जेष्ठ ,९ शनिबार
रबिन्द्र बराल

रङ्गेली नगरपालिकाद्वारा वृक्षारोपण गरिएका सडक किनारका बिरुवाहरू घाँसले ढाकिएकाे रहेता पनि संरक्षण भने हुन सकेको छैन । नगरले सौन्दर्यताका लागि केही वर्ष अगाडि पालिकाले आफ्नो सिमाभित्र पर्ने चोप्राह बाेर्डरदेखि बक्राह पुल सम्म र पूर्वमा मधुबनी चोकदेखि पश्चिममा बेताैना सम्मको सडककाे दायाँबायाँ हरियाली बनाउने उद्देश्यले केही बर्ष अगाडी वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको थियो।


नगर क्षेत्रलाई हरियालीयुक्त, वातावरणमैत्री तथा सौन्दर्यपूर्ण बनाउने लक्ष्यसहित रोपिएका ती बिरुवाहरू अहिले उचित हेरचाह र समयमै गोडमेल नहुँदा घाँस र झारले पूर्ण रूपमा घेरिएको अवस्थामा पुगेका छन्। प्रारम्भिक चरणमा गरिएको वृक्षारोपण कार्यक्रम प्रभावकारी देखिए पनि निरन्तर संरक्षण अभावका कारण अधिकांश बिरुवाहरू झारपातको बीचमा हराउन थालेका छन्। पुर्व मेयर दिलिप बगडिया मेयर पदमा हुदाँ उक्त बिरुवाहरूको गोडमेलका लागि उक्त स्थानमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मालीहरुले गोडमेल गर्दै गरेको दृश्य समेत देखिँदै आइरहेको थियो।


तर अहिले उप प्रमुख भुमा पराजुलीले मेयरकाे पदभारण गरेपछि अहिले उक्त बिरुवाहरूको गोडमेल तथा संरक्षण भने हुन सकेको छैन। सडक किनारको हरियाली योजनाले अपेक्षित परिणाम दिन नसकेको स्थानीयहरुले बताए । यस विषयमा सम्बन्धित निकाय मौन रहेको देखिएको छ। वृक्षारोपणपछि आवश्यक नियमित अनुगमन, गोडमेल तथा संरक्षण नहुँदा सरकारी लगानी र प्रयास खेर जाने अवस्था सिर्जना भएको देखिन थालेको छ । रङ्गेली नगरपालिकाको हरियाली अभियान राम्रो उद्देश्यका साथ सुरु भए पनि त्यसको दीर्घकालीन संरक्षणमा कमजोरी देखिएको स्पष्ट भएको छ। अब तुरुन्तै गोडमेल, संरक्षण र निगरानीलाई प्राथमिकतामा राख्न आवश्यक देखिन्छ।