वैशाख ।२३ ।रंगेली
रबिन्द्र बराल

मोरङको रंगेली नगरपालिका–५, आमगाछीस्थित चाँदनी चोक नजिक निजी जग्गामा प्रदेश सरकारबाट ३० लाख रुपैयाँ लगानी गरिएको तथ्य सार्वजनिक भएको छ। सञ्जय मण्डलको नाममा रहेको उक्त निजी जग्गामा करिब ८ वर्षअघि सामुदायिक भवन निर्माणका लागि टेन्डर प्रक्रिया मार्फत रकम निकासा गरिएको पाइएको हो।


स्थानीय स्रोतका अनुसार कुनै स्पष्ट छानबिन तथा अनुगमन नगरी निजी स्वामित्वको जग्गामा सरकारी बजेट खर्च गरी संरचना निर्माण गरिएको हो। हाल उक्त स्थानमा करिब ४ फिट अग्लो बाउन्ड्रीवाल मात्र निर्माण भएको र बाँकी संरचना बेवारिसे अवस्थामा छाडिएको छ।

वडा अध्यक्ष महानन्द मण्डलले स्थानीय तथा बुद्धिजीवीहरूको सहमतिमा कागजातका आधारमा उक्त निर्णय भएको बताए। उनले उक्त जग्गा आफ्नो मामा चन्द्र प्रसाद मण्डलको नाममा रहेको र बैंकमा धितो राखेर ऋणसमेत लिइएको जानकारी दिए। सुरुवाती अवस्थामा जग्गाको स्वामित्व र अवस्थाबारे आफूलाई स्पष्ट जानकारी नभएको र सरकारी नाममा नभएको जग्गामा बजेट खर्च गर्नु नहुने विषयबारे पछि मात्र थाहा भएको उनले स्वीकार गरे।स्थानीय जितलाल मण्डलले भने उक्त स्थानमा भवन निर्माण नगर्न आफूले पटक–पटक आग्रह गरेको दबाबका कारण निर्माण कार्य अघि बढाइएको आरोप लगाए।

यता, रंगेली नगरपालिकाका प्रशासकीय अधिकृत प्रदीप कुमार साहले प्रदेश सरकारले नै टेन्डर प्रक्रिया सञ्चालन गरेको हुँदा नगरपालिकासँग त्यससम्बन्धी विस्तृत विवरण नभएको बताए। तर निजी जग्गामा सरकारी बजेट खर्च गरेर भवन निर्माण गर्नु कानुनविपरीत हुने उनले स्पष्ट पारे।उक्त घटनाले सार्वजनिक स्रोतको दुरुपयोग भएको आशंका बढाएको छ। सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग स्थानीयस्तरमा उठेको छ।