बैशाख १७, बिहीबार

फिटनेस केवल बडी बिल्डिङमा सीमित नभई दैनिक जीवनका सम्पूर्ण शारीरिक गतिविधिसँग जोडिएको विषय भएको प्रशिक्षक कुन्दन मिश्रले बताएका छन्। हिँडडुल, योग, साइक्लिङ वा सामान्य गतिविधिले पनि शरीरलाई सक्रिय राख्दै फिटनेस कायम गर्न मद्दत गर्ने उनको भनाइ छ।


उनका अनुसार फिट रहन ‘इट गुड, ट्रेन गुड र स्लिप गुड’ मुख्य आधार हुन्, जसमा खानपानको भूमिका सबैभन्दा बढी रहने गर्छ। कोभिडपछि फिटनेसप्रति जनचेतना बढेको भए पनि जिम गएपछि मात्रै फिट भइन्छ भन्ने सोच गलत रहेको उनले बताए।
मिश्रका अनुसार उमेरसँगै मांसपेशी घट्दै जाने ‘सार्कोपेनिया’ समस्या बढ्दो छ, जसलाई नियमित व्यायाम र सन्तुलित आहारले नियन्त्रण गर्न सकिन्छ।

नेपालमा फिटनेस क्षेत्रमा अवसर भए पनि दक्ष प्रशिक्षकको अभाव, गुणस्तरीय तालिमको कमी र गलत धारणा चुनौतीका रूपमा देखिएका छन्। उनले स्वस्थ जीवनशैली अपनाउँदै नियमित व्यायाम र पर्याप्त आराम गर्न सबैलाई आग्रह गरेका छन्।