उर्लाबारी ।
उर्लाबारी-३ मंगलबारे शान्ती सहकारी टोलस्थित प्रतिमा पोखरेलको घरबाट ४ जना युवाहरु प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन् ।
गत शुक्रबार दिउसो करिव १ बजे पोखरेलको घरमा उनकै देवर पंकज पोखरेल सुत्ने कोठामा केही मानिसहरू भेला भई प्रतिबन्धित लागुऔषध खरिदबिक्री हुँदै गरेको भन्ने गोप्य सुचना पाएलगत्तै उर्लाबारी प्रहरीको टोलीले पंकजसहित ४ जनालाई १ग्राम ३सय २० मिलिग्राम खैरो हिरोईन (ब्राउन सुगर) सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
प्रहरीकाअनुसार उक्त कोठामा तलासी लिदा सो कोठाको दक्षिणपूर्वमा रहेको झ्याल नजिकको भित्ता छेउमा कालो प्लाष्टिकमा सानो सानो २ पोकामा राखिएको अवस्थामा प्रतिबन्धित खैरो हिरोईन (ब्राउन सुगर) फेला परेको थियो।
पक्राउ पर्नेमा स्थानिय ३४ वर्षिय पुरुषोत्तम पोखरेल, २० वर्षिय नितेश महत र पंकज पोखरेल र सिवसतासी नगरपालिका वडा नम्बर १० का ४३ वर्षिय सुरेन्द्र प्रसाद पोखरेल रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।
पक्राउ परेका चारै जनालाई आईतबार मोरङ जिल्ला अदालतबाट ५ जिनको म्याद थप गरि हिरासतमा राखिएर अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक दासले बताए ।
उर्लाबारी प्रहरीले यसअघी समेत मंगलबारे क्षेत्रमा पटकपटक प्रतिबन्धित लागुऔषध सहित युवाहरुलाई पक्राउ गरेको थियो ।
पछिल्लो समय उर्लाबारी प्रहरीले लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेहरुलाई निगरानीमा राखेर धमाधम पक्राउ गर्दै आएको छ ।
प्रहरीले त्यस्ता व्यक्तिहरुलाई शंकास्पद देखिएमा तत्काल खानतलासी लिने जनाएको छ ।