चैत्र ४ बुधबार
रबिन्द्र बराल।

मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आएको एक परिवार यतिबेला चरम आर्थिक तथा स्वास्थ्य संकटमा परेको छ।विगत ३० वर्षदेखि १० धुर ऐलानी जग्गामा बस्दै आएका ६५ वर्षीय फुलुवा पासवान विगत सात वर्षदेखि प्यारालाइसिसका कारण ओछ्यानमै थलिएका छन्। समयमै उपचार गराउन नसक्दा उनी जीवन–मरणको अवस्थामै संघर्ष गरिरहेका छन्।

उनकी श्रीमती जशियादेवी पासवान पनि लामो समयदेखि घुँडाको समस्याबाट पीडित छिन्। आर्थिक अभावका कारण उचित उपचार हुन नसक्दा परिवारमा झन् समस्या थपिएको छ।परिवारका ६ जना छोराहरूले सक्दो प्रयास गर्दै बुबाआमाको उपचारमा खर्च गरे पनि स्वास्थ्यमा सुधार नआएपछि परिवार थप चिन्तित बनेको छ।

कान्छा छोरा धर्मेन्द्र पासवान, जसले पहिले जनमजदुरी गरेर परिवार धानेका थिए, आफैं पनि विगत चार वर्षदेखि बिरामी छन्। उनको उपचारका लागि कोशी अस्पताल, विराट टिचिङ अस्पताल, नोबेल अस्पताल लगायतका अस्पतालमा लगिएको थियो।चिकित्सकका अनुसार धर्मेन्द्रको घाँटीमा नसा च्यापिएको छ र तत्काल शल्यक्रिया आवश्यक रहेको बताइएको छ। यसका लागि उनलाई बीर अस्पताल परिसरस्थित काठमाडौं न्यूरो सेन्टर मा उपचार गराउन सल्लाह दिइएको छ। समयमै उपचार नभए हातहरू बिस्तारै सुक्दै जाने र अवस्था झन् जटिल बन्ने चिकित्सकको चेतावनी रहेको जशियादेवीले बताइन्।
पीडित परिवारका अनुसार हालसम्म उनीहरूले स्थानीय सरकारबाट कुनै ठोस सहयोग पाएका छैनन्। वडा अध्यक्ष कमल मोक्तानले आर्थिक सहयोगका लागि सिफारिस पत्र दिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको गुनासो परिवारले गरेका छन्।
आर्थिक रूपमा कमजोर र स्वास्थ्य समस्याले थलिएको पासवान परिवार अहिले सहयोगको पर्खाइमा रहेको छ।