। कार्यक्रममा विशिष्ट अथिति सुजित कुमार मण्डल, भूपेन्द्र कुमार मण्डल र पुष्पा मिश्रको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष सन्तोष कुमार मण्डलको अध्यक्षतामा सभा सञ्चालन गरिएको थियो। साधारण सभामा वर्तमान परिवेशलाई ध्यानमा राख्दै Gen-Z पुस्ताका प्रतिनिधि चन्दनी यादव र नितेन्द्र मण्डललाई विशेष वक्ताका रूपमा प्राथमिकता दिइएको थियो।

उहाँहरुले सहकारीको व्यवस्थापन, उत्तरदायित्व, पारदर्शिता तथा सदस्यको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गर्दै सहकारीलाई सुधारमुखी र युवामुखि दिशामा लैजानुपर्ने र थप अवसर हरु सृजना गर्ने आवश्यकता औँल्याएका थिए । कार्यक्रममा सेयर सदस्य तथा साधारण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, आय–व्यय विवरण र आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो।
छलफलका क्रममा ग्रामलक्ष्मी सहकारीले सदस्य केन्द्रित बजारिकरणलाई आफ्नो मुख्य रणनीतिक दिशाका रूपमा अघि बढाउँदै दुग्ध, धान, मकै लगायत सदस्यद्वारा उत्पादित कृषि उपजको संगठित बजारिकरण, मूल्य सुनिश्चितता र स्थानीय बजार सुदृढीकरणमा जोड दिने स्पष्ट गरिएको थियो।कार्यक्रममा सहभागी सदस्यहरूले सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्य मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। संस्थाले आगामी दिनमा सेवा विस्तार, प्रविधिमैत्री प्रणालीको विकास तथा उत्पादनमूलक र बजारमुखी क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता जनाएको छ।