'रतुवामाई नगरपालिकाको जेसीबी तीन महिनादेखि ग्यारेजमा थन्कियो, सम्बन्धित निकाय मौन ।थारू पाेर्टल'

April 21, 2026

विज्ञापन
No data was found

बैशाख ८, मंगलबार
रबिन्द्र बराल

मोरङको रतुवामाई नगरपालिकाले जनताको करबाट खरिद गरेको जेसीबी (जेसिभी) विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको छ। वर्षायाम लगायत आपतकालीन समयमा जनताको काम छिटो–छरितो रूपमा सम्पन्न होस् भन्ने उद्देश्यले केही वर्षअघि नगरपालिकाले उक्त जेसीबी खरिद गरी सञ्चालनमा ल्याएको थियो।

तर हाल उक्त जेसीबी विगत तीन महिनादेखि झापाको दमकस्थित अटो सर्भिस सेन्टरमा मर्मतको नाममा राखिएको खुलासा भएको छ। नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंह गनगाईलाई जेसीबीको अवस्थाबारे प्रश्न गर्दा उनले “७ दिनअघि मात्रै मर्मतका लागि दमक पठाइएको” बताएका थिए। तर ग्यारेज सञ्चालकले भने उक्त जेसीबी तीन महिनादेखि आफ्नै ग्यारेजमा रहेको जानकारी दिएका छन्।

ग्यारेज सञ्चालकका अनुसार केही महिना अघि नगरपालिकाले जेसीबी पूर्ण रूपमा मर्मत गरेर सञ्चालन योग्य बनाउन कति खर्च लाग्छ भन्ने एस्टिमेट मागेको थियो। उनले करिब ३ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमानसहित एस्टिमेट बुझाएको बताए।

तर पछि नगरपालिका प्रतिनिधिले “सामान्य ५ हजारदेखि १० हजार रुपैयाँसम्म मात्रै खर्च हुने गरी मर्मत गर्नु, नभए मर्मत नगर्नु, सामान्य रूपमा चले पुग्छ” भन्ने निर्देशन दिएको उनले बताए। त्यसअनुसार आफूले करिब ७ हजार रुपैयाँ खर्च गरेर सामान्य मर्मत प्रयास गरे पनि जेसीबी पूर्ण रूपमा नबन्ने अवस्था भएपछि थप मर्मत नगरेको उनले स्पष्ट पारे।

उनका अनुसार समयमै आवश्यक मर्मत, मोबिल परिवर्तन तथा अन्य प्राविधिक हेरचाह नगर्दा अहिले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको हो। चालकको लापरवाही र नियमित मर्मतसम्भारको अभावका कारण नगरपालिकाले यस्तो ठूलो क्षति बेहोर्नुपरेको उनले टेलिफोनमार्फत जानकारी दिए।

लामो समयदेखि नगरवासीले आफ्नै सम्पत्ति कहाँ र कुन अवस्थामा छ भन्ने चासो नदेखाउनु, साथै नगरपालिकाले पनि जेसीबी बिग्रिएको तथा मर्मतका लागि पठाइएको विषय सार्वजनिक नगर्नु गम्भीर लापरवाही भएको स्थानीयको भनाइ छ।जनताको करबाट खरिद गरिएको सार्वजनिक सम्पत्तिको यति ठूलो बेवास्ता हुँदा पनि सम्बन्धित निकाय मौन बस्नुले थप प्रश्न खडा गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.