विराटनगर।भदाै १४
विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरिएको भन्दै सिटी सफारी चालकहरुले सडक अवरुद्ध बनाएका छन्।रानी सिमादेखि विराटनगर ढाटसम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको भन्दै कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्ड अवरुद्ध बनाएका हुन्। यातायात सञ्चालनमा अवरोध गर्दै उनीहरुले शुक्रबार अपराह्न १२ बजेदेखि राजमार्ग बन्द गराउँदा सवारी आवागमन प्रभावित बनेको छ ।कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्ड सिटी सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गर्न थालेपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन। यसअघि सफारी चालकहरुले विराटनगर महानगरपालिका कार्यालय अगाडि समेत प्रदर्शन गरेका थिए ।
राजमार्गमा सिटीसफारी गुड्न पाउने मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् । सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवाज उनीहरुले उठाएका छन् । सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँगको सहकार्यमा नयाँ नियम लागू गर्दै अब यो नियम अगाडि बढाउन लागेको छ । त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका हुन् । विराटनगरमा अहिले लगभग८ हजार भन्दा बढी सिटी सफारी चल्दै आएका छन् । तर विराटनगर महानगरपालिकामा भने करिब दुई हजार सिटी सफारी दर्ता भएको उल्लेख गरिएको छ ।