भाद्र १० साेमबार
रबिन्द्र बराल
महोत्तरीको जलेश्वर नगरपालिका २ मालिवडामा सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल , नेपाल गुल्म जलेश्वरबाट मालिवडा बसपार्क इलाकामा खटिएको इन्स्पेक्टर गान्धर कुमार चौलागाईंको कमाण्डको ड्युटी टोलीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको विआर ३१ एके ८८०७ भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको छ ।
कारमा वैधानिक स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँ फेला पारेको हो । कारमा सवार भारतीय नागरिकहरु जिल्ला वैशाली हाजिपुर नगर ठेगाना भएका वर्ष ३४ का ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमारलाई स्रोत नखुलेको उक्त रकम सहित पक्राउ गरिएको छ।
भारतीय पाँच सय, दुई सय र एक सय दरका नोटहरू हरियो रंगको झोलामा राखी कारको डिक्कीमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला परेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ गरिएका व्यक्ति तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने जलसागर स्थित सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिएका छन् ।